Logo

वर्षाले सडकमा दुई अर्बको क्षति, पुनर्निर्माणमा दोब्बर लागत लाग्ने

फाइल तस्बिर ।

काठमाडौं– यो वर्ष दिनहुँजस्तै परेको पानीका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न ४ सय ९६ स्थानका सडकमा क्षति पुगेको छ । यसबाट दुई अर्बभन्दा बढी रकम क्षति भएको छ ।

राष्ट्रिय राजमार्ग अन्तर्गतका सडकको पुनर्निर्माणका लागि दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ । प्रदेश र स्थानीय तहका सडकको पुनर्निर्माणमा थप रकम खर्च हुने मन्त्रालयले बताएको छ । हालसम्म सबैभन्दा बढी क्षति राष्ट्रिय राजमार्गका सडकमा भएको छ ।

वर्षायाम सुरु भएयता हालसम्म सडक र पुलमा गरी दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालले बताए । उनले भने, ‘वर्षा हुने क्रम जारी रहेकोले अझै क्षति हुने सम्भावना छ । क्षतिको विवरण संकलन हुने क्रममा छ । वर्षाका कारण हुने सडकको पुनर्निर्माण गर्न क्षतिको रकमभन्दा दोब्बर हाराहारी लाग्ने गरेको छ ।’

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीय सरकारले अध्ययन नै नगरी राष्ट्रिय राजमार्गका सडकमा लिंक गर्न खोलिएका ट्रयाक र प्राकृतिक दोहन भएका क्षेत्रका सडकमा बढी क्षति पुगेको बताए । ‘पूर्वतयारी र अध्ययनबिना ट्रयाक खोलेका स्थानीय सडकमा बढी क्षति भएको छ । सडक निर्माणका लागि प्राविधिक अध्ययन र लगानीका आधारमा आयोजना छनोट गरी स्थानीय स्तरमा पूर्वाधार निर्माण गर्नु आवश्यक छ,’ उनले भने ।

बुधबारसम्मको तथ्यांकअनुसार क्षति पुगेर एकतर्फी यातायात चालु रहेको स्थान २५७ र क्षति पुगेर सामान्य मर्मतपछि दुवैतर्फ यातायात सुचारु गरिएको सडक २३८ गरी कुल ४९५ स्थानमा क्षति पुगेको छ । यसैगरी पुलतर्फ बेलीब्रिज १, आरसीसी ४ र कल्भर्ट १ गरी ६ वटामा क्षति पुगेको छ । पुलतर्फ करिब ४० करोडको क्षति भएको विभागले जनाएको छ । पुनर्निर्माण गर्न लाग्ने बजेटको रकम भने पूर्ण क्षतिको विवरण संकलनपछि यकिन गर्न सकिन्छ । विभागअन्तर्गत सडक डिभिजन तथा कार्यालयहरूको समन्वयमा क्षतिको आँकलन गर्दा प्रारम्भिक रूपमा १ अर्ब ६० करोड सडकमा र ४० करोड पुलमा क्षति भएको प्रक्षेपण गरिएको छ । क्षति भएका सडकलाई पूर्ववत् अवस्थामा फिर्ता ल्याएर यातायात सुचारु गर्न विभागले दुई अर्बभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ । गत वर्ष पनि सोही हाराहरीमा सडक तथा पुलमा क्षति पुगेको थियो ।

जारी वर्षा सिजनमा पुष्पलाल (मध्य पहाडी) राजमार्ग, नौबिसे–मुग्लिन–पोखरा (पृथ्वी राजमार्ग), साँफेबगर–मार्तडी–कोल्टी, रिडी–बालकोट–हंसपुर–प्युठान, प्युठान–सुर्खेत, डुम्रे–बेशीसहर–चामे, तानसेन–रिडी–कोरला, कालिगण्डकी करिडोरका सडकमा बढी क्षति पुगेको छ । पछिल्लो समय नारायणगढ–मुग्लिन र नागढुंगा–मुग्लिन सडकमा पहिरो जाँदा दैनिक घण्टौं सडक अवरुद्ध हुने गरेको छ । बुधबारमात्र पनि नागढुंगा–मुग्लिन सडकको चेकप्वाइन्ट नजिक खसेको पहिरोका कारण करिब ७ घण्टा सडक आवागमन ठप्प हुन पुगेको थियो ।

नदी कटान, पहिरो खस्ने, भासिने, ढुंगा झर्नेलगायत समस्याका कारण सडक अवरुद्ध भएको र समस्या आएको विभागको अध्ययनले देखाएको छ । पछिल्लो सयम राजमार्गसँग जोडिएका सहायक मार्ग बढी विस्तार भएको र ती सडकमा पानी परेपछि बाटोमा पानीको बहाव बढेर पहिरो गई सडकमा क्षति पुग्ने गरेको विभागको भनाइ छ । विभागले सडक सुचारु गर्न विभिन्न डिभिजन कार्यालयहरुलाई परिचालन गरेको छ । मेसिन तथा उपकरणसहित आवश्यक जनशक्ति प्रशासन कार्यालयको समन्वयमा परिचालन हुँदै आएका छन् ।

सडक अवरुद्ध भएको सूचना आउनेबित्तिकै खुलाउनका लागि आवश्यक जनशक्ति र मेसिन स्थानीय प्रशासनसँगको समन्वयमा परिचालन गर्ने गरिएको विभागले जनाएको छ । विभागले मूलतः तीन चरणमा तिव्रताका साथ काम गरिरहेको बताएको छ । पहिलो– आकस्मिक मर्मतअन्तर्गत सडक बोर्डबाट विनियोजन भएको बजेट डिभिजन सडक कार्यालयमा पठाएर तत्काल सडक सुचारु गर्न लाग्ने, दोस्रो– स्थिर र दीर्घकालीन सडक बनाउने र तेस्रो– पूर्ववत् अवस्थामा फर्काउन तत्काल काम गर्ने गरी समन्वयको आधारमा योजना बनाउने काम गर्दै आएको विभागका महानिर्देशक पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्