Logo

झापामा व्यक्तिगत पान लिने बढे

बिर्तामोड– झापामा पछिल्लो समय व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेहरुको संख्यामा वृद्धि भएको छ । पारिश्रमिक भुक्तानीसहितमा पान नम्बर अनिवार्य गरिएसँगै झापामा पछिल्लो समय पान लिनेहरुको संख्यामा बृद्धि भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार सात सय जनाले व्यक्तिगत पान नम्बर लिएको उनले बताए । त्यस्तै आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर पान लिनेको संख्या कुल ९६ हजार चार सय १५ जना पुगेको काफ्लेले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० सम्ममा ८१ हजार सात सय १५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर पान लिएकोमा गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार सात सय जनाले व्यक्तिगत पान नम्बर लिएको उनले बताए । गत आर्थिक वर्ष २०८०/०८१ मा आयकर, मूल्य अभिवृद्धि कर भ्याट, अन्तशुल्क, अग्रिम कर कट्टी र व्यक्तिगत पान लिने १९ हजार छ सय ६२ जना नयाँ करदाता थपिएको उनले बताए ।

आर्थिक वर्ष २०७९/८० सम्म यो संख्या एक लाख ३८ हजार चार सय ३६ रहेकोमा एक वर्षमा नयाँ थपिएका करदातासहित कुल एक लाख ५३ हजार नौ सय ३९ जना करदाता रहेको उनको भनाई छ । गत आर्थिक वर्षमा अग्रिम कर कट्टी गर्ने २२ वटा निकायले मात्र स्थायी लेखा नम्बर लिएको बताउँदै काफ्लेले आर्थिक वर्ष २०७९/०८० सम्म तीन सय १४ रहेकोमा थपिएकासहित तीन सय ३६ रहेको जानकारी दिए । त्यसैगरी मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या छ हजार तीन सय ३३ पुगेको काफ्लेले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/०८१ मा चार सय ३६ जना मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता भएको र आर्थिक वर्ष २०७९/०८० सम्म पाच हजार आठसय ९७ रहेको उनले बताए । अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या भने तीन हजार नौसय २९ पुगेको र गत आर्थिक वर्षमा एकसय ९६ करदाता अन्त:शुल्कमा दर्ता भएको उनले बताए । सबैभन्दा बढि आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता रहेको काफ्लेले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/०८१ मा थपिएका कुल दुई हजार दुईसय २८ र यस आर्थिक वर्षअघि सम्मका कुल ४४ हजार छ सय ९८ सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा आयकरतर्फ ४६ हजार नौसय २६ जना करदाता पुगेको उनको भनाई छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्र अन्तर्गत झापाका मेचीनगर, भद्रपुर, विर्तामोड, कन्काई र अर्जुनधारा नगरपालिका र बाह्दशी, बुद्धशान्ति, कचनकवल, झापा र हल्दीबारी गाउँ पालिका रहेको छ ।

कोशी प्रदेशका झापा, इलाम, पाचथर र ताप्लेजुङ्गगरी चारवटा जिल्लाका ठूला करदाताहरुलाई भद्रपुर कार्यालयले सेवा प्रवाह गर्ने गरेको छ । करचुक्ता प्रमाण पत्र प्रदान गर्ने, विभिन्न प्रकारका कर संकलन गर्नेलगायतका काम सेवा केन्द्रले गरे पनि ठूल्ठूला मुद्धा मामिला आए आन्तरिक राजस्व कार्यालय भद्रपुरले गर्ने प्रमुख कर अधिकृत काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्