Logo

मेरो पालिका

खप्तड छेडेदहको लक्ष्य दक्ष जनशक्ति र पूर्वाधार

खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय

यस गाउँपालिकामा हाजिर भएको दिनबाट नै मैले पालिकामा रहुन्जेलसम्म गर्नैपर्ने कामको मुख्य–मुख्य लक्ष्य बनाई गाउँकार्यपालिकाको समग्र टिम (अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु) को सहयोग र समन्वयमा नै गर्नुपर्ने कामहरुको प्राथमिकता निर्धारण गरें । मेरो मुख्य लक्ष्य भनेकै सार्वजनिक सेवा प्रवाहमा सेवाग्राही (जनता)लाई सुशासनको प्रत्याभूति गराउने हो ।

विभिन्न प्रकृतिका राष्ट्रसेवक कर्मचारीहरु (निजामती सेवा, शिक्षक सेवा, सुरक्षा निकाय तथा बैंकिङ सेक्टरतर्फका सेवाहरु)को संख्या वृद्धि गर्ने, यसको लागि आफूमा निहीत रहेको ज्ञानको हस्तान्तरण गर्ने, आयोगको तयारी गर्नेहरूलाई उत्प्रेरित गर्ने, आवश्यक बजेटको व्यवस्थापन गर्ने र उनीहरुलाई आफ्नै गाउँठाउँमा लोकसेवाका कक्षा सञ्चालन गरी शून्य खर्चमा लोकसेवा तयारी गराउने गरी काम गरिरहेको छु । यस वर्ष आफ्नै गाउँठाउँमा लोकसेवाका कक्षा सञ्चालन गर्नको लागि करिब ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाबासीको समृद्धि नै मेरो र समग्र गाउँ कार्यपालिकाको मुख्य लक्ष्य हो । आफ्नै माटोको उत्पादनबाट सबै नागरिक सम्पन्न हुन्छन् भन्ने लक्ष्यअनुसार कृषि क्षेत्रलाई नै व्यावसायिकरण गर्ने र पूर्वाधार विकासका समग्र कार्यलाई प्राथमिकता दिएर नै हामी अघि बढेका छौं ।

कृषिलाई आधुनिकिकरण गर्न ठाउँअनुसार माटो सुहाँउदो एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरी मौसमी तथा बेमौसमी फलफूलका बिरुवा र दलहन तथा मसला बालीलाई विशेष जोड दिई किसानहरुलाई बिउबिजन वितरण गरिएको छ साथै आवश्यक तालिमको समेत व्यवस्था कृषि विकास शाखाबाट भएको छ । यो पालिका विशेषगरी आलुको पकेट क्षेत्र, जडिबुटिको प्रमुख केन्द्र र अल्लो तथा धागोबाट बन्ने विभिन्न कच्चा पदार्थको लागि प्रमुख केन्द्रबिन्दु जस्तै हो ।

सीमित स्रोतसाधन, एकदम न्यून राजस्व उठ्ने, संघीय तथा प्रादेशिक सरकारबाट आउने वित्तीय हस्तान्तरणको बजेटमा निर्भर रहनुपर्ने भएकोले यस क्षेत्रको कृषिलाई आधुनिकिकरण गर्न स्थानीय सरकार एक्लैले मात्रै सम्भव छैन । प्रदेश सरकार र संघीय सरकारसंग राम्रो समन्वय गरी हाम्रो आवाज तथा मागलाई माथिल्ला तहका सरकारले सुनिदिएमा र बुझिदिएमा यस्ता कृषिजन्य वस्तु तथा सेवाहरुको उत्पादनबाट राम्रो आम्दानी गर्न सकिन्थ्यो र समग्र पालिकाको आर्थिक अवस्था नै माथि उठ्ने थियो । हामीले यो वर्ष लेक क्षेत्रमा स्याउ, नास्पाती, सिमि, आलु र भाँगो तथा तल्ला क्षेत्र (औल) मा सुन्तला, ओखर, किवभ, आँप, आलु, केराजस्ता फलफूल तथा तरकारी खेतीलाई बाली शिविर सञ्चालन गर्ने तयारी गरेका छौं । यसको लागि दशरथ माविसँगको समन्वय तथा सहयोगमा आधुनिकिरण गर्ने गरी कामको थालनी गरेका छौं ।

कृषि र पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्दै साझेदारी कार्यक्रम मार्फत काम भइरहेको छ । जसले गर्दा आयआर्जनमा वृद्धि गराउने र युवालाई गाउँमै स्वरोजगार बनाउने लक्ष्यका साथ काम भइरहेको छ । प्रायजसो सडकले गर्दा नै अहिले गाउँपालिकाका केन्द्रदेखि हरेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनहरुलाई जोडिसकेको छ । वडा नं. ६ को नाइनाबस्तीमा पहिरोले सडक पूरै अवरुद्ध भए पनि हामीले तत्काल त्यसको विकल्प खोजी समाधान गर्ने प्रयासमा रहेको हुँदा सकेसम्म बाह्रै महिनाभर सडक सञ्जाल सुचारु हुने गरी काम थाल्ने अठोट लिएका छौं । यो वर्ष प्राय गाउँपालिकाका मुख्य सडकहरु केही समय अवरुद्ध भए पनि प्रायः निरन्तर सञ्चालनमा नै आएका छन् ।

गाउँपालिकाको आफ्नै प्रशासनिक भवन रहेको छ भने वडा नं.१, २, ४, ६ मा भवन निर्माणको कार्य सम्पन्न भएको छ । त्यस्तै वडा नं. ३ र ५ मा डिपिआर गरी टन्डर भई निर्माण व्यवसायीहरुसँग सम्झौता भएर काम सुचारु अवस्थामा छ । वडा नं. ७ मा पनि तत्काल डिपिआर गरि भवन निर्माणको कार्यलाई बजेटमा व्यवस्था गरिएको छ । प्राय सबै स्वास्थ्य चौकीहरुले बिरामीहरुको सन्तोषजनक ढंगले नै सेवा दिएको पाइएको छ भने १० सैयाको अस्पताल डोगडीमा निर्माणाधिन अबस्थामा रहेको छ ।

सेवाग्राही नै हाम्रा भगवान हुन्, उहाँहरुलाई सेवा प्राप्त गर्दा दुःख र झन्झटिलो बनाउनु ठूलो अभिसाप हो भन्ने हेतुले नै विशेष गरि फरक क्षमता भएका मानिसहरु, ज्येष्ठ नागरिकहरुलाई तथा सबै सेवाग्राहीहरुलाई गाउँपालिकाले उपलब्ध गराउने सबै बैंकिङ कारोबार (सामाजिक सुरक्षा भत्ता, योजनाहरुका भुक्तानी रकम, शिक्षक तथा कर्मचारीहरुको तलबभत्ता)लाई पालिकाको आफ्नै प्रशासनिक भवनभित्र हिमालयन बैंकसँग सम्झौता गरी सँगै राखी छिटोछरितो र सहज बनाउने उद्देश्यले काम गरिरहेका छौं । जसले गर्दा सेवाग्राहिबाट पनि सकारात्मक सुझाव पाइरहेका छौं ।

आगलागी वा कुनै पनि विपतबाट घर, टहरा, तथा बस्ती नै पूर्ण रुपमा क्षति भएमा प्रहरी मुचुल्का र वडा कार्यालयको सिफारिस साथ संलग्न फोटो हेरी पालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार (पालिकाले बनाएको कानुनको बमोजिम) आवश्यकताअनुसार तत्काल राहतको व्यवस्था मिलाइएको छ । त्यस्तै सुत्केरी खर्च र सुत्केरी हुन नसकेर अन्यत्र रिफर गर्नुपरेमा केही मात्राको खर्च समेत पालिकाले ब्यहोर्ने लक्ष्य लिएको छ ।

मृत्यको शोकमा रहेको परिवारलाई सान्त्वना दिन र स्थानीय सरकार पनि हाम्रो दुःखमा साथ दिनलाई सँगै उभिएको छ भन्ने जनतालाई अनुभूति गराउन काजक्रिया खर्च यो वर्षको बजेटमा व्यवस्था गरी कार्यविधि बनाएर कार्यान्वयन गर्ने गरी अघि बढेको छ । मुटु, कलेजो, क्यान्सर जस्ता दिर्घकालिन रोगहरुको उपचारको लागि सहयोगको रुपमा औषधि खर्चका साथै विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य लिएका छौं । घरघरमा पुगि होम डेलिभरीसहितको स्वास्थ्य तथा पशु शिविर पनि पालिकाले सञ्चालन गर्ने लक्ष्य लिएको छ । मठ मन्दिर, ताल तलैयाको संरक्षण तथा सार्वजनिक जग्गाको खोजी गरी आवश्यक कार्यलाई जोड दिने गरी काम गरिएको छ । लोकबाजा संस्कृतिको संरक्षण तथा देउडा नाच तथा प्रतियोगिता र बालप्रतिभा तथा विद्यार्थीहरुको क्षमता प्रष्फुटनको लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिई बजेटको व्यवस्था गरिएको छ ।

कर्मचारी धेरै नबस्ने तथा नटिक्ने समस्या यो पालिकामा समेत रहेको छ । लोकसेवाबाट आएका कर्मचारीहरु हिँडिहाल्ने भएकोले कूल दरबन्दी ३४ रहेकोमा हालसम्म १२ जनामात्रै स्थायी रहेका छन भने बाँकि २२ जनाको दरबन्दी रिक्त रहेको छ । प्रदेश लोकसेवालाई रिक्त पदपूर्तिको लागी माग गरी पठाउँदा समेत हालसम्म पूर्ति हुन सकेको छैन । अधिकांश दरबन्दी रिक्त हुँदा सार्वजनिक सेवाप्रवाहलाई निरन्तरता दिनको लागि कर्मचारी करारमा नियुक्त गरेर काम गराउनु परेको छ ।

अधिकांश वडाहरुमा स्वास्थ्यतर्फका कर्मचारीहरुलाई वडासचिवको जिम्मेवारी दिइएको छ । थोरै कर्मचारी भए पनि नागरिकको सेवालाई नरोक्ने र छिटो छरितो र सहज ढंगले सेवा प्रवाह गरि नागरिक सन्तुष्टि कायम गर्नु नै हाम्रो पालिकाको पहिलो प्राथमिकता हो । कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार, वन, पर्यटन, सुशासन समृृद्धि खप्तड छेडेदहको आधार भन्ने हाम्रो मूल नारालाई सफल पार्ने काममा हामी निरन्तर लागिरहेका छौं ।

प्रदेशः सुदूरपश्चिम
जिल्लाः बाजुरा
पालिकाः खप्तड छेडेदह गाउँपालिका
वडा संख्याः ७
अध्यक्षः दिलबहादुर रावत
उपाध्यक्षः विसुदेवी नाथ

प्रतिक्रिया दिनुहोस्