तनहुँका ९२ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच
तनहुँ– जिल्लाका ९२.८ प्रतिशत जनसंख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका अनुसार अब ७.२ प्रतिशत जनसंख्यामा खानेपानी पहुँच पुग्न बाँकी छ ।
कार्यालयका इन्जिनियर विनु लोहनीका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै चार हजार ७८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर लोहनीले जानकारी दिइन् । सोही अवधिमा दुई हजार घरधुरीमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार ९९४ घरधुरीमा निजी धारा जडान भएको छ । लोहनीले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार ७८० जना लाभान्वित भएको जानकारी दिइन् ।
त्यस आर्थिक वर्षमा संघीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुन:स्थापनाका लागि दुई करोड ६६ लाख ८० हजार बजेट विनियोजन भएको थियो । जसमध्ये संघीय सरकारबाट हस्तान्तरण भएका योजनातर्फ ८५.९८, प्रादेशिक खानेपानी आयोजनातर्फ ९४.५६, विशेष अनुदान खानेपानी आयोजनाबाट ८९.४ र खानेपानी सेवा विस्तार तथा पुन:स्थापनातर्फ ८४.०६ प्रतिशत प्रगति भएको इन्जिनियर लोहनीको भनाइ छ ।
कार्यालयमा योजनाको संख्याको तुलनामा जनशक्ति अभाव हुँदा समस्या भइरहेको लोहनी बताउँछिन् । १८ जनाको दरबन्दी रहेको कार्यालयमा १२ जना कार्यरत छन् । १२ मध्ये तीनजना करारका हुन् । त्यस्तै खानेपानी आयोजनामा विद्युतीय कार्य सहज नहुनु, वितरण पाइपलाइनको काम ढिला तथा बेवास्ता गर्नु, उपभोक्ता समितिबाट विवाद सिर्जना हुनु, बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट संरचनाको क्षति भए पश्चात् उपभोक्ता समितिको कोष कमजोर भएकाले मर्मत गर्न नसक्नुजस्ता कारणले आयोजना कार्यान्वयनमा समस्या भइरहेको उनको भनाइ छ ।
त्यस आर्थिक वर्षमा न्यून बजेटका कारण म्याग्दे–७ स्थित झाप्रेखोला कैडले खानेपानी योजना, भानु नगरपालिका–२ स्थित भकुन्थोक बेलटार खानेपानी योजना, बन्दीपुर गाउँपालिका–६ स्थित साराङघाट खानेपानी योजना, समादी खानेपानी योजना, व्यास नगरपालिका–११ स्थित केशरी खानेपानी आयोजना र बेल्टारी डिप बोरिङ खानेपानी योजना सञ्चालन गर्न नसकिएको इन्जिनियर लोहनीले बताइन् ।