कांग्रेस-एमाले गठबन्धनको ५१ दिन
एक हजार अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं– मुलुकका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेको डेढ महिना (एकाउन्न दिन) मा नेप्से परिसूचक एक हजार अंकले बढेको छ ।
बलियो गठबन्धन बनेसँगै बजारले मन पराएका भनिने विष्णु पौडेल अर्थमन्त्री भएर आउने चर्चाकै बीच बढ्न थालेको सेयर बजार अहिलेसम्म ९ सय ९५ अंकले बढेको हो । यसले अझै निरन्तरता पाइरहेको छ । पौडेल अर्थमन्त्री भएयता लगानीकर्ता निकै उत्साहित छन् ।
गत असार १७ मा कांग्रेस–एमालेसहितको नयाँ गठबन्धन बनेपछि असार ३० मा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । त्यसयता दोस्रो बजारमा ३३ दिन सेयर कारोबार भएको छ । असार १७ मा २०५३ बिन्दुमा रहेको नेप्से परिसूचक बिहीबार ३०४८ बिन्दुसम्म आएको हो ।
विगतदेखि नै सेयर बजारले रुचाएका अर्थमन्त्री पौडेल आएकाले लगानीकर्ता उत्साहित भएको र सेयर बजार बढेको विश्लेषक देव गुरागाईं बताउँछन् । अहिले मुलुकको सेयर बजार चक्र बुलिस ट्रेण्डमा गएको उनले बताए । उनले भने, ‘सेयर बजार चक्र (बुल–बियर) नेपालमा हरेक ३–४ वर्षमा देखिएको छ, त्यो बियरिश बजार चक्रको समय लगभग अन्तिम रहेको छ ।’ अधिक तरलता, घट्दो ब्याजदर र कर्जाको सहज उपलब्धताले लगानी गर्न सजिलो भएको समेत उनले बताए । यसले पनि सेयर बजारको वृद्धिमा सहयोग पुर्याएको उनको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरि पराजुलीले अहिले सेयर बजार बढ्नुको मुख्य कारणमध्ये एक नयाँ सरकार बनेपछि स्थायित्वको अपेक्षा लगानीकर्ताले गर्नु भएको बताए । ‘नयाँ सरकार बनेपछि लगानीकर्ताले अब स्थायित्व हुन्छ भन्ने महशुस गरे, जसकारण उनीहरूको मनोबल बढेको छ,’ पराजुलीले भने । मौद्रिक नीति लचिलो आएकाले पनि सेयर बजार बढ्न भूमिका खेलेको उनको भनाइ छ ।
विष्णु पौडेल अर्थ मन्त्रालयमा आउने हल्लाले नै बजार बढिसकेको थियो । गत असार ३१ मा पौडेल अर्थमन्त्री बने । सोही दिन नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ बिन्दुमा झरेको थियो । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनले पुँजी बजार अर्थतन्त्रको ऐना भएको र यसमा अनुकूल परिस्थिति बनाउन मन्त्रालय अग्रसर हुने बताएका थिए । त्यसपछि नेप्सेको उकालो यात्राले निरन्तरता पाएको हो ।
पौडेल अर्थमन्त्री भएयता भदौ ५ सम्मको अवधिमा नेप्से परिसूचक ७३४ अंकले बढिसकेको छ । उनी अर्थमन्त्री भएको दिन २२४०.४१ बिन्दुमा रहेको नेप्से परिसूचक बिहीबार २९७४.४६ बिन्दुमा पुगेको छ । यस अवधिमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब ७० अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।
असार ३१ मा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ हाराहारी रहेको कुल बजार पुँजीकरण बिहीबार (भदौ ६) सम्ममा ४७ खर्ब २४ अर्ब ५ करोड रुपैयाँ हाराहारी पुगेको छ । यस अवधिमा सेयर कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड कायम गर्न पुग्यो । सेयर बजारमा एकैदिन ३० अर्ब रुपैयाँ हाराहारीको कारोबार भयो । पछिल्ला केही दिन भने सेयर बजारको किनबेच सुस्त देखिएको छ । लगानीकर्ताले नाफा बुक गरेकाले बजार पस्नका लागि ‘पर्ख र हेर’को रणनीति बनाउँदा कारोबार रकम घटेको जानकारहरु बताउँछन् ।
साताको सेयर बजार
गत आइतबार नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ बिन्दुमा झरेको थियो । साताको पहिलो दिन नेप्से इन्ट्राडेमा ३०४८.१५ बिन्दुसम्म पुगेको थियो । बढेको बजारमा कारोबारीहरूले नाफा सुनिश्चित गर्न लाग्दा गत आइतबार बजार घटेको थियो ।
आइतबारपछि सेयर बजार सार्वजनिक बिदाका कारण सोमबार र मंगलबार बन्द भयो । त्यसपछि बुधबार खुलेको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो । बुधबार परिसूचक २.११ अंक बढेर २९६८.४४ बिन्दुमा पुगेको थियो । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ बिन्दुमा पुगेको छ । इन्ट्राडे कारोबारमा परिसूचक ३०१८.३३ बिन्दुसम्म पुगेको थियो । नेप्से ३ हजारभन्दा माथि पुगेपछि विक्रेता हाबी भएका छन् । पछिल्ला दिनमा कारोबार रकम भने सुस्त भएको छ । यसअघि करिब ३० अर्ब हाराहारीमा पुगिसकेको कारोबार रकम बुधबार र बिहीबार भने घटेको छ ।
बिहीबार ३३३ कम्पनीको धितोपत्रको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर २ लाख १६ हजार ४५५ पटकमा १९ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएको छ । बुधबार ३३७ धितोपत्रको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर २ लाख १४ हजार ३१९ पटकमा १८ अर्ब ९० करोड रुपैयाँ बराबरमा कारोबार भयो । गत आइतबार ३३० धितोपत्रको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९ सय १८ पटकमा २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सेयर मूल्यमा वृद्धि
बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये सात कम्पनीको मूल्य १० प्रतिशतका दरले बढेको छ । तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले बढेको हो ।
बुधबार कारोबार भएका कम्पनीमध्ये चार धितोपत्रको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको थियो । आइतबार कारोबार भएका कम्पनीमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १० प्रतिशत बढेको थियो ।
सेयर मूल्यमा गिरावट
बिहीबार १०.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०८३ ऋणपत्रको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । डिबेञ्चरको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । बुधबार कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । आइतबार नेपाल फाइनान्सको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको थियो । यस कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो ।
सर्वाधिक कारोबार
बिहीबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ओगटेको छ । यस कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ कायम भएको छ । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनी छ । यो कम्पनीको ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
गत आइतबार सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको थियो । यस कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा अपि पावर कम्पनी थियो । जसको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार पनि सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको थियो । यस कम्पनीको ८२ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सूचकको वृद्धि र गिरावट
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये बिहीबार ६ समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ४.५२ प्रतिशत बढेको छ । यस्तै व्यापार समूहको सूचक सबैभन्दा बढी १.५५ प्रतिशत घटेको छ ।
बुधबार पाँच समूहको सूचक बढ्यो भने बाँकी सबै समूहको सूचक घटेको थियो । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४.९९ प्रतिशत रह्यो भने व्यापार समूहको सूचक सबैभन्दा बढी २.०९ प्रतिशत घटेको थियो ।
गत आइतबार १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढ्दा बाँकी सबै समूहको सूचक घट्यो । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ४.४९ प्रतिशत घटेको थियो भने बैंकिङ समूहको सूचक ०.८४ प्रतिशत बढेको थियो ।