Logo

रुपिछडा झरनाको प्रवर्द्धनमा जुट्दै हिमा

जुम्ला– जुम्लाको हिमा गाउँपालिका पर्यटकीय गन्तव्य रुपिछडा झरनाको पर्यटन प्रवर्द्धनमा जुटेको छ । हालमा चर्चामा नआएको र गुमनाम पर्यटकीय गन्तव्य रुपिछडा झरनाको प्रवर्द्धनमा पालिका जुटेको हो । हिमा गाउँपालिका–५ स्थित रुपिछडाको प्रवर्द्धन गरी पर्यटक भित्र्याउने र आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यसहित पालिका अग्रसर भएको छ ।

हिमामा कृषि, धार्मिक पर्यटन, पर्यापर्यटन लगायतका थुप्रै सम्भावना छन् । तीमध्ये पर्यापर्यटनको प्रवर्द्धन र स्थानीय स्रोतको परिचालन गरी समृद्ध पालिका बनाउन सकिने सम्भावना छन् । रुपिछडा झरनाको प्रवर्द्धनका पहिलो चरणको अध्ययनका लागि हिमा गाउँपालिकाको प्राविधिक टोली पुगेको छ । हिमा गाउँपालिकाका प्राविधिक शाखा प्रमुख तोरण खड्काको नेतृत्वमा झरनाको अवलोकन गर्न टोली पुगेको हो ।

प्राविधिक शाखा प्रमुख इन्जिनियर तोरण खड्काले रुपिछडा झरनाको विस्तृत प्रतिवेदन पालिकालाई बुझाउने बताए । रुपिछडा झरना प्रवर्द्धनका लागि त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण, प्रचारप्रसार, नाँपजाँच लगायत कामलाई अघि बढाइने हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।

झरनाको अवलोकन र पहिचानका लागि प्राविधिक टोली पठाइएको हो । अध्यक्ष शाहीले भने, ‘प्राविधिक टोलीले एक हप्ताभित्र झरनाको नापँजाच सहितको प्रतिवेदन बुझाउने छ । त्यसपछि प्रचार प्रसारदेखि पर्यटन पूर्वाधार विकासको कामलाई अघि बढाइने छ ।’ भौगोलिक रूपमा विकट रहेको र नाग्म–गमगडी सडकदेखि टाढा रहेकाले कहाँसम्म सडक निर्माण गर्ने कहादेखि पदमार्ग बनाउने विषयमा प्राविधिक टोलीको सिफारिसमा योजना तय गरिने अध्यक्ष शाहीको भनाइ छ ।

रुपिछडा झरना विगतदेखि रहे पनि प्रचार प्रसार र प्रवर्द्धनको अभावमा गुमनाम थियो । हिमाले पछिल्लो वर्षमा नीतिगत रुपमा रुपिछडाको प्रवर्द्धन गर्ने अभियान थालेको छ । नाग्म–गमगडी सडकको छेउमै पर्ने बाजागाडा गाउँदेखि ५ घण्टाको दूरीमा रहेको झरनाको प्रवर्द्धनले हिमाको आर्थिक आर्थिक विकास र रोजगारी सृजनामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

झरनाको आकर्षण र समस्या
हरियाली भिरपाखा र खोलाको फेदीमा स्याउका ठूलाठूला बगैंचा हुँदै यात्रालाई थप रोमाञ्चक गर्न सकिन्छ । ठाँउठाँउमा बस्नका लागि रुखका छहारीसँगै बर्खामा गाई भैंसी राख्ने गोठ पनि बाटो छेउनजिक पर्ने गर्दछन् । जसले गर्दा यात्रामा पानी पर्दा यी गोठतिर ओत लाग्न सकिन्छ ।

भर्खरै झरनाको भ्रमण गरी फर्किएका शिक्षक महेश रावल भन्छन्, ‘बाटोमा पर्ने साना साना खोलाको कलकल आवाज विभिन्न प्रकारका फूल हरियो कार्पेट फिजे जसरी फिजिएको घाँस आदि प्रकृतिका अनेक सिंगारपटारले पैदलयात्रीलाई स्वागत गरिरहेका हुनेछन् । झरनालाई अंगालोमा राखेर बसेका जंगलका बोटविरुवा, रुख, घाँसे मैदान जडिबुटीका अनमोल रत्न पाइने पनि गर्दछन् ।’

वसन्त ऋतुमा गुँरासका फूल फुल्दा झरना बेहुली जस्तै सिँगारिएको हुन्छ । त्यो दृष्य हरेकको मन झट्ट तान्छ । झरनाको सुन्दरताले घण्टौ उकालो हिँडेको थकान छिनमै मेटाइदिन्छ । उनले थपे, ‘यति सुन्दर प्रकृतिको वरदान हुँदाहुँदै पनि यो झरना हालसम्म गुमनाम नै छ । सहर बजारमा कृत्रिम रूपमा बनाइएका केही स्थल रातारात सामाजिक संजालमा भाइरल भएको र घुम्नको लागि भीड भइरहेको अवस्थामा यो झरना गुमनाम हुनु दु:खद् हो ।’ बाटोको समस्या, यातायातको असुविधा, दूरदराजमा रहेको सरकारको नजर नपरेको र यसको प्रचार प्रसारमा कमीजस्ता कारणले यो झरना गुमनाम हुन पुगेको हो ।

पछिल्लो समय पालिकाले चासो राखे पनि प्रवर्द्धनका लागि ठोस नीति नबनाएकोले पालिकाले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । रुपिछडालाई हिमाको पहिचान बनाउन पालिकाले विशेष नीति लिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्