Logo

राष्ट्रियसभाको अर्को बैठक बिहीबार

‘टिआरसी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

फाइल तस्बिर ।

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

आइतबार बसेको सभाको बैठकले ”प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको हो ।

सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको विधेयकमाथि राष्ट्रियसभा सदस्यहरुले छलफल गरेका थिए । छलफलसँगै कानूनमन्त्री चौरसियाले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिए । लगत्तै सभामा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

”प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यहरुले राष्ट्रियसभा अन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न आग्रह गरे ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते बिहीबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्