स्थानीय तहमा गुरुयोजना नै बन्न सकेन

म्याग्दी- एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीले स्थानीय स्रोतसाधनबाटै समृद्धिका लागि दिगो योजनासहित अघि बढ्न सकेको छैन । स्थानीय स्रोत र साधनको उपयोगमार्फत विकास र समृद्धि हासिल गर्ने योजना बनाएका पालिकाले कृषि, पर्यटन, जलविद्युत् र खानी उत्खनन्लाई दिगो रूपमा प्रयोगमा ल्याउने गुरुयोजना बनाएका छैनन् ।
युवालाई रोजगार सिर्जना गर्नेे कृषि र पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन स्थानीय सरकारले आवश्यक तालिम, प्राविधिक सेवा र अनुदानका कार्यक्रमलाई सामूहिक योजनाको रूपमा अगाडि बढाउनुपर्छ । भूगोलअनुसार रोजगार तर्था उत्पादन वृद्धि गर्ने ब्यावहारिक शिक्षाको अभावले स्थानीय स्रोतसाधन ओझेलमा परेको रघुगंगा विद्यार्थी मञ्चका अध्यक्ष सागर खत्रीले बताए । स्थानीय स्रोतसाधनको वृद्धि र युवालाई गाउँमै कृषि, पशुपालनलगायतमा आकर्षित गर्न प्राविधिक तथा ब्यावहारिक शिक्षामा स्थानीय तहले लगानी बढाउनुपर्ने अध्यक्ष खत्रीले बताए ।
कृषि क्षेत्रमा लागेका ग्रामीण भेगका कृषकलाई सडक पहुँच, कृषि प्राविधिक, पशु विज्ञ, डाक्टर भएको स्वास्थ्य चौकी, खेलकुद, परम्परागत खेती परिवर्तन गर्ने प्रविधिमा स्थानीय तहको सरकारले ध्यान दिनुपर्ने राखु भगवतीका ब्यावसायिक सुन्तला कृषक बालकृष्ण कटुवालले बताए । पर्यटन, कृषि, जलविद्युत्, खानी, कलासंस्कृति, प्राकृतिक सम्पदाको उत्थान गर्न तीन तहको सरकारले गुरुयोजनासहित लगानी गर्न जोडदिएमा युवालाई रोजगारी सिर्जना भई आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनले ग्रामीण भेगका मानिसले होमस्टे सञ्चालनबाट मनग्य आम्दानी गर्न सकिने केसीले बताए । स्थानीय तहले स्थानीय उत्पादनमा जोड दिने कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए ।
धौलागिरि हिमाल (८,१६७ मिटर) अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी लगायतका दर्जनौं हिमाल छ । हिमालपारिको जिल्ला मुस्ताङको प्रवेशद्वारको रूपमा समेत रहेको म्याग्दीमा हिमालसँगै अग्ला झरना, ताल तलैया, धार्मिक र ऐतिहासिक सम्पदा पर्यटकहरूको आकर्षण हुन् । तर यसबाट विदेश पलायन हुन लागेका युवालाई रोकेर रोजगार सिर्जना गर्ने गुरु योजना स्थानीय तहले बनाउन सकेका छैनन् ।
पर्यटकको आकर्षण केन्द्रमा राउण्ड धौलागिरी, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि लगायतका पदमार्ग रहे पनि प्रभावकारी रूपमा दिगो योजनासहित भौतिक पूर्वाधार बन्न नसक्दा ग्रामीण भेगका जनताले स्थानीय उत्पादन वृद्धि र ब्यवसायलाई निरन्तरता दिन नसकेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।