Logo

सडक फराकिलो बनाउन नगर प्रमुखले लगाए आफ्नै घरमा डोजर

दाङ- लमही-कोइलावास सडक फराकिलो बनाउन सुरु गरिएको छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक फराकिलो बनाउने अभियान सुरु गरेका हुन् । उनले उक्त सडक खण्डमा पर्ने आफ्नो घरमा डोजर लगाएर अभियानको सुरुवात गरेका थिए । हुलाकी सडक विस्तार हुँदा सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्र सडक पर्ने गरी मुआब्जा वितरण गरिएको थियो । नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नो घर भत्काएर अभियान थालेका हुन् ।

‘सडक क्षेत्र फराकिलो बनाउँदा मेरो घर पनि सडकमा पर्‍यो, बजार राम्रो बनाउने उद्देस्य हो,’ नगरप्रमुख चौधरीले भने, ‘पहिलोचोटि आफ्नै घरमा डोजर लगाएर सडक चौडा बनाउने अभियानको सुरुवात भएको छ, यो मेरो प्रमुख दायित्व पनि हो’ । डोजर लिएर प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीय पुगेका थिए ।

बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुआब्जा बुझिसकेकाले घरको पनि क्षतिपूर्ति माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे भएको झण्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो ।

लमही बजार क्षेत्रमा सडक साँंघुरो हुँदा बजार राम्रोसँंग विस्तार हुन सकेको थिएन । अब बजारको सुन्दरता र यहाँको विकासका लागि काम गरिने प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले बताए । ‘घरमा भत्किएपछि धुलो उड्ने, हिलो हुनेजस्ता समस्या हुन्छन् कि भन्ने चिन्ता छ । हामी त्यस्तो हुन दिँदैनौं । सडक खाली हुँदै जान्छ नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँंगसँगै हुन्छ,’ उनले भने, ‘यो सडक खाली गराउने अभियानमा सबै नगरवासीसँग अपिल गर्दछु ।’

सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रूपमा लमही–कोइलावास सडकको नामाकरण सहिद मार्गको रूपमा भएको भन्दै यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताए । ‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो,’ उनले भने, ‘नगरवासी सबैको साथ सहयोगको खाँचो छ ।’ सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणका लागि काम गर्ने जनाएको छ ।

लमही–कोइलावास हुलाकी सडक औपचारिक रूपमा नेपाल सरकारलाई विसं २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोड लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो । यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्ब बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्