Logo

कालिगण्डकी करिडोर

छुसाङ–चैले खण्डकाे पाँच किमि सडक स्तरोन्नति

म्याग्दी– कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरलाअन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नति भएको छ । वारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि चैलेसम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय अगावै काम सम्पन्न गरेको हो ।

२०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईले बताए । सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङस्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ/डीएस बिल्डर्स/युनाइटेड जेभी कन्स्ट्रक्सनले चार करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौताअघि नै काम सकेर अन्तिम किस्ता भुक्तानी मागेपछि प्राविधिक नापजाँच र मूल्यांकन गरी ठेक्का टुंग्याउने प्रक्रिया अघि बढाएको इन्जिनियर चापागाईंले बताए । मुस्ताङको प्रतिकूल भूगोल, मौसम र आर्थिक मन्दिको असहज अवस्थाका बावजुुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको छ । गत असारमै अधिकांश काम सकिएको भए पनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधि एक महिनापछि धकेलिएको थियो ।

छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालिगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावीयन पर्खाल बनाएर संरक्षण गरिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीयस्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजीकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।

चिमखोलामा स्वास्थ्य चौकी भवन
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगंगा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७८/०७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले भवन बनाउन निर्माण कम्पनीले ९७ लाख ७१ हजारमा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/०७९ मा ६९ लाख ५६ हजारमा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।

पछिल्लो पटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत पानी जडानको काम भएको निर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए । भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको १० लाख र रघुगंगा गाउँपालिकाको १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो ।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगंगा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ । यसअघि गत वर्ष रघुगंगा–४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगंगाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्