Logo

पोखरा–मुग्लिङ सडक

पश्चिम खण्डमा दुई लेनको २० किमि कालोपत्रे

पोखरा– वर्षामा पनि पोखरा–मुग्लिङ सडक स्तरोन्नतिको काम जारी छ । उक्त सडक खण्डमा नालादेखि पुल र वाल बनाउने काम जारी रहेको मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर नारायण पौड्यालले बताए ।

उक्त रूटमा दुई हजार दुई सयवटा बिद्युत पोल हटाउनुपर्नेमा हालसम्म करिब ५० प्रतिशत अझै हटाउनु पर्ने रहेको उनले जनाए । पोलहरू जहाँजहाँ खाली गराइएको छ त्यहींबाट काम सुरु गरिएको बताउँदै इन्जिनियर पौड्यालले लेखनाथ खानेपानी आयोजनाको करिब १० किलोमिटर क्षेत्रमा समस्या रहेको उल्लेख गरे ।

मुग्लिङ–पोखरा सडक आयोजना अन्तर्गत (पश्चिम खण्ड) मा ३० प्रतिशतमात्र सडक स्तरोन्नतिको कार्य सम्पन्न भएको उनले बताए । हालसम्म मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत (पश्चिमखण्ड) मा ३० प्रतिशत प्रगतिले दुई लेनको २० किलोमिटर पिच सडक स्तरोन्नति भएको इन्जिनियर पौड्यालले जनाए । उक्त सडक खण्डमा एकतर्फी १६ किलोमिटर, तीन किलोमिटर चार लेनमा सडक स्तरोन्नति भएको छ ।

पोखरादेखि जामुनेसम्मको करिब ३९ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत उक्त सडकमा १३ वटा पुल निर्माण हुनुपर्ने उनले बताए । जसमध्ये आठवटा पुल निर्माणको अन्तिम चरणमा पुगेको बताउँदै इन्जिनियर पौड्यालले पोखराको विजयपुर र लामटारी पुलको काम हाल निर्माण कार्य अघि नबढेको बताए । उक्त रुटमा पर्ने बाँकी दुई पुलको निर्माण कार्य सुरु भएको कार्यालयले जनाएको छ ।

आठवटा पुलको करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको इन्जिनियर पौड्यालले दाबी गरे । फेदीखोला र म्याग्दी खोलाका दुई पुल पूर्ण रूपमा सञ्चालना आएको कार्यालयले जनाएको छ । १८ किलोमिटर नालाको निर्माणकार्य सम्पन्न भएको बताउँदै इन्जिनियर पौड्यालले अन्य नाला निर्माणकार्य जारी रहेको उल्लेख गरे । उक्त परियोजनामा घर तथा टहरा भत्काउँदा प्रदान गरिने राहत स्वरुपको १४ करोड क्षतिपूर्ति रकममध्ये हालसम्म ११ करोड वितरण गरिएको कार्यालयले जनाएको छ ।

उक्त परियोजनामा करिब ५५० घर तथा टहरा भत्काउनु पर्ने उल्लेख गरिएकोमा कास्की र तनहुँमा केही घर परिवारले क्षतिपूर्ति नलगेको इन्जिनियर पौड्यालले बताए । कास्की क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम केही समय पश्चात अघि बढाउने योजनामा रहेको उनले जनाए । उक्त सडक खण्डअन्तर्गत पूर्वीखण्डमा पर्ने आँबुखैरेनी–जामुने ४१ किलोमिटरको सडक विस्तार कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–आबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नतिको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ भने एसियाली विकास बैंक (एडीबी)को ऋणमा बन्न लागेको यो सडकको स्तरोन्नतिका लागि आयोजनाले सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्