Logo

सेयरमा कसलाई सुन्ने, कसलाई नसुन्ने

बुलिस बजार फुलिस (मूर्ख) हुन्छ भनिन्छ । यसले रेसनल (विवेक) प्रयोग गर्दैन । प्रतिफल दिने, नदिने, थोरै दिने, धेरै दिनेजस्ता कम्पनीको पनि सेयर मूल्य अकासिन पुग्छ । सबैको चाहना छिटो र धेरै मूल्य बढ्ने स्क्रिप्ट किन्ने हुन्छ । यो कसरी सम्भव हुन्छ भन्ने विषयमा यस लेखमा चर्चा गरिन्छ ।

कोसी र गण्डकीमा सधैं धेरै पानी बगेको हुन्छ । बर्सातमा सतह बढ्दा धेरै बढेजस्तो देखिँदैन । तर, खहरे खोलामा पहिले पानी बगेको हुँदैन वा पैतालामात्र भिज्ने पानी बगेको हुन्छ । जब बर्सात लाग्छ, कुनै दिन उर्लन्छ, भोलिपल्ट सुक्छ । सेयर बजार पनि यस्तै हो ।

सिँचाइ, माछा वा अन्य नियमित प्रतिफल दिने ठूला नदीलाई बर्सेनि उचित प्रतिफल दिने कम्पनीसँग दाँज्न सकिन्छ । प्रतिफल नदिने कम्पनीलाई खहरेसँग दाँज्न सकिन्छ । सेयर बजार बुलिसमा जाँदा खहरे कम्पनी, जसलाई चलनचल्तीको भाषामा पत्रु कम्पनी पनि भनिन्छ, सबैभन्दा बढी बढ्छन् । फन्डामेन्टल स्ट्रङ कम्पनीभन्दा कमजोर कम्पनीमा पुँजीगत लाभ बढी हुन्छ ।
फन्डामेन्टल कम्पनीको सेयर मूल्य एक-दुई वर्षमा दोब्बर हुन सक्छ भने नन फन्डामेन्टल कम्पनीको मूल्य एक-दुई महिनामा दोब्बर, तेब्बर हुन सक्छ । बर्सेनि लाभांश दिने कम्पनीको सेयर मूल्य प्रायः कहिले पनि धेरै तल झरेको हुँदैन । प्रतिफल नदिने कम्पनीको मूल्य निकै तल झरेको हुन्छ, जसले गर्दा धेरै गुणा माथि पनि जान्छ ।

यसो भन्दैमा बुलिस बजारमा पत्रु कम्पनीको सेयर किनेर जितिन्छ त ? त्यो निश्चित हुँदैन । तपाईंले कुनै पत्रु कम्पनीको सेयर किनेर महिनौं, वर्षौं बस्दा पनि मूल्य जहाँको तहीँ हुन सक्छ । त्यसको मूल्य स्वाभाविक रूपमा बढ्ने सम्भावना खासै हुँदैन । कुनै व्यक्ति वा समूहले कित्ता थुपारेर मूल्य बढाउन सक्छन् । बजारमा एउटा स्क्रिप्टमा माग सिर्जना गरिरहेपछि मूल्य माथि जान्छ । मूल्य माथि र कारोबार रकम पनि धेरै हुन थालेपछि स्क्रिप्ट ट्रेन्डिङमा बस्छ । स्क्रिप्टको धेरै प्रचार हुन्छ ।

बजारमा राम्रो सामानभन्दा नक्कली सामान बेच्न सजिलो हुन्छ । उदाहरणका लागि एप्पल, सामसुङभन्दा चाइनिज नन ब्रान्डेड मोबाइल सेट गाउँघरतिर धेरै बिक्री हुन्छ । ब्रान्डेड सामान १० प्रतिशत मार्जिनमा बेच्नुपर्छ । नन ब्रान्डेड ५० प्रतिशत मार्जिनमा पनि बेच्न सकिन्छ । राम्रो सामानको उत्पादन र व्यापार दुवै दिगो हुन्छ । नक्कली सामानको अल्पकालीन हुन्छ । छोटो समयमा धेरै मुनाफा कमाउन सकिन्छ । चनाखो हुन सकिएन भने छोटो समयमा धेरै गुमाउन पनि सकिन्छ ।

सेयर बजारमा पनि थोरै चुक्ता पुँजी भएका नन फन्डामेन्टल कम्पनीको स्क्रिप्ट खेलाउन खेलाडीहरूलाई सहज हुन्छ । फन्डामेन्टल राम्रो भएका कम्पनी लो क्याप भए पनि अरूको हातबाट कित्ता फुत्काउन कठिन हुन्छ । राम्रो कम्पनी बेच्न मानिसहरू तयार हुँदैनन् । कमजोर कम्पनी अलिकति नाफा भयो भने पनि बेच्छन् । अलिकति घाटामा गयो भने पनि घाटा अझै बढ्ने हो कि भनेर बेच्छन् ।

खेलाडीहरूले खेलाएका स्क्रिप्टमा खेलाडीसँगै पस्ने र खेलाडीसँगसँगै निस्कने गर्न सक्ने हो भने धेरै मुनाफा गर्न सकिन्छ । यो एकदमै जोखिमपूर्ण कार्य हो । समयमा बेच्न सकिएन भने यस्ता कम्पनीमा खरिदकर्ता पाउन सकिँदैन । थोरै–थोरै कित्ता कारोबार हुँदै कम्पनीको सेयर मूल्य ७०-८० प्रतिशतसम्म तल झर्छ ।

बुलिस बजारमा पैसा कमाउन धेरै खेलाडी प्रवेश गर्छन् । सेयर शिक्षा दिने नाममा उनीहरूले आफ्नो फाइदाका लागि बजारमा न्वाइज क्रिएट गरेका हुन्छन् । फन्डामेन्टल स्ट्रङ कम्पनी किन्नुपर्छ, मूल्य घट्यो भने पनि लाभांश र बोनसले थोरबहुत भरथेग गर्छ भन्ने तर्क एकथरीले गरिरहेका हुन्छन् ।

नेप्सेमा सूचीकृत २ सय ४५ कम्पनीको औसत वार्षिक इल्ड १.६४ प्रतिशत छ । ५ प्रतिशत बढी इल्ड हुने कम्पनी ३ वटा छन् भने २.५ प्रतिशत बढी इल्ड हुने १६ वटा छन् । फन्डामेन्टल राम्रो भनिएका वाणिज्य बैंकहरूको औसत इल्ड २.५ प्रतिशत छ । कम्पनीहरूको सेयर मूल्यलाई डिभिडेन्ट इल्डले थेग्न सक्दैन ।

सेयर मूल्य बटममा भएको बेला किन्न सके मात्र फन्डामेन्टल स्ट्रङ कम्पनीको लाभांशले मूल्यलाई सपोर्ट गर्न सक्छ । अहिले बढिसकेको मूल्यमा जुनसुकै कम्पनीको स्क्रिप्ट किने पनि लगभग उस्तै हुन्छ अर्थात् पुँजीगत लाभ भए जितिन्छ, नत्र डुबिन्छ ।

महँगोमा फसे पनि होल्ड गरियो भने जितिन्छ भन्ने अर्को भ्रम बजारमा फैलाइन्छ । सबैभन्दा बढी लाभांश दिने कम्पनीहरूको सेयर टुप्पोमा किन्ने व्यक्तिको सावाँ आउन सकेको छैन । ब्याज त कुरै छोडौं । नेप्से परिसूचक माथि–माथि जान्छ तर धेरै कम्पनीको सेयर मूल्य अघिल्लो बुलभन्दा पछिल्लो बुलमा कम मूल्यमै टप लाग्छन् । नयाँ कम्पनीको कारण नेप्से सूचक अघिल्लो बुलभन्दा माथि गएको हो ।

केही काम गर्ने सीप, क्षमता, पढाइ, सर्टिफिकेट केही नभए पनि घरै बसी–बसी पैसा कमाउन सकिने सबैभन्दा सजिलो ठाउँ सेयर बजार हो भनेर सिकाइन्छ । तर, सबैभन्दा बढी सीप, क्षमता, सूचना चाहिने ठाउँ सेयर बजार हो । यो जिरो सम गेम होइन, कम्पनीहरूले कमाएर लाभांश दिन्छ, लाभांशका कारण सबैले कमाउँछन् भन्ने भ्रम पनि फैलाइन्छ । कम्पनीले दिने लाभांशको रकमले ब्रोकर कमिसन र पुँजीगत लाभकर तिर्न पनि पुग्दैन । त्यसैले यहाँ एकले कमाउने भनेको अर्कोले गुमाएर नै हो ।

जुवामा अर्कोले गुमाउने र आफूले कमाउने सँगै हुन्छ । सेयरमा आफूले कमाउने अहिले र अर्कोले गुमाउने पछि हुन्छ । उदाहरणका लागि तपाईंले कुनै कम्पनीको सेयर ५ हजार रुपैयाँ प्रतिकित्तामा बेच्नुभयो । तपाईंले त्यो ५ सय रुपैयाँ प्रतिकित्तामा किन्नुभएको थियो । तपाईंलाई ४५ सय प्रतिकित्ता मुनाफा भयो । तपाईंले बेचेपछि सेयरको मूल्य घट्न थाल्यो । ५ हजार रुपैयाँमा किन्नेले जहिले बेच्छ, उहिले उसले घाटा बेहोर्ने हो ।

नबेच्दासम्म वास्तविक घाटा हुँदैन, पेपर लस मात्र हो । त्यसैले होल्ड गर्नुपर्छ, बेच्नु हुँदैन, अर्को बुलमा बढिहाल्छ भन्ने एउटा सिद्धान्त छ । मानौं कुनै सेयरमा ५ हजार रुपैयाँ लगानी गरियो । त्यसको मूल्य घट्दै गयो र होल्ड गरेर राख्नुभयो भने पैसाको अपरच्युनिटी कस्ट नोक्सान हुन्छ । त्यो ५ हजार अर्को ठाउँ लगानी गरेको भए प्रतिफल आउन सक्थ्यो । नबेच्दासम्म घाटा त हुँदैन, तर त्यो ऋणमा लिएको रहेछ भने ब्याज खर्च भइरहेको हुन्छ । लामो समय होल्ड गर्दा मूल्य फर्कने सम्भावना मात्र हुन्छ, तर निश्चित हुँदैन ।

सेयर बजारमा एउटा सिद्धान्त मात्र सधैं सही हुन्छ । ट्रेडर्सले सही र गलत जे पनि गर्न सक्छन्, बजारले कहिल्यै गलत गर्न सक्दैन । पैसा गुम्यो भने बजारको दोष होइन, जहिले पनि आफ्नो गल्ती हो । लगानी गर्न कुनै पनि स्क्रिप्ट सही र गलत भन्ने हुँदैन । जुन स्क्रिप्ट किने पनि हुन्छ, किन्दा कम मूल्य र बेच्दा बढी मूल्य हुनुपर्छ । प्रायः जुनसुकै स्क्रिप्टको पनि मूल्य तलमाथि भएकै हुन्छ । त्यसैले कमाउने मौका सबै स्क्रिप्टले दिएकै हुन्छन् ।

कम्पनीको वित्तीय अवस्था हेरेर, बुझेर सेयर किन्नुपर्छ, नत्र फसिन्छ भनेर उपदेश दिनेको जमात पनि बजारमा हुन्छ । फलानो नन फन्डामेन्टल कम्पनीको सेयर मूल्य उचालेर सोझासीधा लगानीकर्ता फसाइयो । सेयरको मूल्य अकासिएपछि अन्तिममा फस्ने सोझासीधा सानातिना लगानीकर्ता नै हो, उनीहरूलाई जोगाउनुपर्छ भन्दै मूल्य बढाउन योगदान गर्नेको विरोध हुन्छ ।

बजारमा सबै पैसा कमाउन आएका हुन्छन् । त्यसैले आफूले कमाउन सकिएन, अरूले कमाए भनेर अर्ती उपदेश दिनु र उजुरबाजुर गर्नुको कुनै अर्थ हुँदैन । जुनसुकै कम्पनीको सेयर किने पनि अर्को नफसी आफूले कमाउन सकिँदैन । सर्कुलर ट्रेडिङ र कर्नरिङलाई कानुनले प्रतिबन्ध लगाएको छ । तर यसविरुद्ध प्रमाण जुटाउन सहज हुँदैन । दिनमा १० प्रतिशतभन्दा बढी मूल्य घट्न वा बढ्न पाउँदैन । एक व्यक्तिले एक कम्पनीको यति प्रतिशतभन्दा बढी सेयर किन्न पाइँदैन भनेर सीमा पनि तोकिएकै छ । यही नियमभित्र खेल्ने हो ।

सेयर बजारमा अरूको कुरा सुने डुबिन्छ, मेरो सल्लाह माने कमाइन्छ भनेर अर्ती उपदेश दिने धेरै हुन्छन् । तर, पुँजीबजार जोखिमको क्षेत्र हो । यहाँ जति बढी कमाउने आशा राखिन्छ, त्यति बढी गुम्ने सम्भावना पनि हुन्छ । यहाँ सबैले कमाउन सकिँदैन, एउटाले गुमाएर अर्कोले कमाउने हो । सेयर बजारमा सबैले लगानी गर्नैपर्छ भन्ने हुँदैन । किनबेच गर्दा मनोरञ्जन प्राप्त हुन्छ, नोक्सान भए पनि सहन्छु, पाठ सिक्छु भनेर चित्त बुझाउनेले मात्र पैसा हाल्ने हो । पैसा गुमेपछि अरूलाई दोष दिनेले यहाँ लगानी गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्