क्रिकेट खेलाडी केसीलाई ओम बैंकद्वारा सम्मान

पोखराको महेन्द्रपुलमा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले राष्ट्रिय किक्रेट खेलाडी करण केसीलाई सम्मान गरेको छ । बैंकका पूर्वकर्मचारीसमेत रहेका केसीले आईसीसी क्रिकेट लिग डिभिजन टुमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप छनोट खेल चरणमा प्रवेशसँगै डिभिजन वानमा पुराउन महत्वपूर्ण योगदान दिएको भन्दै बैंकले उनलाई फूलमाला, तथा खादा र मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।
बैंकका नायव कार्यकारी अधिकृत बुद्धि मल्ल, बैंकका कर्मचारी एवं पोखरा क्रिकेट क्लबका अध्यक्ष निकेश श्रेष्ठलगायतले फुलमाला लगाउँदै सम्मान गरेका हुन् । विश्वकप क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन गर्न अग्रिम शुभकामना दिँदै मल्लले खेलाडीहरूको हौसला स्वरूप आफूहरूले सम्मान गरेको बताए ।
बगलुङमा पनि सम्मानित
त्यसैगरी बागलुङमा पनि नेपाली क्रिकेट खेललाई विश्व कपसम्मको यात्रामा पुराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बागलुङमा युवा क्रिकेटर करण केसीलाई सम्मान गरिएको छ । बागलुङ नगरपालिकाको कार्यालय र जिल्ला खेलकुद विकास समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरी केसीको सम्मान गरिएको हो ।
बागलुङ नगरपालिका–८ मा जन्मिएका केसीले जिल्लाको नाम अन्तर्राष्ट्रिय क्षेत्रसम्म राख्न सफल भएको भन्दै प्रोत्साहन स्वरूप नगद ५० हजार र प्रशंसापत्रसहित सम्मान गरिएको हो । क्रिकेट खेलमार्फत देशलाई विश्वकपमा प्रवेश गराउन सफल खेलाडी रास्ट्रको गौरव भएको नगर प्रमुख जनकराज पौडेलले बताए ।