Logo

कृषि ज्ञान केन्द्रको अनुदानका लागि पालिकामै आवेदन दिन पाउने

लमजुङ– कृषि ज्ञान केन्द्र लमजुङमार्फत् वितरण हुने अनुदानका लागि कृषकले सम्बन्धित पालिकामै आवेदन दिन पाउने भएका छन् । चालु आर्थिक वर्षमा वितरण हुने विभिन्न शीर्षक अनुदानका लागि मापदण्ड पुर्‍याएर कृषकहरूले सम्बन्धित पालिकाको कृषि शाखामा आवेदन बुझाउन पाउने भएका हुन् ।

भौगोलिक विकटताका कारण कृषकलाई सदरमुकाम बेसीसहरसम्म आउन समस्या हुने भएकाले कृषकको सहजताका लागि आवश्यक प्रकृया पुर्‍याएर कृषि शाखामा आवेदन बुझाउन सक्ने व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको हो । कार्यालयले तोकेको समयभित्र कृषकले सम्बन्धित पालिकाको कृषि शाखामा आवेदन दिनसक्ने भएकाले दुर्गम भेगका कृषकलाई सहज हुने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले बताए ।

‘जिल्लामा भौगोलिक जटिलता छ, एउटा आवेदन बुझाउन मात्रै कृषकलाई सदरमुकामसम्म आइपुग्न समस्या हुन्छ,’ कार्यालय प्रमुख खतिवडाले भने, ‘पालिकामै आवेदन बुझाउन पाएपछि कृषकलाई पनि समस्या नहुने भयो, धेरैभन्दा धेरै कृषक पालिकासम्म पुग्न सक्छन् ।’ पालिकामा आवेदन बुझाउन पाउने भएपछि सम्बन्धित पालिका पनि जिम्मेवार बन्ने र धेरैभन्दा धेरै कृषकसम्म अनुदान पहुँच पुग्ने विश्वास लिएको कार्यालय प्रमुख खतिवडाको विश्वास छ ।

ज्ञान केन्द्रले कृषि प्रवर्द्धन कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन हुने गरी विभिन्न कार्यक्रमका लागि आवेदन माग गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विभिन्न कार्यक्रम सञ्चालनको निम्ति जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा सहकारीलाई आवेदन पेस गर्न आग्रह गरेको हो । कृषि ज्ञान केन्द्रले जारी गरेको सूचनाअनुसार न्यूनतम सात लाख आठहजार रुपैयाँदेखि एक करोड सात लाख ९९ हजारसम्मका कार्यक्रम रहेका छन् । प्रत्येक कार्यक्रमका लागि विशेष मापदण्डसमेत पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित कृषक, कृषि फर्म, कृषि कम्पनी कृषिसँग सम्बन्धित समूह तथा सहकारीका लागि चारवटा कार्यक्रम रहेका छन् । सोबाहेक कृषिसँग सम्बन्धित समूह तथा सहकारीका लागि मात्रै थप चारवटा कार्यक्रमका लागि आवेदन माग भएको छ । ज्ञान केन्द्रले फलफूल विकास आयोजना, व्यावसायिक तरकारी खेती कार्यक्रम, मसला तथा निर्यातयोग्य बाली उत्पादन प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रम, रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रम, ग्रामीण पोषण सुरक्षण कार्यक्रम र बीउ उत्पादन प्रवर्द्धन आयोजना रहेका छन् ।

प्रस्तावनाका लागि गण्डकी प्रदेश सरकारको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी एकीकृत कार्यविधि छैटौैं संशोधन २०८१ र कार्यक्रम सञ्चालन सम्बन्धी स्वीकृत मापदण्डबमोजिम हुनुपर्ने ज्ञान केन्द्र लमजुङले जनाएको छ । कार्यक्रमका लागि लाभग्राहीले भदौ २४ गतेभित्र प्रक्रियाबमोजिम प्रस्तावना पेस गरिसक्नुपर्ने कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्