बर्नार्ड अर्नाउल्ट बने विश्वकै दोस्रो धनी

वासिङ्टन-विलासी सामग्री ब्रान्ड एलभीएमएचका अध्यक्ष तथा सिइओ बर्नार्ड अर्नाउल्टले विश्वकै दोस्रो धनीमा बिल गेट्सलाई पछि पारेको फोब्र्सले जनाएको छ ।
फोब्र्सको रियल टाइम बिलियनर सूचीमा फ्रान्सेली व्यवसायीले मंगलबार आफ्नो सम्पत्तिमा २.८ अर्ब डलर थपेका छन् । यसको अर्थ उनको कुल सम्पत्तिमा २.७ प्रतिशतको वृद्धि भई १०७.६ अर्ब डलर पुगेको छ ।
यो सम्पत्तिसहित उनी विश्वकै धनीको सूचीमा अमेजनका सिइओ जेफ बेजोसपछि रहेका छन् । बेजोसको कुल सम्पत्ति ११०.५ अर्ब डलर रहेको फोब्र्सको सूचीले देखाएको छ ।
यसैबीच गेट्सको कुल सम्पत्ति १ सय ७ अर्ब डलर रहेको फोब्र्सको सूचीले देखाएको छ ।
यद्यपि ब्लुमबर्गको सूचीमा अर्नाउल्ट अझैँ पनि बेजोस र गेट्सभन्दा पछाडि रहेका छन् । यो सूचीअनुसार उनको सम्पत्ति १ सय ३ अर्ब डलर छ । माइक्रोसफ्टका सह–संस्थापकको सम्पत्ति ब्लुमबर्गका अनुसार १ सय १० अर्ब डलर छ ।
ब्लुमबर्गका अनुसार अर्नाउल्टले यो वर्षको हालसम्मको अवधिमा ३४ अर्ब डलर सम्पत्ति थपेका छन् ।
जुन महिनामा अर्नाउल्टले १ सय अर्ब डलरको थ्रेसहोल्ड पार गरेर विश्वकै तेस्रो धनी व्यक्ति भएका थिए । यसको एक महिनापछि ब्लुमबर्ग र फोब्र्स दुवैको सूचीमा उनले छोटो अवधिका लागि भए पनि गेट्सलाई उछिनेका थिए ।