पर्यटन वर्ष लक्षित पूर्वाधार स्तरोन्नतिः मन्त्री भट्टराई «

पर्यटन वर्ष लक्षित पूर्वाधार स्तरोन्नतिः मन्त्री भट्टराई

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पर्यटन पूर्वाधारहरुको स्तरोन्नति भइरहेको बताएका छन् । विश्वभरिका पर्यटन तथा होटल व्यवस्थापन शिक्षासम्बद्ध प्रतिष्ठानहरुको संस्था होटल स्कुल एसोसियसन (इयुहोफा)को ५८ औं अन्तर्राष्ट्रिय कंग्रेसको काठमाडौंमा बिहीबार उद्घाटन गर्दै मन्त्री भट्टराईले सरकारले पर्यटन उद्योगको नीतिगत सुधारमा प्राथमिकता दिँदै आएको बताउँदै नेपाल भ्रमण वर्षलाई लक्षित गरी पूर्वाधारहरुकोस्तरोन्नति भइरहेको बताएका हुन् ।
उनले पर्यटन वर्षलाई लक्षित गरेर अन्तर्राष्ट्रिय विमानस्थलहरु, सडक र अन्य सुविधाहरु निर्माण तथा स्तरोन्नति गर्ने क्रममा आउँदो मार्चदेखि भगवान बुद्धको जन्मथलोलाई अन्तर्राष्ट्रिय शहरहरुसँग जोड्ने गरी गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउन लागेको जानकारी दिए । काठमाडौंस्थित विमानस्थालका सेवा र सुविधाहरुमा पनि सुधार भइरहेको भन्दै मन्त्री भट्टराईले क्षेत्रीय शहरहरुबाट मुख्य पर्यटन गन्तव्य पोखरासम्मको क्षेत्रीय उडान थालिसकेको बताए ।
उनले नेपालले राष्ट्रिय अभियानका रुपमा नेपाल भ्रमण वर्ष २०२० मनाउन लागिरहेको र यसको थालनी वर्षको पहिलो दिनमै गरिने भएपनि वर्षभरि नै र त्यसपछि समेत विभिन्न कार्यक्रमहरु आयोजना भइरहने भन्दै विश्वभरिका होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध विज्ञहरुलाई आआफ्नो देशबाट अभियानमा सहयोग गर्न अपिल गरे । उनले आतिथ्यता उद्योग हरेक दिन संख्यात्मक र गुणात्मक रुपमा बढ्दै गइरहेको अवस्थामा यसलाई शिक्षा, तालिम र प्रविधिमार्फत स्तरोन्नति गर्दै लैजानु पर्नेमा जोड दिए ।
नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भन कप्लरले नेपाल सकरात्मक अवस्थामा पुगेको उल्लेख गर्दै नेपालका लागि पर्यटनलाई सही गति प्रदान गर्न यो नै उपयुक्त समय भएको बताइन् । उनले आतिथ्यता भनेको गुणस्तरीय सेवामात्र नभएर गुणस्तरीय रोजगारीसमेत भएकाले यसका लागि पर्याप्त ध्यान दिन सरकारलाई सुझाव दिइन् । होटल एसोसियसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले आतिथ्य सत्कार उद्योगको स्तरोन्नतिका लागि तालिम प्राप्त शिक्षित र दीक्षित जनशक्ति उत्पादन, अतिथिलाई समेत शिक्षा र पर्यटकप्रतिको उत्तरदायित्व तीनै पक्षको उत्तिकै महत्व हुने बताइन् ।

 
अध्यक्षमा लकाइँ निर्वाचित

यसैबीच, होटल स्कुल एसोसियसन (इयुहोफा)को अन्तर्राष्ट्रिय कंग्रेसले ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)का प्रमुख कार्यकारी अधिकृत खेम लकाइँलाई सन् २०१९ का लागि अन्तर्राष्ट्रिय अध्यक्षमा चयन गरेको छ । लकाइँ सन् २०१७ मा इयुहोफाका बोर्ड सदस्य थिए । इयुहोफाको सञ्जालमा युरोपदेखि अमेरिकी महादेश, एसिया, अफ्रिका र अस्ट्रेलियासम्मका विश्वभरिका आतिथ्य व्यवस्थापना अध्यापन हुने शैक्षिक प्रतिष्ठानहरू सदस्य छन् । सञ्जालमा नेपालबाट १४ वटा होटल व्यवस्थापन तथा पर्यटन शिक्षासम्बद्ध प्रतिष्ठानहरु सदस्य छन् । काठमाडौंमा जारी ५८ औं कंग्रेसमा दुई दर्जन मुलुकबाट करिब ७० पर्यटन तथा आतिथ्य सम्बन्धी विश्वविद्यालय एवं शैक्षिक संस्थाका प्रमुख र प्राध्यापकहरु, पर्यटन उद्योगका नेतृत्वकर्ता र यस क्षेत्रका विभिन्न विज्ञहरुको सहभागिता छ ।
नेपालमा यो सम्मेलनको आयोजनाले नेपाल भ्रमण वर्ष २०२० लाई मात्र सहयोग नपुगी अन्तर्राष्ट्रियस्तरमा नै नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने इयुहोफाका नवनिर्वाचित अध्यक्ष लकाइँले बताए ।

प्रतिक्रिया दिनुहोस्