Logo

बाँदर बढेसँगै रित्तियो गाउँ

गुल्मी– घरकै छेउमा ढुङ्गाको थुप्रो । आडैमा चनाखो भई बसेकी रुमकला खत्री । दुई हातमा चार ढुङ्गाको भारी । कौसीका खाद्यान्न जोगाउन दिनभर घरको आँगनमा बस्नुपर्ने गुल्मीको रेसुङ्गा नगरपालिका–१३ की ५२ वर्षीया खत्रीको दैनिकी हो । ‘पहिले बाँदर खेतबारीको खेती खान्थ्यो । उतै लखेटे पुग्थ्यो । तर, अहिले बाँदर घरमै आउँछ । घरका समान जगाउनै मुस्किल पर्छ । रुमकला भन्छिन्, ‘बाँदरकै कारण खेतबारी बाँझा छन् ।’

वारीपारी जंगलका कारण खेतबारीको खेती जोगाउन मुस्किल पर्‍यो । खेती लगाएपनि स्याहार्न भने पाइएन । जसका कारण रुमकलाको परिवार खेतीयोग्य जमिन पनि बाँझै राख्न बाध्य भइन् । बाँझिएको जमिन जंगल बन्यो । बाँदर बढ्दै गए । त्यसपछि बाँदर घरमै आएर खाद्यान्न खाने गरेको उनले गुनासो गरिन् । सोही गाउँका बेलबहादुर बस्नेत गाउँका व्यापरी हुन् । नजिकैको बारीमा मकै खेती छ ।

स्याहार्ने बेलाको मकै बाँदरबाट जोगाउन मुस्किल छ । पसल र बारीको छेउमा पुग्दानपुग्दै कहिलेकाहीँ बाँदर आइपुग्छ । जसको लागि बस्नेतले ढुङ्गा थुपारेर राखेका छन् । ‘किसानको लागि बाँदर शत्रु बन्यो, केही खेती स्याहाने दिएन’ उनले भने, ‘गाउँलेलाई उठिबास लगायो ।’ बाँदरको हैरानीले खेतीपाती गर्न छाडेपछि खेतबारी बाँझिएका छन् । खेतबारी झाडी भएपछि बाँदर गाउँ पस्न थालेको बस्नेतले बताए । गाउँलेहरु सहर पस्नुमा बाँदरको हैरानीले थप सहारा दिएको उनको भनाइ छ ।

सोही गाउँकी ७४ वर्षीया लुमकला थापाले पछिल्लो समय बाँदर बढेको बताउँछिन् । विगत छ वर्षदेखि बाँदर गाउँमा अत्यधिक देखिन थालेको र त्यसपछि बसाइँसराइ झन् बढेको उनले सुनाइन् । ‘बाँदर बढेपछि बसाइँसराइ बढ्यो त्यसपछि झन् बाँदर बढे’ उनले भनिन्, ‘अहिले त बाँदर घरमै आउँछ, ज्यान जोगाउन मुस्किल पर्छ ।’ गत वर्ष विद्यालयबाट फर्कंदै गरेकी सम्झना थापालाई गाउँमै बाँदरले आक्रमण गरेको थियो । यसो त गाउँको मान्छेको संख्या कम र बाँदर बढ्दै जाँदा समस्या विकराल बन्दै गएको छ ।

गाउँमा विकासका सबै पूर्वाधारको सहज पहुँच भएपनि बाँदरको समस्याले आधा गाउँ रित्तिसकेको छ । रेसुङ्गा नगरपालिका–१३ का मिनबहादुर खत्रीको छ रोपनी जग्गा अहिले बाँझै छ । छ वर्र्षपहिले वर्षमा दुई पटक खेतीपाती हुने खेतबारी अहिले झाडीमा परिणत भएको छ । बाँदरले नष्ट गरेर खेती स्याहार्न नपाएपछि खेती नै गर्न छाडेको मिनबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्