Logo

पूर्वाधारमा शुक्लाफाँटा अगाडि

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । नगरपालिकाले शुक्लाफाँटा मिडिया प्रालिसँंगको परामर्शमा ‘सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरीयता’ को मूल नाराका साथ चालु आर्थिक वर्षको दोस्रो महिना प्रवेश गर्दा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले गत आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न भएका दर्जनौँ योजनाको कार्य प्रगति प्रतिवेदन राखेका छन् । प्रमुख प्रशासकीय अधिकृत विष्टले ८३.२८ प्रतिशत वित्तीय प्रगति भएको बताए । आन्तरिक आयतर्फ लक्ष्यभन्दा बढी संकलन भएको छ । त्यसैगरी दुई करोड ३५ लाख लक्ष्यमा तीन करोड ६६ लाख संकलन भएको छ भने १३२.७८ प्रतिशत आन्तरिक आय भएको छ ।

पूर्वाधार, सामाजिक, आर्थिक, वन, वातावरण, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, न्याय, भूमि व्यवस्थापन, सामुदायिक विद्यालय सुधारका कार्यक्रम अघि बढेका छन् । गर्भवती महिलालाई नि:शुल्क एम्बुलेन्सदेखि थुप्रै कार्यक्रम संचालन भएका छन् भने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्थानीयले अहिले नगरपालिकाले गर्दै आएका विकास निर्माण पूर्वाधारका कार्यक्रम आगामी दिनमा थप सञ्चालनमा आउनु पर्नेमा सुझाव दिएका छन् । त्यसैगरी नागरिकका जिज्ञासा मेटाउँदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले तुलनात्मक रूपमा नगरका पूर्वाधार विकाससहितका थुप्रै कार्यक्रम अघि बढेको बताएका छन् ।

नगरप्रमुख महराले करमा कुनै छेडाखानी गर्न नसकिने भएकाले इमान्दारितापूर्वक कर तिर्न अनुरोध गरेका छन् । नगरप्रमुख महराले नगरकै पर्यटकीय नगरी मणिकाधाममा पर्यटन पूर्वाधारका कार्यक्रमअघि बढेको बताए । उनले नगर प्रहरी भर्ना कार्यक्रमसमेत समावेसी भएको बताए । नगरप्रमुख महराले नगरमा पूर्वाधारसहित थुप्रै क्षेत्रमा वृद्धि विकास भइरहेको बताउँदै नागरिकस्तरबाट समेत साथ समर्थन आवश्यक रहेको बताएका छन् ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिका–९ का वडाध्यक्ष रमेश ऐरले नगरमा भइरहेका कामकाज थप प्रभावकारी बनाइने बताए । शुक्लाफाँटा मिडिया प्रालिका तर्फबाट परामर्शदाता विष्णुदत्त अवस्थीले नगरबाट प्रदान गरिने सेवा सुविधाको विषयमा नागरबासीसँंग गरिएको छलफल कार्यपत्र प्रस्तुत गर्दै नगरबाट विकास निर्माणदेखि सन्तोषजनक कामकाज भएको र आगामी दिनमा समेत थप कार्यक्रम सञ्चालनमा नागरिकले अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्