घनपोखरा होमस्टे व्यवस्थित बनाइने

लमजुङ– लमजुङको सर्वाधिक उचाईमा रहेको घनपोखरा गाउँमा व्यावसायिक होमस्टे व्यवस्थापनका विषयमा जनप्रतिनिधीसहित छलफल भएको छ । मस्र्याङदी गाउँपालिका–१ मा पर्ने ऐतिहासिक एवं पर्यटकीय होमस्टे गाउँ घनपोखरालाई थप व्यवस्थित गर्न स्थानीय र जनप्रतिनिधीबीच छलफल भएको हो ।
मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमूख प्रशासकिय अधिकृत अर्जुन चपाई, वडा अध्यक्ष रुद्रमान गुरुङसहित स्थानीयले होमस्टे व्यवस्थापनका विषयमा छलफल गरेका हुन् । जिल्लाकै सबैभन्दा उचाईमा रहेको घनपोखरामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक बढ्दै गइरहेको अवस्थामा होमस्टेलाई अझै व्यवस्थीत बनाई स्थानीयको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित छलफल गरिएको मस्र्याङदी गाउँपालिकाले जनाएको छ ।
होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि आवश्यक संरचना तथा पूर्वाधारको निर्माण, स्थानियलाई आवश्यक क्षमता अभिवृद्धि तालिम एवं त्यसका लागि गाउँपालिकाले गर्नसक्ने सहयोग र स्थानीयको दायित्वका विषयमा छलफल भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । मनमोहक प्राकृतिक छटा र गुरुङ संस्कृतिमा निकै धनी रहेको घनपोखरामा विगतका वर्षदेखि नै नौवटा घरमा व्यवसायिक होमस्टे सुरु भएको छ ।
व्यवसायिक पर्यटन प्रवर्द्धनसँगै होमस्टे संरचना, गाउँसम्मको गोरेटो बाटो, खानेपानी लगायतका पूर्वाधार निर्माणमा अझै केहि सुधार गर्न आवश्यक रहेको स्थानियले बताएका छन् । घनपोखरामा व्यवसायिक होमस्टे सुरु नहुँदै पनि फाट्टफुट्ट आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका थिए । दक्षिण एशियाकै नमूना घलेगाउँ पुगेका पर्यटकहरु दृष्यावलोकनका लागि घनपोखरासम्म पुग्ने गर्दथे । तर पछिल्लो समय होमस्टेमा बास बस्ने गरी दैनिक पर्यटकहरुको आगमन हुन थालेपछि स्थानीयले व्यावसायिक होमस्टेलाई थप व्यवस्थीत बनाउन थालेका हुन् ।
पर्यटकहरुको आगमन बढेसँगै होमस्टेलाई थप व्यवस्थीत बनाउन स्थानिय आमा समूहहरु सामूहिक रुपमै सक्रिय हुँदै आएका छन् । घनपोखरा गाउँबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण हिमशृंखला लगायत दर्जनौ हिमाल, मस्र्याङ्दी, मिदिम र खुदीखोलाको नागबेली दृष्य, गुरुङहरुको संस्कृति र ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्न सकिन्छ । स्थानीयको सक्रियतासँगै सरोकारवालाहरुले प्रवर्द्धनमा सहयोग गरेमा घनपोखरा पनि नेपालको उत्कृष्ट गन्तव्यको रुपमा आउने सरोकारवालाहरुको विश्वास छ ।