धार्मिक पर्यटनको केन्द्र बन्दै उत्तरगयाधाम

रसुवा– हिन्दु धर्ममा आस्था र विश्वास राख्नेहरुले संसारका चार धाममध्येको एक धाम हो बेत्रावती । पछिल्लो समय धार्मिक तथा पर्यटनका हिसाबले धेरै स्थानमा विकास भइरहेका छन् । वेत्रावतीलाई पनि ऐतिहासिक धार्मिक तथा सांस्कृति र पर्यटकीय हिसावले विकास गर्न सके यस क्षेत्रको आर्थिक, सामाजिक विकास हुनेमा दुई मत रहँदैन ।
रसुवा र नुवाकोटको सीमा तथा व्यापारिक केन्द्रका रूपमा रहेकाले यहाँ धेरै मानिसको आवतजावत हुने गर्छ । सोही मार्ग हुँदै गोसाइकुण्ड मेला भर्न जाने धार्मिक पर्यटकाले पनि यस क्षेत्रको अवलोकन गर्नेछन् । सन् १८४९ मा भएको नेपाल–चीन युद्धपछि यहाँ दुई देशबीच सन्धि गरिएको थियो । दोस्रोपटक भएको युद्धमा नेपाली र चिनियाँ फौजबीच यहाँ घमासान लडाइँ भएको थियो ।
करिब एक हजार दुई सय चिनियाँ फौज यहाँ मारिएका थिए । युद्धबाट हारेर कतिपय चिनियाँ फौजले त्रिशूली नदीमा हामफालेर देह त्याग गरेका थिए भने तीन सय नेपाली फौजले वीरगति प्राप्त गरेका थिए । त्यही सन्धिका कारण बेत्रावती दुई देशबीचको सिमाना हुन पुग्यो । तेस्रोपटक भएको युद्धबाट मात्र रसुवागढी सिमाना बन्न पुगेको इतिहास छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० को सिमानामा रहेको वेत्रावती ऐतिहासिक र धार्मिक हिसावले महत्त्वपूर्ण रहेपनि आन्तरिक पर्यटक न्यून आउने गर्छन् । रसुवाको प्रवेशद्वार वेत्रावती ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । वेत्रावतीलाई उत्तरगयाधामका नामले पनि चिनिन्छ ।
यसका आसपासका अधिकांश हिन्दु धर्म संस्कारका मानिसहरुको मृत्यु पश्चात् दाहसंस्कार यहीँ गरिन्छ । दिवङ्गत पितृको मोक्ष प्राप्तिका लागि हिन्दु धर्मावलम्बीहरु श्राद्ध गर्न आउने गर्छन् । धार्मिक कार्य तथा स्नान, जप, ध्यान र श्रद्धा गर्दा मानिसको जीवन सफल भई मृत्युपछि सीधै कैलाश पद पाउने र दिवंगत पितृको मोक्ष हुने जनविश्वास छ ।
हिन्दु धर्मावलवीहरु नेपालका विभिन्न जिल्ला र भारतसहितका अरु देशबाट विशेषगरी पौसेऔंसीका दिन पितृको श्राद्ध गर्न आउनेको घुइँचो लाग्ने गर्दछ । असामयिक निधन वा दुर्घटनामा परी मरेका पुर्खाका नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रहि आएको छ । यहाँ रामनवमी, ठूलो एकादशी, गाईजात्रा, माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन पनि विशेष मेला लाग्ने गर्छ ।
पछिल्लो समय धार्मिक पर्यटनको केन्द्रको रुपमा विकास हुँदैछ । यहाँका राम–लक्ष्मण–सीता–हनुमान मन्दिर, त्रिवेणीधाम, उत्तरगया, माघे संक्रान्तिको गोरुजुधाई, गाईजात्रा, रामनवमी र एकादशीजस्ता पर्व, जात्रा र उत्सवको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गर्न सके वेत्रावती र यसका आसपासमा पर्यटन विकास भई यस क्षेत्रका जनताको आर्थिक तथा सामाजिक विकास हुने छ ।
उत्तरगया बृहत्तर क्षेत्र विकास समिति बनाउन विगतदेखि पहल गरिरहेको स्थानीय समाजसेवी ईश्वरलाल श्रेष्ठले बताए । उनका अनुसार गुरुयोजनाका साथ उत्तरगयाको विकास गर्न रसुवा र नुवाकोटका जनप्रतिनिधिसँग समन्वय र पहल भइरहेको छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले समग्र उत्तरगया तथा वेत्रावती क्षेत्रको गुरुयोजना बनाएर पूर्वाधार विकास गर्न रसुवा–नुवाकोटका स्थानीयसँग छलफल गरी त्रिशूली र फलाँखु नदीमा तटबन्ध निर्माण भइरहेको बताए ।
विदुर–१० का वडाध्यक्ष गणेशकुमार नेपालले उत्तरगयाको समग्र विकासका लागि बर्सेनि बजेट छुट्याइएको र नपुग बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग माग गरिएको बताए । उनका अनुसार वेत्रावतीका युवासँग समन्वय गरेर गोरुजुधाई पर्व, ठूलो एकादशी मेला, पौसेऔंसीको पितृतर्पण (श्राद्ध) गर्नेलगायत मेला, पर्वको संरक्षण र प्रचारप्रसारमा सहयोग गरिरहेको वडाध्यक्ष नेपालले बताए ।