Logo

अलपत्र महिला कार्यालय भवनको काम पुन: सुरु

तनहुँ– तनहुँको व्यास नगरपालिका–३ मा विगत सात वर्षदेखि अलपत्र अवस्थामा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भवनको काम पुन: सुरु भएको छ । संघीयता कार्यान्वयनसँगै उक्त कार्यालय खारेज भएपछि निर्माणाधीन भवनको काम रोकिएको थियो ।

अहिले सामाजिक विकास विकास कार्यालय तनहुँले उक्त भवन प्रयोग गर्ने गरी भवनको काम सम्पन्न गराउन पुन: काम सुरु भएको छ । भवनको बाँकी काम सम्पन्न गर्नका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले ६५ लाख बजेट विनियोजन गरेको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले जानकारी दिए । असोज मसान्तसम्म म्याद थप गरी निर्माण व्यवसायीलाई काममा परिचालन गराइएको सुवेदीले जानकारी दिए ।

तत्कालीन अवस्थामा गीता मना जेभीले यो भवनको काम गरेको थियो । सार्वजनिक खरिद नियमावलीको संशोधित प्रावधानअनुसार पुरानै ठेक्कामा म्याद थप गरी भवन निर्माण सम्पन्न गराउन लागिएको सुवेदीले जानकारी दिए । उनले भने, ‘यसमा नयाँ ठेक्का गरिएको होइन । साविककै ठेकेदार कम्पनीलाई असोज मसान्तसम्म म्याद थप गरिएको हो । दसैं अगाडि नै काम सम्पन्न गराउँछु भनेर ठेकेदारबाट प्रतिबद्धता आएको छ ।’

भवनको काम सम्पन्न भएपछि सामाजिक विकास कार्यालयको भवन यहीँ सर्ने सुवेदीले बताए । हाल शिक्षा विकास तथा समन्वय इकाईको भवनमा दुईवटा कोठामा कार्यालय सञ्चालनमा छ । दुईवटा कोठामा काम गर्नुपर्दा समस्या भइरहेको उनको भनाइ छ । उनले भने, ‘निर्माणाधीन भवनमा पर्याप्त कोठा छन् । त्यहाँ सरेपछि कार्यालयको सेवा प्रवाहमा सहजता आउनेछ ।’

तत्कालीन महिला विकास कार्यालयको भवन लामो समयसम्म अलपत्र परेपछि संघीय सरकारको मन्त्रिपरिषद् बैठकले उक्त भवन गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबीच भएको सम्झौताबमोजिम उक्त भवनको हकभोग अधिकार प्रदेश सरकार मातहत आएको थियो ।

प्रदेश सरकारले सामाजिक विकास कार्यालयको जिल्लामा भवन नभएकाले सो भवन सम्पन्न गराएर कार्यालय सञ्चालन गर्न लागेको सुवेदीले बताए । हाल भवनमा विद्युतीकरण र ग्रिलको काम भइरहेको सुवेदीको भनाइ छ । नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल पाँचजना कर्मचारी कार्यरत छन् । कार्यालयमा अधिकृतस्तर सातौं एक, सहायक अधिकृतस्तर एक, इन्जिनियर एक र कार्यालय सहयोगी दुई कार्यरत छन् ।

कार्यालयले आर्थिक वर्ष २०८०/०८१ चालुतर्फ एक करोड ७२ लाख बजेटमध्ये एक करोड ११ लाख खर्च गरेको छ । त्यस्तै पुँजीगततर्फ ६ करोड आठ लाखमध्ये चार करोड ३६ लाख ९९ हजार खर्च गरेको छ । कार्यालयले त्यस अवधिमा पुँजीगततर्फ ४१ मध्ये ३३ वटा योजनाको काम सम्पन्न गरेको छ । जसमध्ये प्रदेशतर्फ कुल ३७ योजनामा ३० वटा योजनाको काम सकिएको छ । संघतर्फ कुल चार योजनामध्ये तीनवटा योजनाको काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्