खोटो संकलनबाट ३२ लाख राजस्व
दाङ– दाङमा सल्लाको खोटोबाट ३२ लाख बढी राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा ३२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए ।
सूचना अधिकारी सापकोटाका अनुसार सल्लाको खोटो बिक्रीबाट संकलन भएको राजस्वमध्ये २७ लाख ९० हजार रुपैयाँ वन समूह र चार लाख ७२ हजार रुपैयाँ प्रदेश सञ्चित–कोषमा जम्मा भएको छ । गत वर्ष जिल्लामा ७८ हजार केजी सल्लाको खोटो निकासी हुँदा नौ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जिल्लामा सल्लाको खोटोबाट गत वर्षको तुलनामा यस वर्ष तेब्बर बढी राजस्व संकलन भएको छ । जिल्लामा गत वर्ष सल्लाको खोटो संकलन गर्ने वन क्षेत्र थपिएसँगै राजस्वमा समेत वृद्धि भएको हो ।
अघिल्ला वर्षमा १० वटा समूहबाट खोटो संकलन हुँदै आए पनि गत आर्थिक वर्षमा १९ वटा वन समूहबाट खोटो संकलन भएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । जिल्लामा खोटो संकलन गर्ने क्षेत्रफल बढेसँगै राजस्वमा वृद्धि भएको सूचना अधिकारी सापकोटाले बताए । उनले भने, ‘विगतका वर्षभन्दा अहिले खोटो संकलन गर्ने क्षेत्रफल बढ्दा राजस्वमा वृद्धि भएको छ ।’ सडक कालोपत्रे गर्ने तारपिन तेल र पेन्ट गर्ने रँग बनाउन आवश्यक सामग्रीमा सल्लाको खोटो कच्चा पदार्थका रूपमा प्रयोग हुने गर्दछ । कच्चा पदार्थका रूपमा प्रयोग हुने सल्लाको खोटो जिल्लाका विभिन्न सामुदायिक वनबाट गंगा रोजिन एण्ड टर्पिनटाइन कम्पनी बाँके र बुढाथोकी टर्पिनटाइन कम्पनी अमेलिया दाङले खोटो संकलन गर्दै आएका छन् ।
सामुदायिक वनको मुख्य आम्दानी
जिल्लामा खोटो संकलन सामुदायिक वन समूहको मुख्य आम्दानीको स्रोत बनेको छ । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहले जंगलमा रहेका सल्लाका रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक रूपमा लाखौँ रकम आम्दानी गर्ने गरेका छन् । यसरी वन समूहले सल्लाको खोटो बिक्री गरेर भएको आम्दानी वन समूहकै संरक्षणसँगै सामाजिक काममा लगाउने गरेका छन् ।
गाउँ समाजलाई आवश्यक खानेपानी, विद्यालय भवन निर्माण, चौतारा निर्माणलगायतका काममा लगाउने गरेको बंगलाचुली गाउँपालिका–८ स्थित ओखलढुंगा सामुदायिक वन समूहका सचिव लोकबहादुर गाहा मगर बताउँछन् । आर्थिक अभावका कारण समुदायका सदस्यले सामाजिक काममा पैसा उठाउन नसक्ने भएपछि वन समूहमा संकलन भएको रकम लगाउने गरेको छ । उनले भने, ‘खोटो संकलनबाट भएको आम्दानी वन समूहको संरक्षणसँगै सामाजिक काममा आवश्यक पर्दा लगाउने गरेका छौँ ।’
कम्पनीले सल्लाको खोटो प्रतिकेजी १२ रुपैयाँका दरले खरिद गर्ने गर्छन् । राम्रोसँग बढेको सल्लाको रुखबाट कम्तीमा आठ–नौ वर्षसम्म निरन्तर खोटो निकाल्न सकिने स्थानीय बताउँछन् । वैशाख–जेठ महिनादेखि मंसिर–पुस महिनासम्म खोटो संकलन गरिन्छ । चिसो मौसममा भने खोटो जाम भएर कम संकलन हुने भएकाले संकलन गरिँदैन ।