Logo

गलेश्वर मन्दिरमा १५ लाख भेटी संकलन

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा एक महिनामा १५ लाख १० हजार भेटी संकलन भएको छ ।

साउनका चार वटा सोमबारमा गलेश्वर शिवालमया दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी सो रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए ।

साउनको अन्तिम सोमबार मात्रै चार लाख ३५ हजार भेटी रकम संकलन भएको थियो । त्यसैगरि पहिलो सोमबार तीन लाख ७२ हजार, दोस्रो सोमबार तीन लाख ३६ हजार र तेस्रो सोमबार तीन लाख ६६ हजार भेटी संकलन भएको कोषले जनाएको छ ।

श्रद्धालुले चढाएको भेटी कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाको रोहोवरमा गणना गरेर बैंकमा जम्मा गरिएको कोषका अध्यक्ष रेग्मीले बताए ।

शिवालयमा संकलन हुने भेटी रकमलाई आवश्यकता अनुसार धार्मिक संरचना र पूर्वाधार निर्माण तथा कोषको नियमित सञ्चालनमा उपयोग गरिँदै आएको छ ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टान माथि अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मिक शास्त्रहरुमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्