‘टिस्यु–कल्चर’ प्रविधिबाट उत्पादित आलुको बीउमा ब्याक्टेरिया

झापाको झापा गाउँपालिकास्थित न्यू देउमाई कृषि सहकारी संस्थाले खरीद गरेको आलुको बीउमा ब्याक्टेरिया पाइएको छ । सहकारीले काभ्रेको कुशादेवीबाट प्रमाणित एक, ४० बाेरा प्रिबिएस (टिस्यु–कल्चर प्रविधिबाट उत्पादित) १० हजार दाना आलुको बीउ ३ लाख रुपैयाँभन्दा बढीमा खरीद गरेको थियो । कृषि विधि विज्ञान महाशाखा खुमलटारमा आलु परीक्षण गर्दा व्याक्टेरिया पाइएको कृषि सहकारी संस्थाका अध्यक्ष ईश्वरप्रसाद दाहालले बताए ।
टिस्यु–कल्चर प्रविधिबाट उत्पादित बीउ शतप्रतिशत रोगसहित हुने र यसबाट जातको पनि पूर्ण सुनिश्चितता हुने विज्ञहरू बताउँछन् । तर, टिस्यु–कल्चर प्रविधिबाट उत्पादित बीउमा नै व्याक्टेरिया पाइएकोे अध्यक्ष दाहालले बताए । सहकारीले गत वर्षदेखि सहकारीले उन्नत जातको आलुको बीउ उत्पादन गर्न सुरु गरेको थियो । सहकारी आफैंलेउत्पादन गरेको बीउ बिर्तामोडको रोयल कोल्ड स्टोरेमा नै कुहिइए पछि पुनः बीउ खरीद गर्नु परेको हो । रोयल कोल्डमा भण्डारण गरेको ५ सय २४ बोरा आलु कुहिइएको हो । “आफूले राखेको बीउ कोल्ड स्टोरमा नै कुहिइयो, यति धेरै दाम हालेर ल्याएको आलुमा पनि व्याक्टेरिया भेटियो,” अध्यक्ष दाहालले भने, “रोगयुक्त र जातसमेत मिश्रित भएको बीउ रोप्नु पर्ने कारण हामी किसानले आलुखेतीबाट अपेक्षित लाभ लिन नसकेको हो ।” सहकारीले १० हजार दाना प्रिविएस आलु १८ रुपैयाँ प्रतिदाना खरिद गरेको हो ।
सहकारीले झापालाई आलुको बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले आलुको बीउ उत्पादन सुरु गरेको हो । सहकारीमा १ सय ६५ जना कृषक आवद्ध रहेका छन् । पाँच वर्ष भित्रमा १५० विगाहमा आलुको बीउ उत्पादन गर्ने लक्ष्य राखे पनि पहिलो वर्ष उत्पादन गरेको बीउ आलु कोल्ड स्टोरमा नै कुहिएका कारण सहकारीले घाटा बेहोर्नु परेको लेखा समिति संयोजक शरदकुमार तिम्सिनाले बताए ।सहकारीले भण्डारण गरेको ५ सय २४ बोरा आलुमा २ सय ७७ बोरा सहकारीले नै रोप्ने र २ सय ७४ बोरा आलुको बीउ बिक्री गर्ने लक्ष्य राखेको थियो तर, कात्तिक पहिलो हप्ता उक्त आलु कुहिए पछि सहकारीले पुन बीउ आलु खरिद गरेको हो । सहकारीले भण्डारण गरेको आलु १६ लाख ५० हजार रुपैयाँ बराबर रहेको थियो । कोल्ड स्टोरले सहकारीलाई अहिलेसम्म्म क्षतिपूर्ति समेत उपलब्ध गराएको छैन ।
उन्नत बीउको प्रभाव
आलुको उत्पादकत्व वृद्धिका लागि सवै भन्दा आवश्यक पक्ष उन्नत बीउ हो । विज्ञका अनुसार अन्य कुराहरू सामान्य रहे पनि उन्नत बीउ प्रयोग गर्ने हो भने उत्पादनमा २० देखि ४९.९ प्रतिशत सम्म वृद्धि हुन्छ । आलु विज्ञ श्यामप्रसाद ढकालका अनुसार नेपाललाई आलुमा आत्मनिर्भर बनाउन र उत्पादकत्व वृद्धिका लागि उन्नत बीउ जरुरी छ । झापाको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेले कमल गाउँपालिकाले आलु उत्पादनलाई प्राथमिकताको कार्यक्रममा राखेको र चकलाबन्दी खेतीको अभ्यास पनि थालि सकेको बताउँछन् । तर किसानलाई सहज रूपमा उन्नत बीउ उपलव्ध नगराए सम्म उत्पादन वृद्धि अपेक्षित नहुने उनको धारणा छ ।
तथ्यांकमा आलु
नेपालका ७७ जिल्लामा आलु खेती हुने गरे पनि २० प्रतिशत किसानले मात्र उन्नत बीउको प्रयोग गर्ने गरेको तत्कालिन राष्ट्रिय आलुबाली विकास कार्यक्रमका प्रमुख श्यामप्रसाद ढकाल बताउँछन् । उनका अनुसार नेपालमा हाल १ लाख ९० हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ भने सरदर २८ लाख मेट्रिक टन उत्पादन हुने गरेको छ । तर, अझै पनि वार्षिक २ लाख टनको हाराहारीका आलु भित्रिने गरेको छ । भारत, भुटानलगायतका देशबाट भित्रिएको आलु तरकारीका लागि भए पनि किसानले त्यसलाई समेत बीउको रूपमा प्रयोग गर्दा बढी लाभ लिन नसकेको बीउ आलु विज्ञ समेत रहेका ढकालको ठम्याई छ । नेपालमा प्रतिवर्ष प्रतिव्यक्ति ८१ केजी सम्म आलु खपत हुने गरेको छ, यो दक्षिण एशियालीमुलुक मध्येमा उच्च हो । यदि अझै पनि आलुको उत्पादनबृद्धी भएमा उच्च हिमाली तथा दुर्गम क्षेत्रमा हुने खाद्यान्न अभाव हटाउन पनि यसले सहयोग पुग्ने विज्ञहरूको भनाई छ ।
सरकारको लक्ष्य
सरकारले अवको ५वर्षमा नेपाललाई आलुमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य पूरा गर्न आलुको उत्पादकत्व वृद्धि गराई आगामी वर्ष प्रतिहेक्टर १६ टन पु¥याउने र पाचौँ वर्षमा २१ टन प्रतिहेक्टर बनाउने लक्ष्य छ । आलुखेतीमा उन्नत बीउ, यान्त्रिकरण र औद्यौगीकरणको अभ्यास बढाउन सके यो लक्ष्य प्राप्ति खासै कठिन नरहेको ढकाल बताउँछन् । तर यो लक्ष्य प्राप्तिका लागि उन्नत भण्डार केन्द्रको पहुँच अभिवृद्धिको पनि खाँचो छ । हाल देशमा रहेका ५१ ओटा शितभण्डारमा १ लाख ३० मेट्रिकटन भण्डारणको क्षमता छ । यस्तै १७०० देखि २५०० मिटर सम्मको उचाईमा ५ देखि ४० टन क्षमताका रष्टिक विउ आलु भण्डार पनि उपयोगमा रहेका छन् । तर यि पर्याप्त छैनन् । उत्पादन भएको समयमा शितभण्डारमा राख्ने र चाहेको समयमा निकाल्ने व्यवस्था किसानको पहुँचमा पुग्ने हो भने आलुको तरकारीमा उपयोग मात्र होईन, व्यवसायीक रूपमा परिकार उत्पादन मार्फत पनि रोजगारी अभिवृद्धि गर्न सकिने झापा गाउँपालिकाका किसान जीवन लम्साल बताउँछन् ।