Logo

लमजुङका स्थानीय तहमा ७२ करोड ७२ लाख बेरुजु

लमजुङ– लमजुङका स्थानीय तहमा ७२ करोडभन्दा बढी बेरुजु देखिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा गरी कुल ७२ करोड ७२ लाख ५६ हजार रुपैयाँँ अद्यावधिक बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष ०७९/८० सम्मको आर्थिक विवरण संपरिक्षण गर्दा पुरानो सहित सो बेरुजु रहेको पाइएको हो ।

जिल्लाका स्थानीय तहमा सो आर्थिक वर्षमा मात्रै १५ करोड ७० लाख ६६ हजार रुपैयाँँ बेरुजु देखाइएको थियो । जिल्लाका स्थानीय तहमध्ये सवैभन्दा बढि बेरुजु मध्यनेपाल नगरपालिकामा १५ करोड ९० लाख २१ हजार रुपैयाँँ रहेको छ । जिल्लाको राईनास नगरपालिकामा १४ करोड ८९ लाख ६९ हजार रुपैयाँँ अद्यावधिक बेरुजु रहेको छ । राईनासमा आर्थिक वर्ष ०७९/८० मा मात्रै तीन करोड १५ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

त्यसैगरी सुन्दरवजार नगरपालिकामा पनि पछिल्लो अद्यावधिक बेरुजु १२ करोड १९ लाख २० हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सुन्दरवजार नगरपालिकामा आर्थिक वर्ष ०७९/८० मा मात्रै लेखा परिक्षण गरिएको रकमको एक दशमलव चार प्रतिशत अर्थात एक करोड ६० लाख चारहजार रुपैयाँ बेरुजु देखिएको थियो । प्रतिवेदन अनुसार जिल्लाको दोर्दी गाउँपालिकामा पनि आठ करोड १७ लाख ४३ हजार रुपैयाँ अद्यावधिक बेरुजु देखिएको छ ।

हालसम्म संपरिक्षण भएको अन्तिम आर्थिक वर्ष ०७९/८० मा मात्रै दोर्दीमा तीन करोड ४८ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जिल्लाको क्व्होलासोँथार गाउँपालिकामा पनि हालसम्मको अद्यावधिक बेरुजु सात करोड २५ लाख ६८ हजार रुपैयाँ रहेको छ । क्होलासोँथार गाउँपालिकामा आर्थिक वर्ष ०७९/८० मा लेखा परिक्षण भएको रकमको तीन दशमलव ७६ प्रतिशत अर्थात दुई करोड ३२ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

त्यस्तै दूधपोखरी गाउँपालिकामा भने हालसम्मको अद्याविधक बेरुजु ६ करोड १० लाख २४ हजार रुपैयाँ देखिएको छ । लेखा परिक्षण भएको पछिल्लो आर्थिक वर्षमा मात्रै संपरिक्षण भएको कुल रकमको एक दशमलव ९४ प्रतिशत रकम अर्थात एक करोड ७८ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जिल्ला सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकामा हालसम्मको अद्यावधिक बेरुजु चार करोड ९९ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

बेसीशहरमा लेखा परिक्षण भएको पछिल्लो वर्ष भने शुन्य दशमलव ७१ प्रतिशत अर्थात एक करोड २६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखिएको थियो । जिल्लामा सवैभन्दा कम मस्र्याङदी गाउँपालिकामा बेरुजु देखिएको छ । मस्र्याङदीमा हालसम्मको अद्यावधिक बेरुजु तीन करोड २० लाख ७२ हजार रुपैयाँ रहेको छ । लेखा परिक्षण भएको पछिल्लो आर्थिक वर्ष ०७९/८०मा भने मस्र्याङदीमा लेखापरिक्षण भएको रकमको शून्य दशमलव १८ अर्थात २३ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्