Logo

मेरो पालिका

रिब्दीकोटमा मासिक २५ हजार कमाउने वातावरण बनाएका छौं

रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की

पाल्पाको रिब्दीकोट गाउँपालिका आन्तरिक आयको हिसाबले कमजोर पालिकाको हो । हामी आउँदा गाउँपालिकाको आम्दानी ४९ लाख रुपैयाँमात्र थियो । अहिले ८३ लाख पुगेको छ । रिब्दीकोटको विकासको लागि हामीले कृपया भन्ने नीति लिएका छौं । जसअनुसार हामीले कृषि, पर्यटन र यातायात पूर्वाधारलाई केन्द्रीत गरेका छौं ।

कृषितर्फ राम्रो आम्दानी गर्न सक्ने वातावरण तयार गरेका छौं । कसैले आफ्नो खेत अथवा बारीमा ८ घण्टा काम गर्छु भनेर तयार हुन्छ भने उसलाई महिनामा २५ हजार रुपैयाँ र वर्षमा ३ लाख रुपैयाँ कमाउन सक्ने वातावरण बनाइएको छ । रिब्दीकोट गाउँपालिकाबाट गत वर्षमात्र हामीले २३ करोड ६० लाख बराबरको कृषि र पशुजन्य पदार्थहरु निर्यात गरेका छौं । यस पटक त्यो अझै बढ्दै छ । अकबरे खुर्शानीमा नेपालमै नाम चलेको पालिकामा रिब्दीकोट पर्दछ ।

पर्यटनतर्फ भैरबस्थान, जलेश्वर र सेल्फी डाँडा गरेर ३ वटा महत्वपूर्ण पर्यटकीय गन्तव्य छन् । पाल्पा आएका मान्छेलाई आउनैपर्ने खालको वातावरण तयार गरिएको छ । भैरबस्थान मन्दिरमा गत आर्थिक वर्षमा १ लाख ६८ हजार पर्यटक आएका थिए । नेपालीसँगै केही वर्ष यता भारतीय पर्यटकहरु आउने गरेका छन् ।

यातायात पूर्वाधारतर्फ विगतमा साढे २ करोडको काम हुन्थ्यो । हामी आइसकेपछि गत वर्ष सात–आठ करोडको काम भएको थियो । अब यस वर्ष ११ करोडको काम हुने छ ।

वित्त आयोगको मूल्यांकनमा पाल्पाका १० पालिका मध्ये हामीले उत्कृष्ट अंक प्राप्त गरेका छौं । महालेखाको प्रतिवेदनमा पनि जिल्लाका सबै पालिकामा भन्दा कम बेरुजु हाम्रो पालिकामा छ ।

स्वास्थ्यतर्फ जिल्लामा नै नमुनाको रुपमा काम गरिरहेका छौं । गाउँपालिकाका १४ ठाउँबाट आधारभूत स्वास्थ्य सेवा दिएका छौं । आठ वटा स्थानमा स्वास्थ्य चौकी छन् । ६ वटा स्वास्थ्य एकाइहरु छन् । महिनामा एक पटक हामीले विशेषज्ञ स्वास्थ्य शिविर राख्ने गरेका छौं । लुम्बिनी मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर मार्फत महिनामा एक पटक विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँछौं । पालिकामा १५ हजार जनसंख्या छ । जसमध्ये १८ दिनसम्म लगातार प्रत्येक टोलमा पुगेर ५२ सय नागरिकको आँखा परिक्षण गरेर शल्यक्रिया गर्नेहरुलाई पनि निःशुल्क गर्‍यौं । यो अभियानमा हामीलाई नागरिकले राम्रोसँग आशिर्वाद दिएको महसुस गरेका छौं ।

शिक्षातर्फ मुलुकका राम्रा सामुदायीक विद्यालयका अनुभवहरु यहाँका विद्यालयमा लागु गराउने कोसिस गरेका छौं । जनसंख्या घट्दो क्रममा रहेकाले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढेको छैन । तर पनि सामुदायिक विद्यालयमा गुणस्तर बढाउने कोसिस गरिरहेका छौं । पहिले विद्यालयमा पढ्ने वातावरण थिएन । रिब्दीकोटका विद्यार्थी पढ्नको लागि तानसेन, बुटवल जाने गर्दथे । बाआमा त्यतै काम गर्ने अनि छोराछोरी पढाउन पनि बजारतिर लैजाने गरेका छन् । अचेल सामुदायिक विद्यालयको गुणस्तर कम नहोस् भनेर हामी सचेत छौं । स्कुलहरुमा स्काउट गठनको काम पनि भइरहेको छ ।

सेवा प्रवाह र सुशासनमा पनि हामीले केही नयाँ गर्ने प्रयास गरेका छौं । नागरिकले सेवा लिन आउँदा झन्झटिलो महसुस गर्नु हुँदैन । सकेसम्म दोहोर्‍याएर आउन नपर्ने गरी काम गर्ने वातावरण तयार हुनुपर्छ भनेर हामीले ध्यान दिएका छौं । यो सालदेखि घरै बसेर सिफारिस प्राप्त गर्ने खालको प्रविधिहरुको हामीले विकास गरिरहेका छौं । त्यसको लागि एप्स बनाउँदै छौं ।

गाउँपालिकाका ३ वटा वडामा सदरमुकाम जोड्ने सडकमा वर्षामा गाडी चल्दैन थियो । हामीले ३ वडामा वर्षामा समेत सवारी साधन चल्ने गरेर बाटो निर्माण गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका थियौं । अहिले आएर वडा नम्बर १, ६ र ८ मा बाह्रै महिना सवारी साधन चल्ने व्यवस्था गरिएको छ । बाँकी ५ वटा वडा कालोपत्रे सडकसँग जोडिएको छ । रिब्दीकोटको वडा नम्बर ८ अरु वडाभन्दा दुर्गम छ । यो वडाको फेक र ठिमुरेलाई रिब्दीकोटको कर्णाली भन्छौं ।

गाउँपालिकाको विकासका लागि कतिपय चुनौतीहरु पनि छन् । काम गर्ने सिलसिलामा कतिपय कुरामा हामी जनप्रतिनिधिको बुझाइ र कर्मचारीको बुझाइ फरक हुन्छ । स्थानीय तहले गर्ने कामबारे संविधानको अनुसूचीमा उल्लेख छ । हामीले संविधानमा उल्लेख भएको अधिकार प्रयोग गरेर काम गर्न खोज्छौं । तर, कर्मचारीले संघीय कानुन र प्रदेश कानुन देखाएर हामीलाई काम गर्न मिल्दैन भन्ने गरिन्छ । जसका कारण हामीले आँटेको र गर्न खोजेको काममा एकदम ढिलासुस्ती हुने गरेको छ । हामीले केही काम सुरु गर्‍यौं भने वर्ष दिन त्यसै जाने हुन्छ । कर्मचारीहरुले यताउता बुझ्ने सोध्ने माथिल्लो तहको सहमति लिन खोज्ने गर्दा गर्दै समय जान्छ ।

मैले रिब्दीकोट उद्योग विकास प्राधिकरण स्थापना गर्न अघिल्लो वर्षदेखि प्रयास गरें । सुरुमा हामीले कर्मचारीतन्त्रलाई सहमत गराउन निकै समय लाग्यो । कर्मचारीस्तरमा सहमत गराएपछि अहिले माथि तहको सरकारी निकायमा गएर फाइल अड्किएको छ । कतिपय काममा हामीले छिटो नतिजा खोजेर काम चाहिरहेका हुन्छौं । ऐननियम विनियमको बुझाइमा फरकपनको सोचेका कारण काम गर्न सकिन्न । यो पनि एउटा चुनौती हो । अहिले सबैजसो स्थानीय तहमा सीमित स्रोतसाधन छ । हाम्रो रिब्दीकोटमा नहुने कुरै भएन । सीमित स्रोतसाधन हुँदा सोचेजस्तो काम गर्न सकिन्न ।

बजेटको कुरा गर्दा हाम्रो अघिल्लो वर्ष ५५ करोड विनियोजन भएको थियो । यो वर्ष ५६ करोड बनाएका छौं । एक करोड रुपैयाँ बढेको छ । हामीले आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएका छौं । कृषिलाई एक्सनको रुपमा र पर्यटनलाई प्रचारात्मक रुपमा काम गर्ने गरी अघि बढेका छौं । यातायात पूर्वाधारमा त धेरै बजेट खर्च हुने नै भयो । कृषिमा अरु सबै पालिका भन्दा हाम्रोमा बजेट बढी छ । हामीले १७–१८ करोड पुँजीगत खर्च गर्न सक्छौं । त्यस मध्ये ५ करोड हामीले कृषिमा मात्र छुट्याएका छौं ।

चालु तर्फको बजेटमा बढी खर्च हुन्छ । चालु अन्तर्गत कर्मचारीको तलब, भत्ता, सेवा सुविधा, कार्यालय सञ्चालनमा बजेट खर्च हुन्छ । केही वर्षयता रिब्दीकोटमा जनसंख्या घट्दो क्रममा छ । २०६८ देखि ०७८ सम्म दश वर्षको अवधिमा यहाँ जनसंख्या ३ हजार घटेको छ । तर यहाँ बसाइँसराइ रोक्ने चुनौति पनि हामीसँग छ । हाम्रो कार्याकाल सकिँदा पालिका बाहिर विभिन्न शहरबजारमा रहेकाहरुलाई रिब्दीकोटमा आएर बसौं बसौं भन्ने खालको बनाउनुपर्छ । यहाँका मान्छेहरु बुटवल, काठमाडौं लगायतका ठाउँमा छन् । उनीहरुले शहर बजारमा घर बनाएर बसेका छन् । तर केही समय भए पनि रिब्दीकोटमा गएर बस्छु भन्ने सोचाइको विकास गर्ने मेरो इच्छा छ ।

प्रदेशः लुम्बिनी
जिल्लाः पाल्पा
गाउँपालिकाः रिब्दीकोट
वडा संख्याः ८
क्षेत्रफलः १२५.५५ वर्गकिलोमिटर
जनसंख्याः १५ हजार ४७३
नगर उपप्रमुखः कान्ता अधिकारी
प्रमुख प्रशासकीय अधिकृतः लेखनाथ पोखरेल

प्रतिक्रिया दिनुहोस्