सी–आस्बाको कार्यान्वयन रसुवागढी र साञ्जेनबाट

सीडीएस एन्ड क्लियरिङ कम्पनीले रसुवागढी र साञ्जेनको साधारण सेयर निष्कासनदेखि सी–आस्बा कार्यान्वयन सुरु गर्ने भएको छ । सीडीएसले मेरो सेयरमार्फत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएको ती कम्पनीको सेयर निष्कासनदेखि सी–आस्बा पूर्ण कार्यान्वयन गर्ने भएको हो ।
धितोपत्रको साधारण निष्कासन थप सहज र व्यवस्थित बनाउनका लागि सी–आस्बा पूर्णरूपमा कार्यान्वयन गरेको छ । केन्द्रीकृत प्रणाली सी–आस्बा शुक्रबारदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भएको हो ।
सी–आस्बाको प्रयोगसँगै झन्झटिलो फारम बोकेर घन्टौंसम्म लाइन बस्नुपर्ने समस्या सी–आस्बाले हट्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । नेप्सेको सहायक कम्पनी सीडीएस एन्ड क्लियरिङले सी–आस्बाको कार्यान्वयनले लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्तादिन मै बाँडफाँड गरी लगानीको प्रतिफल तत्काल प्राप्त गर्ने वातावरण तयार हुने वातावरण बनाएको छ । एक महिना थप गरिएको अवस्थामा सी–आस्बा प्रणालीमा आबद्ध बैंक वित्तीय संस्था तथा लगानीकर्ताको संख्या उत्साहजनक रहेको उनले बताए ।
शुक्रबारदेखि निष्कासन हुने सान्जेन र रसुवागढी हाइड्रो पावर कम्पनीको कर्मचारी सञ्चयकोषका सञ्चयकर्तालाई छुट्याएको सेयरका लागि अनिवार्य रूपमा सी–आस्बामार्फत आवेदन दिन सकिने वातावरण बनाएको हो । सान्जेनले कुल ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर बिक्री गर्न लागेका हुन् । सान्जेनको आईपीओमा कम्पनी र कर्मचारी सञ्चयकोषबीच ऋण सम्झौता भएको ०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको ०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरू र ऋणदाता संस्थाका कर्मचारीहरूले सेयरमा आवेदन दिन सक्नेछन् ।
यसैगरी, रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चयकोषबीच ऋण सम्झौता भएको ०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको ०७४ पुस २० गतेसम्ममा थप भएका सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरू र ऋणदाता संस्थाका कर्मचारीले हाल निष्कासन गर्न लागिएको सेयरमा आवेदन दिन सक्नेछन् । सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानीकोष हो भने रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्बा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।