पंक्षीपालनमै आत्मनिर्भर दीपक दम्पत्ती

जुम्ला– तातोपानी गाउँपालिका–४ की गंगादेवी उपाध्याय (अस्मिता) र लक्ष्मीप्रसाद उपाध्यक्ष (दीपक) सफल पंक्षीपालन दम्पत्ती हुन् । दुवैजना भूमिगत कमरेड हुन् । राजनीतिलाई सेवा बनाएका दीपक दम्पत्तीले पंक्षीपालनमा होमिएर मनग्य आम्दानी गर्दै आत्मनिर्भर बनेका छन् ।
जनयुद्धमा अस्मिता कम्पन्नी कमाण्डर र दीपक बटालियन कमाण्डर थिए । उनीहरूको युद्धकालीन नेतृत्व कौशलता अहिले व्यवसायमा देखाइरहेका छन् । मुलुकको व्यवस्था परिवर्तनका लागि बन्दुक उठाएका हातले अहिले पंक्षीपालनको दाना पानी उठाउँदै छन् । गंगादेवी उपाध्याय ‘अस्मिता’ तातोपानी गाउँपालिकाको प्रथम गाउँपालिका उपाध्यक्ष हुन् । आफैले युद्ध लडेर प्राप्त गरेको व्यवस्थामा उनले पाँच वर्ष जनप्रतिनिधिको भूमिका निर्वाह गरी सकिन् ।
उनले उपाध्यक्षको पाँचे वर्षे कार्यकालमा गाउँगाउँमा पुग्दा सबैभन्दा देखेको समस्या बेरोजगारीको हो । सम्भावना भए पनि युवालाई प्रेरणा दिने, व्यावसायिक बन्ने वातावरण भएन् । आफ्नो कार्यकालमा रोजगारी सृजनाका लागि गरेका काम पर्याप्त नभएको बताउँछिन् ।
युवा जगतमा राजनीति भनेको जागिर हो, कुनै न कुनै तवरबाट कमाउन सकिन्छ भन्ने गलत भाष्यको विकास भएको छ । उनी भन्छिन्, ‘हामी जनप्रतिनिधि भइसकेका, समाजको नेतृत्व गरिरहेका वर्गले त्यो भाष्य बदल्न आफै उद्यमी हुनु पर्ने, उत्पादनसँंग जोडिनु पर्ने सोच आयो । उपाध्यक्षको कार्यकाल बाँकी छँदै पंक्षीपालनमा जुटे । व्यवसायबाट आम्दानी गरेमात्र राजनीतिले सेवा गर्न सकिने टुंगोमा हामी पुगेका छौं ।’
उपाध्यायले तातोपानी–४ गौतमबाडामा ‘गौतम कृषि तथा पशुपालन फर्म’ दर्ता गरिन् । गंगादेवीले व्यवसायलाई आम्दानी र जीविकोपार्जनको स्रोत र राजनीतिलाई समाजसेवाको माध्यम बनाएकी छन् । उनको व्यवसाय श्रीमान् लक्ष्मीप्रसाद उपाध्याय (दीपक)को साथ बिना एक्लैले सम्भव थिएन । गंगाले हाल जुन व्यावसायिक सफलता हात पारेकी छन् । उनको सफलताका अटुट सारथि हुन्, उनका श्रीमान् । दीपकले जसरी हिजो जनयुद्धमा हुँदै गाउँपालिका उपाध्यक्ष हुँदा साथ दिए त्योभन्दा दोब्बर साथ व्यावसायिक सफलता प्राप्त गर्न दिइरहेका छन् ।
व्यवसायलाई सफल बनाउन दीपक दिनरात नभनी तल्लीन छन् । व्यवसायमा श्रीमतीको भरिलो साथ पाएर दीपक उत्साहित छन् । दीपक भन्छन्, ‘नेताहरू कामै नगर्ने तर विलासी जीवन बिताउने पुँजीवादी प्रवृत्ति देखियो । यस्तो भ्रम चिर्न पनि हामी व्यवसायमा होमिएका हौँ । यसमा हामीले आनन्द महसुस गरिरहेका छौ ।’ ‘हिजो सर्वहारा वर्गको हितका लागि बन्दुक बोक्यौं सफल भयौं । व्यवस्था बदल्यौ । हाम्रो व्यवसायको तीन वर्षे यात्रा निकै सुखद छ । यसको निरन्तरतामा कुनै शंका छैन्,’ उनले भने । आफूले राजनीतिसँगै जीविकोपार्जन र पछिल्लो पुस्तालाई उत्पादनमुखी क्षेत्रमा लाग्ने प्रेरणा मिलोस् भन्नका लागि व्यवसाय सुरु गरेको दीपक दम्पत्ती बताउँछन् ।
राजनीतिलाई उत्पादनसँग पनि जोड्नुपर्छ भन्ने उद्देश्यले पंक्षीपालन व्यवसायमा जोडिएको गौतमको भनाइ छ । अहिले व्यवसायमा आफू सक्रिय रूपमा लागेको र सन्तुष्ट रहेको पनि जानकारी दिइन् । उनी निन्तरको प्रयासपछि आफू व्यवसायमा सफल हुँदै गएको उनीहरूको भनाइ छ । पंक्षीपालनबाट मनग्य आम्दानी भइरहेको छ । हाल फर्ममा साढे दुई सय कालिज पालेका छन् । चारसय वटा खुकुरा छन् । १५० वटा हाँस छन् । यस्तै पछिल्लो समय हिमसार जातको कुखुरासमेत गरी करिब एक हजारभन्दा बढी पंक्षी छन् ।
मासिक सरदर तीसदेखि चालिस हजार रुपैयाँ आम्दानी हुने गरेको गरेको गंगाले बताइन् । अधिकतम् दुईदेखि तीन लाखसम्म पनि कमाइ हुने गरेको छ । फर्म निर्माणका लागि एक करोडभन्दा बढी लगानी भएको छ भने फर्मसात वटा अस्थायी घर छन्, पंक्षी संरक्षणको लागि । एक पटक एक लाख ५० हजार पशु कार्यालयबाट अनुदान लिनुबाहेक अन्य कुनै पनि अनुदान नलिएको दीपक बताउँछन् । अुनदान वास्तविक व्यवसाय तथा किसानमैत्री छैन । पावर र पहुँचका भरमा वितरण हुने अनुदानको उपलब्धि छैन । उनी भन्छन्, ‘अनुदान वास्तविक किसान व्यवसायीका लागि नहुँदा समस्या उत्पादन घट्दो छ । अनुदान बिनै मैले व्यवसाय सुरु गरेको हुँ ।’