Logo

लमजुङ अस्पतालबाट पाँच करोड फिर्ता

लमजुङ– सदरमुकाम बेसीसहरस्थित लमजुङ अस्पतालबाट गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा आएको रकममध्ये करिव पाँच करोड रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । अस्पतालका लागि संघीय सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित चार करोड ७४ लाख ५९ हजार रुपैया खर्च हुन नसकी फिर्ता भएको हो ।

लमजुङ अस्पतालका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्यसम्बन्धी विभिन्न शीर्षकमा संघ सरकारबाट मात्रै आएको ८८ लाख १० हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । सो बजेटअन्तर्गत गत आर्थिक वर्षमा परिवार कल्याण कार्यक्रमका लागि एक करोड ७० लाख ९८ हजार रुपैयाँ आएकोमा ६४ लाख ८३ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि १९ लाख ७९ हजार रुपैयाँ आएकोमा १० लाख ३२ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । त्यसैगरी संघीय सरकारबाट महामारी रोग नियन्त्रणका लागि चारलाख पाँच हजार रुपैया आएकोमा सो रकममा एक रुपैयाँ पनि खर्च हुन नसकी सबै रकम फिर्ता भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालमा गत आर्थिक वर्षमा उपचारात्मक सेवाका कार्यक्रमका लागि ६ लाख ५० हजार आएकोमा १९ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । गत आर्थिक वर्षमा नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० लाख रुपैयाँ आएकोमा आठ लाख २९ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ भने एड्स तथा यौन रोग शीर्षकमा पाँच लाख २१ हजार रुपैयाँ बजेट आएकोमा ३९ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ ।

अस्पतालका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट अस्पतालहरू शीर्षकमा एक करोड ३५ लाख रुपैयाँ विनियोजन भएकोमा सोमध्ये ५६ लाख ८६ हजार रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको छ । सोही शीर्षकमा प्रदेश सरकारबाटै आएको थप सात करोड ९० लाखमध्ये पनि तीन करोड २९ लाख रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको लमजुङ अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्