निजी क्षेत्रमैत्री वातावरण बनाउन सांसदहरुको प्रतिवद्धता

काठमाडौं– संघीय संसद्को दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा सहयोग रहने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उपस्थित एक सयभन्दा बढी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको बताए । उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको दाबी गरे । अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने बताए । सरकारले बनाउने कुनै पनि कानुन एकोहारो ढंगले लाद्ने क्रममा नरहेको उनले जानकारी दिए ।
महासंघले संसद्मा विचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रुपमा उद्यमी–व्यवसायीका सुझाव प्रस्तुत गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका कानुन संशोधनले वातावरण तयार पारेको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योग दर्ता हुने क्रम बढेको जानकारी दिए । पहिले निजी क्षेत्र बजेटमा सुझाव दिनेमात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झकझक्याइरहेको उनले बताए ।
ऊर्जामन्त्री दीपक खड्काले संसद्मा विचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको बताए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइन लगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको जानकारी दिए ।
संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक तथा वित्तीय संस्थासम्बन्धी लगायतका कानुनमा छलफल भइरहेको बताउँदै यसमा बृहत् छलफल गरी निर्णय गरिने जानकारी दिए ।
राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताइन् ।
नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आफ्नो पार्टी सधैं तयार रहेको धारणा राखे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले परम्परागत रुपमै उद्यमी–व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको बताए । निजी क्षेत्रलाई काम गर्ने वतावरण बनाउन मर्यादाक्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्ने उनले सुझाव दिए ।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त देखिसकिएको बताउँदै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने धारणा राखे । लगानी र उत्पादन निरुत्साहित हुने कानुन नबनोस् भनेर कार्यक्रम आयोजना गरी सुधारको पहल गरिएको उनले बताए ।