पूर्वाधार विकास साझेदारी कार्यक्रमको अधिकांश बजेट सडकमा «

पूर्वाधार विकास साझेदारी कार्यक्रमको अधिकांश बजेट सडकमा

ताप्लेजुङ-जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको छ । कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७६ को नियम ९ बमोजिम छनोट भएका आयोजनाहरूको नियम ६ को उपनियम (ग) अनुसार विनियोजन गरिएको रकम र शीर्षक स्वीकृत गरेको हो ।
आव ०७६-७७ मा स्वीकृत २७ वटा आयोजना छन् । अधिकांश आयोजना सडक र खेलमैदान छन् । पदमार्ग र विद्यालय भवन निर्माण आयोजना नगण्य छन् । तीमध्ये प्रदेश निर्वाचन ‘क’ र ‘ख’ मा ५०-५० लाखका ६ वटा योजना छन् । प्रदेश निर्वाचन ‘ख’ मा आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा छातेढुंगा खेलमैदान निर्माण, मैवाखोला गाउँपालिका–२ र १ स्थित तुम्बेदेखि तेल्लाबुङ सडक र मेरिङ्देन गाउँपालिका–१ स्थित थिङ्लाबु थुङथापदेखि लेचुवा जोड्ने सडक छन् ।
प्रदेश निर्वाचन ‘क’ मा सिदिङमा गाउँपालिका ६ र ७ जोड्ने मेहेले मुकुभन्ज्याङ्देखि सुरुमखिम हुँदै तिम्बुङ पोखरी सडक, सिरिजंगा गाउँपालिका–१ सिनाममा निबु खोला पहिरो नियन्त्रण र फुङलिङ नगरपालिका–६ र ९ जोड्ने शेर्पाटोल हुँदै हाङ्देवा जनता मावि गाईगोडे बैदारेसम्म सडक स्तरोन्नति योजना छनोट भएको छ । यसैगरी आठराई त्रिवेणी गाउँपालिका–१ स्थित सिंहदेवी आधारभूत खेल मैदान निर्माण १५ लाख, मैवाखोला गाउँपालिका–६ महेन्द्र मावि फाकुम्बा विद्यालय भवन तला थप गर्न १५ लाख विनियोजन भएको छ । मिक्वाखोला गाउँपालिका–३ पञ्चेश्वरी मावि र वडा नं. २ को सगरमाथा आधारभूत विद्यालय खेल मैदानका लागि १०-१० लाख विनियोजन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–४ र २ जोड्ने इखाबुदेखि खेजेनिम जोड्ने सडक निर्माण २० लाख, वडा नम्बर ७ ओलाङचुङगोला लघुजलविद्युत् पावर हाउस निर्माण १० लाख र वडा नं. ५ माइदेम्बे कृषि सडक निर्माण १० लाख विनियोजन भएको छ ।
उता सिदिङमा गाउँपालिका–७ सुरुमखिम लघुजलविद्युत् आयोजना मर्मत गर्न १० लाख र सिरीजंगा गाउँपालिका–२ आम्बेगुदिन मावि खेल मैदान विस्तार तथा घेराबारा ठेसगारो लगाउन ३० लाख, वडा नं. ३ सिकैचा स्वास्थ्य चौकीदेखि फिकेवासम्म सडकका लागि १० लाख, वडा नम्बर ५ याम्पाङ आधारभूत विद्यालय खेल मैदान निर्माण १० लाख, वडा नम्बर ६ मामाखेमा खेल मैदान निर्माण १० लाख, वाड नम्बर १ मा आदिवासी भवन निर्माण १० लाख र वडा नम्बर ७ स्थित खेवाङ मानेडाँडादेखि फेरे हुँदै जोरपुलबाट गाउँपालिका जाने बाटोका लागि १० विनियोजन भएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–१ मेवाखा–सुकेटार मोटरबाटो निर्माण २५ लाख र फुङलिङ नगरपालिका–१० फुरुम्बुमा नगर सहरी स्वास्थ्य केन्द्र निर्माण १० लाख, वडा नम्बर १ नाङ्गे आपको फेददेखि तित्रीको फेदसम्म सडक स्तरोन्नति गर्न १९ लाख र वडा नम्बर ६ र ९ जोड्ने नयाँ बसपार्क छेउमा पिपलबोटे नाम्दुखोला दाहालगाउ शेर्पाटोल हाङ्देवा जोड्ने सडक स्तरोन्नति २५ लाख, वडा नम्बर ११ फावाखोलामा दुम्ले साँझुघाट हुँदै सिकैचा जोड्ने मोटरबाटो १५ लाख र वडा नम्बर ६ स्थित निङ्माछ्योखोर्लिङ बौद्ध गुम्बा हुँदै सुकेटार पदमार्गका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । जिल्ला समन्वय समितिमा प्रशासनिक खर्चवापत ६ लाख रुपैयाँ छुट्याइएको छ ।स्वीकृत आयोजनाहरूको विवरण सम्बन्धित स्थानीय तहमा (संघ र स्थानीय तह) लेखी पठाउने निर्णय गरेको छ ।

देवराज गुरुङ

प्रतिक्रिया दिनुहोस्