Logo

तीन सय वर्ष पुरानो ‘ग्वल: दे फल्चा’ र ‘नरसिंह’ पाटी पुन:निर्माण

काठमाडौं- काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वल:दे फल्चा एवं भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह) पाटीको पुन:निर्माण गरिएको छ ।

मंगलबार आयोजित एक समारोहका बीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाध्यक्ष आशामान सङ्गतले पुन:निर्मित फल्चाको उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले काठमाडौं महानगरपालिकाभित्रका विभिन्न पाटी पौवा तथा इनारको पुन:निर्माणको काम अगाडि बढाइरहँदा मंगलबार नसिंह पाटी एवं ग्वल: दे फल्चा’ समुद्घाटन गरिएको बताए ।

”काठमाडौं महानगरपालिका–८ मा रहेको तीन सय २४ वर्ष पुरानो फल्चा एवं भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें (नरसिंह) पाटी उद्घाटन गरिएको हो”, संयोजक सङ्गतले भने, ”वडा ८ मा रहेको तीन सय २४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुन: निर्माण नेपाल संवत् ८७३ मा भएको शिलापत्रमा उल्लेख छ । यस्तै ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको फल्चासमेत पुन: निर्माण गरिएको हो ।”

उनले ध्वाखा छें (नरसिंह) पाटी ३४ लाख र ‘ग्वल: दे फल्चा’ १५ लाखको लागतमा पुन:निर्माण गरिएको बताए । हाल वडा नं ८ मा ग्वल: दे फल्चा पुन:निर्माण भइरहेको र रावण पाटी पनि पुन:निर्माणका लागि भग्नावशेष भत्काउने काम अगाडि बढेकाले चाँडै पुन:निर्माण गरिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्