९२ % नागरिकलाई खानेपानीको आधारभूत सेवा उपलब्ध गराईने «

९२ % नागरिकलाई खानेपानीको आधारभूत सेवा उपलब्ध गराईने

खानेपानीको पहिलो चौमासिक प्रगति विवरण

खानेपानी तथा सरफाई मन्त्रालयको पहिलो चौमासिक प्रगति विवरण प्रस्तुत भएको छ । बिहीबार खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६-०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे पहिलो चौमासिक समीक्षा बैठक सम्पन्न भएको हो ।
मन्त्रालयले देशभरी नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने गरी काम अगाडि बढाइएको जानकारी दिएको छ । उच्च मध्यमस्तरको खानेपानी सेवाबाट अहिलेसम्म २१ प्रतिशत जनसंख्या लाभान्वित भएकोमा यो संख्या बढेर २५ प्रतिशत पुग्ने मन्त्रालयको भनाइ छ ।
बैठकमा मन्त्री बिना मगरले मन्त्रालयले निर्धारण गरी तोकिएका न्यूनतम लक्ष्यहरु हासिल गर्ने दिशामा भन्दा पनि द्रुत गतिमा जनताले महसुस गर्ने गरी उपलब्धि हासिल गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । जनताको आधारभूत आवश्यकता पूरा गर्ने गरी काम रफ्तारमा अघि बढाउन उनले सबै प्रमुखहरुलाई निर्देशन दिएकी छिन् । ‘अघिल्लो आर्थिक वर्ष समृद्धिको आधार वर्ष थियो, तर अब यो वर्ष उपलब्धिको वर्ष हुनुपर्छ’, उनले भनिन्, ‘जनताका आवश्यकता धेरै छन्, सँगसँगै चुनौती र समस्या पनि उत्तिकै छन् । आवश्यकता र जनताको मौलिक अधिकारलाई ध्यान दिएर हामीले काम गर्नुपर्छ ।’
उनले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने बताइन् । आयोजना अगाडि बढाउने सवालमा खानेपानीको क्षेत्रमा धेरै समस्या रहेको भन्दै उनले सामाजिक समस्या र जनशक्तिको अभाव रहेको स्पष्ट पारिन् ।
‘मन्त्रालयको यो पहिलो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पूरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ’, उनले भनिन्, ‘आधार वर्ष मात्रै भनेर सधैंभरी यो छुट हामीलाई छैन । कामको प्रगति हिसाबमा भन्दा पनि जनताले महसुस गर्ने गरी काम अघि बढाउनुस् ।’
समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी आयोजनाका कामहरु दु्रत गतिमा अघि बढाउन आग्रह गरे । सदस्य डा. गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अझ बढी केन्द्रित रहन सुझाव दिएका छन् । निर्माणाधीन मात्रै नभइ सम्पन्न भइसकेका आयोजनाहरुको अवस्था के कस्तो छ भनेर ध्यान दिन उनले आग्रह गरे । नेपाल खुला दिसामुक्त देश घोषणा भइसकेकाले अब पूर्ण सरसफाइ कार्यक्रमअन्तर्गत देशैभरी सार्वजनिक शौचालयहरु निर्माण गर्ने गरी कार्य अघि बढाउनुपर्ने डा. गुरुङले जोड दिए ।
मन्त्रालयका सचिव माधव बेल्बासेले देशैभरीको खानेपानीको समस्या समाधान गर्न आयोजनाहरु अघि बढेपनि जनशक्तिको ठूलो अभावले समस्या आइरहेको बताए । सचिव बेल्बासेले खानेपानीको क्षेत्रमा प्राविधिक जनशक्तिको अभावले आयोजनाहरुको काममा ढिलाइ भइरहेको समस्या औंल्याए । उनले मेलम्ची खानेपानी आयोजनाको काममा काम गर्ने वातावरण बनाइरहन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।
समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७६-०७७ को पहिलो चौमासिक अवधिमा भौतिक प्रगति ७६ र वित्तीय प्रगति २० प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले दिए । खानेपानी विभागअन्तर्गत रहेका खानेपानी तथा सरसफाइ सह–लगानी कार्यक्रम आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत र सहरी खानेपानी तथा सरसफाइ आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिए ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको फिनिसिङ कार्यको काम धमाधम अगाडि बढिरहेको जानकारी दिए । चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्देश्यले काम अगाडि बढिरहेको बताउँदै कार्यकारी निर्देशक खत्रीले आगामी दिनमा काम गर्ने वातावरण नबिग्रने गरी अघि बढ्न सरकारका सबै निकायहरुबीच समन्वय जरुरी रहेको बताए ।
मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले देशभरी नै आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित हुने जनसंख्या यही आर्थिक वर्षभित्र ९२ प्रतिशत पुग्ने जानकारी दिनुभयो । पहिलो चौमासिक अवधिमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको जानकारी गराएको छ । बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले काठमाडौं उपत्यकामा जमिनमुनीको पानीको अवस्था के कस्तो छ भन्ने पत्ता लगाउन नयाँ प्रविधिको मद्दतले काम अगाडि बढाइएको बताए ।
समीक्षा बैठकमा पहिलो चौमासिक अवधिमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति ११ प्रतिशत रहेको जानकारी कार्यकारी निर्देशक चोकप्रसाद धितालले गराए । यो अवधिमा ग्रामीणस्तरमा ३५ वटा खानेपानी आयोजना सम्पन्न भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्