धार्मिक पर्यटनमा दोलखा भीमसेन

दोलखाले पुरातन गाथा, पौराणिक छवि, ऐतिहासिक महत्व, पुरातात्विक सम्पदा तथा सांस्कृतिक निधि सँगालेको छ । समयको चक्रमा थुप्रै उथलपुथलको प्रभाव र वर्तमानको कोरा भौतिक दृष्टिको लोभले केही बिग्रन र भत्किन लागे पनि दोलखाले आफ्नो गौरव जोगाएको छ । वास्तवमा दोलखा ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, आर्थिक, सामाजिक, साहित्यक रूपले सम्पन्न छ भन्नुमा अत्युक्ति नहोला । दोलखा सम्भावना नै सम्भावना बोकेको भरिपूर्ण जिल्ला हो । महाभारतकालीन पाँच पाण्डवमध्येका भीमसेनलाई आफ्ना इष्टदेव मान्ने मानिसहरूका लागि दोलखा प्रमुख आकर्षणको केन्द्र हो । दोलखामा कुनै यस्तो टोल छैन, जहाँ कुनै न कुनै मन्दिर नभएको होस् । दोलखामा विभिन्न मठमन्दिर छन् । सोमध्ये यस लेखमा भीमेश्वर मन्दिरको चर्चा गर्ने प्रयास गरिएको छ ।
दोलखा भीमसेनको प्रख्याति व्यापक छ । यो मन्दिर दोलखा बजारको पूर्वउत्तरमा अवस्थित छ । यो खुला मन्दिर हो । त्रिकोण शिवलिंग आकारको कालो चिल्लो शिला छ । यही शिला नै भीमसेनको हो । शिलामाथि सुनौलो नागपास झुन्ड्याइएको छ । भीमसेन शिलाको अग्लाइ करिब १४ इन्च र चौडाइ ६ इन्च छ । अगाडि दुई तहको पित्तलको आसन छ । आसनमाथि पूजा तथा पाँचवटा नैवेद्यपात्र जोडिएको छ । दायाँतर्फ आमा कुन्ती र बायाँतर्फ द्रौपदीको त्रिकोण परेको साधारण शिला छ । दायाँबायाँ अर्थात उत्तरदक्षिण कुनामा नकुल र सहदेवका त्रिकोण परेका शिला छन् । भीमसेन मन्दिरमा सुनौलो सानो छत र गजुर छ । मन्दिरको दायाँबायाँ पित्तलको राष्ट्रिय झन्डा छ । उत्तरतर्फ ठूलो गदालाई पर्खालमा उभ्याइएको छ । भीमसेनको पछाडिबाट द्रौपदीको अगाडिसम्म जलकुण्ड छ । यस कुण्डमा दोलखा बजारभन्दा करिब ६ कोस पश्चिम उत्तरमा पर्ने कालिन्चोक भगवती कुण्डदेखि जल आउँछ भन्ने जनविश्वास छ । यो जलकुण्ड सुक्खा भए देशमा अनावृष्टि भई अनिकाल पर्छ भन्ने किंवदन्ती छ ।
भीमसेनको मूर्ति एवम् मन्दिर कहिले र कसले स्थापना गरे भन्ने प्रमाण भेटिएको छैन । सो सम्बन्धमा निम्नअनुसार जनश्रुति पाइन्छ । अहिले भीमसेनको मन्दिर भएको स्थानमा परापूर्वकालमा घना जंगल थियो । त्यतिबेला उत्तरपूर्व चीनको सिमानामा पर्ने लामाबगर आउने–जाने बाटो यहीं पथ्र्यो । १२ जना ढाक्रेले यहीँ भात पकाउने सुरसार गरे । उनीहरूले चुलो बनाउनका लागि दुईवटा ढुंगा खोजेर ल्याए । एउटाचाहिँ त्यहीँ भएको ढुंगा प्रयोग गरी चुलो बनाए । चुलोमा भात पकाउँदा तेस्रो ढुंगातिरको भात काँचो भई धेरै पटक चलाउँदा पनि काँचै रहेकाले ढाक्रेलाई रिस उठी तेस्रो ढुंगालाई फलामको दाबिलोले हिर्काएपछि सो ढुंगाबाट दूध र रगतमिश्रित तरल पदार्थ बग्न थाल्यो । भीमसेन शिलाको दाहिनेतर्फ चोइटा गएको खत आजसम्म छँदै छ । सोदेखि ढाक्रे डराई जुनसुकै देवदेवी भए पनि हामीलाई क्षमा देऊ भनी बाटो लागे ।
त्यही क्रममा अलि पर गएपछि दाहिने निधारमा घाउ र रगत बगाउँदै आइरहेका एक जना जोगीलाई देखे । ढाक्रेले जोगीलाई घाउको कारण सोध्दा अँ मलाई त्यहाँ हिर्काए भन्ने जवाफ पाए । ती ढाक्रेले पनि आफूलाई परेको घटना सुनाए । त्यसपछि जोगीले तिनी भीमेश्वर रहेछन्, मन्दिर बनाई पूजा गर्नू भनी अलप भए । ढाक्रेले जोगीको आदेशअनुसार मन्दिर बनाई पूजा गर्ने कबुल गरी बाटो लागे । पछि कालान्तरमा कुनै राजाले जमिन राम्रोसँग बनाई मन्दिर र पर्खाल बनाई सुनको छाना हाले । भोलिपल्ट सुनको छाना भत्केको पाइयो । सुनको छाना नहुने रहेछ भनी चाँदीको छाना राख्न लगाए । त्यो पनि भत्किएपछि तामाको छाना बनाए । त्यसपछि राजाले मलाई छाना मन पर्दैन, ढाक्रेहरूले झैं खुला राख्नु भनेको सपना देखे । सोही कारण छाना नराखी खुलै राखे ।
भीमेश्वर मन्दिर स्थापना भएपछि भावनात्मक रूपमा पूजा गर्न थालियो । महादेवका अनेकौँ रूपमध्ये यहाँ शिवशक्ति स्वरूपमा महादेव र पार्वती अर्थात् भीमेश्वर, महादेवको अर्काे रूप भैरव र तेस्रो पाँच पाण्डवमध्येको वीर, साहसी र बलवान् भीमसेनको रूपमा पूजा गर्न थालियो । मूर्तिमा सात्विकका साथै बलि पूजासमेत गर्ने परम्परा छ । बलि पूजा सकिएपछि पानी, दुध, घिउ र महद्वारा स्नान गराई महादेवको रूपमा रुद्री पूजा गरिन्छ । बलि पूजा गर्दा भीमसेन वा भैरव मानिन्छ । महादेव रूप नजिकै रहेको चूडामणिमा गएर बस्छ भन्ने जनविश्वास छ । यो कारणबाट मूर्तिलाई भीमेश्वर र भीमसेनको रूपमा पूजा गरिन्छ । पूजा गर्दा मूर्तिमा तीनवटा गोलो टीका लगाई शिलालाई भीमसेनको मूर्त अनुहारजस्तो बनाई पूजा गर्ने चलन छ । बलि पूजा गरिने भए पनि नुनिलो पदार्थ र जाँड, रक्सी चलाउने चलन छैन, केवल मिठाई, रोटी, फलफूल, दही, दूध, मह, घिउ, चिनी मिश्रित चाकु चिउरा आदि चढाइन्छ ।
देशमा कुनै ठूलो दैवी संकट, प्रकोप, उथलपुथल हुनेवाला छ भने भीमेश्वरमा अगाडि नै पसिना आउँछ । भीमेश्वरमा पसिना आयो भने अनिष्ट हुनेवाला छ भन्ने थाहा हुन्छ । कपासले पुछी सो कपासलाई राज्यको सम्बन्धित निकायमा पठाइन्छ र सो निकायले क्षमा पूजा गर्ने चलन छ । साथै, पसिना आएको थाहा पाउनेबित्तिकै त्यहाँ रहेका घण्ट, नहरा आदि बजाउने चलन पनि छ । यसरी पसिना आएको बेला कुनै किसिमको पूजा गरिँदैन । भीमेश्वरले सबैको कल्याण गर्छन् भन्ने ठूलो विश्वास छ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै आएको पाइन्छ ।
देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेशमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक तथा ऐतिहासिक पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।
दोलखा भीमसेन धार्मिक पर्यटन केन्द्र हो, तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवद्र्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन । पर्यटन विकासका प्रचुर सम्भावना बोकेको यस क्षेत्रले पर्यटन विकासको अवधारणालाई कसरी आत्मसात् गर्नुपर्ने हो, निक्र्योल हुनुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध दिगो पर्यटन विकास कार्यक्रममार्फत मात्र सफलता हासिल गर्न सकिने गुन्जाइस रहेकाले त्यस्तो दीर्घकालीन योजना पनि सम्बन्धित क्षेत्रका विज्ञको सुझावका आधारमा कार्यान्वयन गर्नु आवश्यक हुन सक्छ ।
दोलखा भीमसेन परिसर भू–बनोट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यो क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । सुन्दर प्राकृतिक र धार्मिक सम्पदाका कारण यस क्षेत्रले आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । धार्मिक पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थललाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा–सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति अझै पाइँदैन । पालिकाका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थल यत्रतत्र छरिएर रहेका छन् र त्यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने प्रभावकारी व्यवस्था मिलाउन आवश्यक छ ।
त्यस्तै, भीमेश्वर मन्दिरको प्रभावकारी रूपमा संरक्षण तथा व्यवस्थापन नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि कुनै दिगो र प्रभावकारी योजना नहुनु, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, पर्यटन प्रवद्र्धनका निम्ति आवश्यक नीति, नियम तथा ज्ञानको अभाव आदि प्रमुख समस्याका रूपमा रहेको छ । जसको फलस्वरूप यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले भीमेश्वर नगरपालिकाका लागि प्रभावकारी पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।
अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नसमेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । यस मन्दिरवरिपरि तथा गाउँपालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु आवश्यक देखिन्छ ।
पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै सो क्षेत्रभित्र छरिएर रहेका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रहरू समेटी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन सर्किटका रूपमा प्रवद्र्धन गरी दोलखालगायत देशभित्रका यस्ता क्षेत्रलाई नमुना पर्यटनको रूपमा विकास गरी युवालाई विदेश पलायन हुनबाट रोकी दिगो अर्थतन्त्रको विकास गर्नु आजको आवश्यकता हो ।