कोशी प्रदेशमा सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवल
सम्भावनाबाट प्रदेशले अझै फाइदा लिन सकेको छैन
विराटनगर– कोशी प्रदेशमा पर्यटनको प्रचार सम्भावना रहेको छ । कोशी यस्तो प्रदेश हो जहाँ धार्मिक, सांस्कृतिक, जैविक, प्राकृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको देखिन्छ । जहाँ हिमाल, पहाड र तराई तीनै भू–बनोटसमेत रहेको छ । जिल्लागत रूपमै हेर्ने हो भने पनि हरेक जिल्लामा कुनै न कुनै पर्यटकीयस्थल रहेको देखिन्छ । प्रचारप्रसार गर्न सकिए जसले आन्तरिक र बाह्य पर्यटकलाई सजिलै आकर्षित गर्न सक्छ ।
ताप्लेजुङ
ताप्लेजुङ भन्नेबित्तिकै धेरैजसोका आँखामा पाथीभरा मन्दिरको चित्र आउँछ । त्यसैले ताप्लेजुङ धार्मिक पर्यटकका लागि आकर्षक गन्तव्य हो । तीन हजार ९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास छ । त्यसो त विश्वको तेस्रो अग्लो स्थानमा रहेको कञ्चनजंघा हिमाल (८,५८६ मि) पनि धेरैजसो पर्यटकको आकर्षणको केन्द्र बन्छ ।
कतिपयले पाथीभरा मन्दिरबाट कञ्चनजंघालाई आँखाको लेन्समा कैद गर्छन् । ताप्लेजुङमा तिम्बुङपोखरी, फुङफुङे झर्ना, मिल्के जलजले क्षेत्र, सुकेटार क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् भने तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोला पनि यही जिल्लामा पर्छ ।
पाँचथर
पाँचथरमा घुम्नका लागि जिल्ला सदरमुकाम फिदिमदेखि ऐतिहासिक महत्त्व बोकेको हिलिहाँङ दरबारसम्म छन् । काबेली, तिम्बुपोखरी, जोरपोखरी, पानावा झर्ना, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङ, स्वर्गपुरी मन्दिर, लब्रेकुटी, गुरु फाल्गुनन्दलगायत पाँचथरका घुम्न योग्य ठाउँ हुन् ।
इलाम
इलाम भन्नेबित्तिकै मानिसको मनमा चिया बगानको झझल्को आउँछ । कतिपयले त इलामलाई प्रकृतिकी रानी पनि भनेर चिन्छन् । एकैछिनमा कुहिरो लाग्ने, केहीबेरमै घाम लाग्ने र जुनसुकै समयमा पनि चिसो बतास चलिरहनु इलामको विशेषता हो । इलाममा धेरैजसो मानिस सूर्योदय हेर्न जान्छन् । यहाँको श्रीअन्तु डाँडाबाट उदाउँदै गरेको सूर्यको मनोरम दृश्य हेर्नका लागि पर्यटकको भीड लाग्छ ।
यहाँ होमस्टेमा बसेर स्थानीय अर्गानिक परिकारको स्वाद लिन सकिन्छ । श्रीअन्तुको अलावा कन्याम, फिक्कल, पशुपतिनगर, इलाम बजार, सन्दकपुरलगायतका ठाउँ पनि घुम्नका लागि आकर्षक ठाउँ हुन् । त्यसो त दार्जीलिङ जानका लागि पनि यहाँको पशुपतिनगर हुँदै जाने नाका भएका कारण पनि पछिल्लो समय बाह्य पर्यटक पनि बढ्दै गएका छन् ।
संखुवासभा
संखुवासभामा यहाँको सभापोखरी र गुफापोखरीले चर्चित छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज, मिल्केडाँडा पनि संखुवासभाका पर्यटकीय गन्तव्य हुन् । संसारकै होचो अरुण उपत्यका (४५७ मिटर), विश्वको पाँचौं र नेपालको चौथो अग्लो मकालु हिमाल (८,४८१ मिटर) लगायतका हिमशृंखलाका रूपमा प्रसिद्व छ । लालीगुराँससहित धेरै प्रजातिका गुराँस पाइने जलजले क्षेत्र पनि यो जिल्लामा पनि पर्छ । बालेश्वर ऐतिहासिक गुफासहित संखुवासभामा घुम्न लायक प्रशस्तै ठाउँ छन् ।
तेह्रथुम
तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ । तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रका रूपमा प्रसिद्व रहेको तेह्रथुममा २८ प्रजातिका गुराँस पाइन्छन् । नेपालकै अग्लो ह्यात्रुङ झरना (३६५ मि.) उचाइमा छ । यस्तै ढुंगाको बगैँचा, चिचिलिङ पोखरी, वसन्तपुर, सोल्मा चियाबगानले पनि यस जिल्लालाई पर्यटक आउने गन्तव्य बनाएको छ । मेन्छ्यायेम डाँडा र सिमिनाक्सी पाथीभरा तेह्रथुमका धार्मिक पर्यटकीय गन्तव्य हुन् ।
धनकुटा
धेरैजसो मानिसले धनकुटा भन्नेबित्तिकै भेडेटार सम्झन्छन् । २०६७ सालमा अमेरिकी टेलिभिजन च्यानल (सीएनएन) ले विश्वका उत्कृष्ट घुम्न लायक १२ स्थानमा नाम्जेलाई पनि समेटेपछि यहाँ पर्यटकीय गन्तव्य बनेको छ । होमस्टे र अर्गानिक खाना खान पाइने भएकाले पनि नाम्जेमा पर्यटकको चहलपहल बढी हुन्छ ।
सुनसरीसँग सीमा जोडिएको धनकुटास्थित भेडेटार १४ सय ३० मिटर उचाइमा छ । धनकुटा एभोकाडो फलका लागि पनि चर्चित जिल्ला हो । जिल्लाका पाख्रीबास, हिले, धनकुटा बजार, डाँडाबजार, छिन्ताङ, विश्रान्ति मन्दिर, राजारानी, नमस्ने झरना, हलदे पटकेडाँडा पर्यटक ट्रेल आदि पर्यटकीय गन्तव्य हुन् ।
भोजपुर
भोजपुर जिल्ला खुकुरीका लागि प्रसिद्व छ । अहिले पनि कतिपय अन्य ठाउँहरूमा भोजपुरे खुकुरी भनेर खुकुरी बेच्ने गरेको पाइन्छ । भोजपुर प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक रूपमा परिचित जिल्ला हो । ट्याम्केडाँडा, मैयुङडाँडा, साल्पा सिलिचुङ, साल्पापोखरी, षडानन्दको जन्मभूमी दिङ्ला, सिद्धकाली मन्दिर, नागछाँगा, बैकुण्ठे, हतुवागढी आदि भोजपुरका पर्यटकीय गन्तव्य हुन् । पछिल्लो समय भोजपुरमा ट्याम्केडाँडा (मुन्धुम ट्रेल) धेरैको रोजाइको विषय बनेको छ ।
खोटाङ
खोटाङ भन्नेबित्तिकै धेरैजसोले धार्मिक पर्यटकीय गन्तव्य हलेसी महादेवलाई स्मरण गर्छन् । भ्वाङ बनाएर विराजमान भगवान् शंकर र अन्य देवीदेवताको अवस्थितिले हलेसी पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्छ । खोटाङ र ओखलढुंगालाई छुट्याएको दूधकोशी नदीमा स्नान गरेर हलेसीको दर्शन गर्दा भाकल गरेका कुरा पुग्ने धेरैजसोको विश्वास छ । हलेसीका अलावा बराहपोखरी, हलेसीमलाथुम्की, तुवाचुङ जायजुम, मुढेडाँडा, रुपाकोटडाँडा, मझुवागढी, ताराखसेडाँडा र सहदेउ गढी, खोटाङ बजार, दिक्तेल आदि पर्यटकीय गन्तव्य हुन् ।
उदयपुर
उदयपुर देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वको ‘उदयपुर सिमेन्ट उद्योग’ का कारण प्रख्यात छ । जाल्पादेवी, लिम्पाटार, रौतापोखरी, चित्रेथाम, चौदण्डीगढी, उदयपुरगढी, ताप्ली पोखरी, मैनामैनी, कोशी टप्पु वन्यजन्तु आरक्ष, झिल्केपोखरी, सुकेपोखरी, थानापोखरी बेलका लगायत जिल्लाका पर्यटकीय गन्तव्य हुन् ।
सुनसरी
सुनसरी कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र भएकाले चर्चित छ । यहाँ धार्मिक पर्यटकका लागि बराहक्षेत्र, धरानको बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिर, शिवजट्टा, रामधुनी, विष्णुपादुका चताराधामका कारण पनि प्रख्यात छ । सप्तकोशी नदी पनि यही जिल्ला हुँदै बग्ने भएका कारण पनि धेरैजसोको पर्यटकीय गन्तव्य सुनसरी हुनसक्छ । सप्तकोशीमा जेटबोट चढेर त्रिवेणीदेखि भोजपुरसम्म पुग्न सकिन्छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा चराका लागि उचित बासस्थान हो । यस्तै, अर्ना, जंगली हात्तीलगायतका अन्य विभिन्न वन्यजन्तु नियाल्न पाइने भएकाले सुनसरीको कोशीटप्पु आकर्षक गन्तव्य हो । सुनसरीमा विभिन्न मूर्तिहरूले भरिपूर्ण इटहरीको तालतलैया पनि अर्को आकर्षक गन्तव्य हो । यस्तै, विभिन्न ताल, पोखरी, बर्जु तथा धरानको चिण्डेडाँडा पनि यहाँको घुम्न लायक अर्को गन्तव्य हो ।
मोरङ
कोशी प्रदेशको एउटै मात्र महानगर रहेको मोरङमा विराटनगर महानगरपालिका छ । औद्योगिक सहरका रूपमा परिचित रहेको विराटनगरमा विभिन्न ठाउँमा अवलोकन गर्न सकिन्छ । मोरङको कर्णाली भनेर चिनिँदै आएको जेफाले पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो । जेफालेडाँडाबाट विभिन्न जिल्ला अवलोकन गर्न सकिन्छ ।
केराबारी, मिक्लाजुङ डाँडा, बेलबारीको बेतना सिमसार, बेतिनी सिमसार, सुन्दरहरैँचाका विभिन्न पार्क, धनपालगढी पर्यटकीय क्षेत्र यहाँका लागि अर्को आकर्षणका गन्तव्य हुन् । विराटराजाको दरबार आन्तरिक मात्रै होइन बाह्य पर्यटकलाई लोभ्याउने गन्तव्य हो ।
झापा
घना बस्ती भएको झापा जिल्ला ‘धान उत्पादनको राजधानी’ मानिन्छ । झापामा नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल छ । विर्तामोड पछिल्लो समय तीव्र सहरीकरण हुँदै गएकाले कोशीकै मुख्य व्यापारिक केन्द्रसमेत बन्दै गएको छ । झापामा अर्जुनधारा, सतासीधाम कन्काईमाई, समयगढ, चिल्लागढ, चन्द्रगढी, कृष्णथुम्की, जामुनखाडी सिमसार क्षेत्र, शहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, अर्जुनधारा पर्यटकीय क्षेत्र आदि घुम्न लायक ठाउँ हुन् ।
ओखलढुंगा
ओखलढुंगा जिल्ला युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो हो । साहित्यका लागि उर्वर भूमि ओखलढुंगा विविधताले भरिपूर्ण छ । मल्लकालीन समयमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई यस भेगमा पठाएका थिए । उनको फौजले किराँतलाई लखेटी लुटेको धान यहाँको ठूलो ढुंगाको ओखलमा कुटेर खाएकाले त्यही ओखलका नामबाट यस ठाउँको नाम ओखलढुंगा रहन गएको इतिहासमा पढ्न पाइन्छ । उक्त ओखल रहेको ढुंगा परिसरमा सिद्धिचरण श्रेष्ठको पार्कसमेत बनाइएको छ । ओखलढुंगामा रुम्जाटारले पनि परिचित छ । ओखलढुंगामा थोलेदम्बाडाँडा पनि पर्यटनको दृष्टिले अब्बल मानिन्छ ।
सोलुखुम्बु
विश्वकै सर्वोच्च शिखर सगरमाथा सोलुखुम्बुमा अवस्थित छ । हिमाली भेगको यात्रा गर्न चाहनेको पहिलो गन्तव्य नै सोलुखुम्बु हुने गरेको छ । ८८४८.८६ मिटर उचाइमा रहेको सगरमाथासहित अन्य विभिन्न हिमाल यो जिल्लामा छन् । हिमाल चढ्ने मात्रै होइन, हिमालको बेसक्याम पुग्नेहरूका लागि पनि सोलुखुम्बु आकर्षक गन्तव्य मानिन्छ । लुक्ला विमानस्थल पनि यहाँको चर्चित ठाउँ हो ।
नाम्चेबजारका कारण पनि सोलुखुम्बु पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । त्यसको अलावा दूधकुण्ड पोखरी, साल्पा पाँचपोखरी, लामाजुरा, पत्तालेडाँडा यहाँका चर्चित ठाउँ हुन् । विदेशी पर्यटकहरूका लागि पनि घुम्ने पहिलो गन्तव्य सोलुखुम्बु हो । कोशी प्रदेशमा उल्लेखित स्थलबाहेक अन्य दर्जनौं पर्यटकीय क्षेत्र भए पनि यसको प्रचारको अभाव र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण बनाउन नसकिएको स्वयम् पर्यटन व्यवसायीहरू स्वीकार गर्छन् ।
पर्यटनको अब्बल क्षेत्र मानिने कोशीमा प्रचार गरी पर्यटक भित्र्याउनका निम्ति प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायी तथा सम्बन्धित पक्षले दर्बिलोगरी समन्वयकारी भूमिकासहित काम गर्न आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटक समितिका संयोजक भविसकुमार श्रेष्ठ बताउँछन् ।
‘हरेक जिल्लामा कुनै न कुनै गन्तव्य छ जसको प्रचारप्रसार हुन सकेको छैन,’ उनले थपे, ‘हाम्रो पर्यटनको बजार भनेको भारत नै हो । त्यहाँसम्म पुगेर सरकारले प्रचार गरिदिनुपर्छ ।’ पछिल्लो समय कोशी प्रदेशमा पर्यटन क्षेत्रमा आक्रमक लगानी भइरहेको श्रेष्ठको भनाइ छ । विभिन्न स्थानमा स्तरीय होटलसँगै साहसिक पर्यटनमा लगानी गर्नेहरू बढ्दै गएको उनले बताए ।