डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’ «

डेढ सय ठेकेदारलाई एमसीएको ‘आउटरिच’

अमेरिकी सरकारको अनुदानमा अघि बढाउन लागिएको ऊर्जा र सडकबारे परियोजना अघि बढाउन गठित मिलेनियम च्यालेन्ज एकाउण्टेन्ट (एमसीए) नेपालले भारत र अमेरिका पुगेर निर्माण व्यवसायीहरूलाई अवगत गराएको छ । परियोजनामा योग्य र सक्षम निर्माण व्यवसायीहरू छनोटका लागि निर्माणका चरणहरूसहितको जानकारी भारत र अमेरिका पुगेर एमसीएले उनीहरूलाई जानकारी गराएको हो ।
अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को ५ सय मिलियन डलरको अनुदान सहयोगमा निर्माण हुन लागेको परियोजनाअन्तर्गत ३१८ किलोमिटर प्रसारण लाइन र १२७ किलोमिटर सडक निर्माण हुन लागेको छ । नेपालसहित चीन, कोरिया लगायतका देशका निर्माण व्यवसायी (बिडर्स) हरूलाई नेपालमा कार्यक्रम आयोजना गरी जानकारी गराएको एमसीए नेपालले शुक्रबार भारत र आसपासका मुलुकका निर्माण व्यवसायीलाई बोलाएर जानकारी गराएको छ । “परियोजनामा बढीभन्दा बढी प्रतिष्पर्धा होस् तथा योग्य र सक्षम निर्माण व्यवसायीहरू छनोटका लागि सहज होस् भनेर जानकारी दिनका लागि शुक्रबार आउटरिच कार्यक्रम गरेका हौं” एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले भने, “वासिङटन डीसीमा पश्चिम देशमा निर्माण व्यवसायीहरूलाई जानकारी गराएका थियौं भने नेपालमा पनि यो गराइसकेका छौं ।”
नेपालमा अघि बढाउने ठूला आयोजनाहरूमा निर्माण व्यवसायीहरूले सिन्डिकेट गराउने तथा कम ठेकेदार कम्पनीहरूबीच मात्र प्रतिस्पर्धा हुने, औपचारिक रूपमा आह्वानबाहेक योग्य निर्माण व्यवसायीहरू छनोटका अन्य प्रक्रिया नगर्ने चलन रहेकोमा एमसीसीले निर्माण व्यवसायीहरूलाई टेण्डरमै सहभागिता जनाउनका लागि यस्तो विधि अपनाएको हो । भारतमा भएको कार्यक्रममा करिब ६० जना तथा नेपालमा ४५ र वासिङ्टनमा ४० निर्माण व्यवसायीहरूको सहभागिता थियो । आगामी जनवरीसम्ममा परियोजनाको ठेक्का अघि बढाउन लागेको एमसीए नेपालले ठेक्का आह्वान गर्नु अघिनै व्यवसायीहरूलाई जानकारी गराएर प्रतिष्पर्धी र गुणात्मक पक्षलाई ध्यान दिइएको कार्यकारी निर्देशक विष्ट बताउँछन् ।
कार्यक्रममा एमसीए नेपालले परियोजनाबारे जानकारी दिँदै प्रशारण लाइनका साथै सवस्टेशनहरूको हुन लागेको ठेक्का आह्वान, सहभागी हुनका लागि आवश्यक योग्यताहरू तथा यसको प्रकृयाबारे जानकारी गराएको थियो । नेपालका अधिकांश आयोजनाको समय र लागत बढ्दै गएको बेला यो परियोजना भने निर्माण सुरु भएको पाँच बर्षभित्र सम्पन्न नभएमा खर्चबाहेकको रकम स्वत फर्कने प्रावधान छ । यस प्रावधान अनुसार समयमै आयोजना निर्माण गर्नुका साथै पारदर्शी र खुल्लारूपमा परियोजना निर्माण प्रक्रिया अघि बढाएर नमूनायोग्य बनाउने लक्ष्य परियोजनाको छ ।

प्रतिक्रिया दिनुहोस्