Logo

कसरी कमाइन्छ सेयरमा ?

नेपालमा औसतमा सरकारी बन्डको ब्याजदर १० प्रतिशत छ । वार्षिक योभन्दा बढी मुनाफाका लागि लगानीको योजना र रणनीति आवश्यक पर्छ । वर्षमा १ सय प्रतिशतसम्म कमाउन चाहनेका लागि सेयर बजार उपयुक्त स्थान हुन सक्छ ।

सेयर बजारमा १० प्रतिशतदेखि १ सय प्रतिशतसम्म कमाउने लक्ष्य राख्न सकिन्छ । लगानीको सामान्य सर्वमान्य सिद्धान्त भनेको नो रिस्क नो गेन, लो रिस्क लो गेन र हाई रिस्क हाई गेन हो । त्यसैले बढी मुनाफा खोज्ने हो भने बढी जोखिम लिनैपर्छ । उच्च जोखिम लिँदैमा उच्च मुनाफाको सम्भावना स्वतः हुने पनि होइन । ज्ञान, सीप र क्षमता अपरिहार्य हुन्छ । त्यो भएका व्यक्तिले पनि उच्च मुनाफा लिन उच्च जोखिम लिनुपर्छ ।

१० प्रतिशत कमाउने लक्ष्य राखेको लगानीमा ७ प्रतिशतसम्म गुम्ने जोखिम हुन्छ । ५० प्रतिशत कमाउने लक्ष्य राखेको लगानीमा ३५ प्रतिशतसम्म गुम्न सक्छ । त्यस्तै १ सय प्रतिशतसम्म कमाउने लक्ष्य राखेको लगानीमा ७० प्रतिशतसम्म गुम्न सक्छ । यो सम्भावना ज्ञान, सीप भएका व्यक्तिका लागि हो । गाई कि त्रिशूल खेल गर्ने हो भने जति कमाउने लक्ष्य राखिएको हुन्छ, त्यति नै गुम्न सक्छ ।

माथिको उदाहरणमा १ सय रुपैयाँ लगानी गरेर १ सय १० रुपैयाँ बनाउने लक्ष्य राख्दा ९३ रुपैयाँमा झर्न सक्छ । त्यस्तै १ सय ५० रुपैयाँ बनाउने लक्ष्य राख्दा ६५ रुपैयाँमा झर्न सक्छ । त्यस्तै, २ सय रुपैयाँ बनाउने लक्ष्य राख्दा ३० रुपैयाँमा झर्न सक्छ । यो कुनै निश्चित नियम होइन । औसतमा देखिने गरेको अवस्था हो ।

जुवामा सबै गुमाउन सकिन्छ । १ को १ सय कमाउन पनि सकिन्छ । जुवालाई लगानी मानिँदैन । लगानीबाट प्रतिफल आउँछ । जुवामा हारजित हुन्छ । जुवामा तत्कालै कमाउने वा गुमाउने नतिजा आउँछ । सेयर बजारमा सबै गुम्दैन ।

सेयर बजारलाई जुवा भन्दा विवाद हुने गरेको पाइन्छ । सेयर बजारको दुई चरण हुन्छ । प्राथमिक सेयर बजार भनेको कम्पनी खोल्दा गरिने लगानी हो । यो चुक्ता पुँजी हो । कम्पनीले लगानी गर्ने पुँजी हो । कम्पनीले कारोबार गर्ने र मुनाफा कमाउने यही पुँजीले हो । सामान्यतया यो प्रतिकित्ता १ सय रुपैयाँ हुन्छ ।

कम्पनीले सर्वसाधारणलाई सेयर बेच्ने बजार प्राथमिक बजार हो भने कम्पनीका सेयरधनीले अरूलाई सेयर बेच्ने बजार दोस्रो बजार हो । मानौं कुनै कम्पनीमा १ हजार व्यक्तिले सुरुमा अर्थात् प्राथमिक बजारमा लगानी गरेका थिए । त्यसमध्ये कसैलाई आफ्नो लगानी झिक्न मन लाग्यो भने दोस्रो बजारमा बिक्रीमा राख्न सक्छन् । त्यहाँ जोकोहीले उसको सेयर किन्न सक्छ ।

दोस्रो बजारको मूल्यले कम्पनीको लगानी, कारोबार, मुनाफामा केही असर गर्दैन । कम्पनीमा लगानी भएको सुरुको १ सय रुपैयाँ हो । दोस्रो बजारमा त्यो सेयर २० हजार रुपैयाँमा किनबेच भए पनि कम्पनीमा भएको वास्तविक लगानी १ सय रुपैयाँ नै हुन्छ । प्राथमिक बजारमा भएको लगानी देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा गणना हुन्छ । दोस्रो बजारको मूल्य जिडिपीमा जोडिँदैन । त्यसैले यसलाई अनुत्पादक लगानी भन्ने गरेको सुनिन्छ ।

नेपालमा दोस्रो बजारमा सेयरको मूल्य एक दिनमा १० प्रतिशतभन्दा बढी घट्न वा बढ्न नपाउने व्यवस्था छ । बजार खुलेपछि १० प्रतिशत घटेको मूल्य फर्केर हिजोभन्दा १० प्रतिशत माथि पुग्यो भने एकै दिनमा २० प्रतिशतको उतारचढाव हुन सक्छ । विकसित देशमा सेयर मूल्य बढ्दा सर्किट लाग्दैन । अमेरिकामा २० प्रतिशत घट्यो भने सर्किट लाग्छ ।

सेयरको मूल्य एकै दिनमा जति घटे पनि आफूले सेयर नबेचेसम्म वास्तविक घाटा हुँदैन । तर, मनोवैज्ञानिक असर पर्ने भएकाले विकसित देशमा पनि २० प्रतिशतभन्दा बढी घट्न नमिल्ने नियम बनाइएको हो । नेपालमा बढ्दा पनि सर्किट लगाएर रोक्ने गरिन्छ । अस्वाभाविक रूपले मूल्य माथि गएर नबुझ्ने लगानीकर्ता फस्लान् भनेर यस्तो नियम बनाइएको हो ।

सेयर बजारमा कमाउने दुईवटा माध्यम हुन्छ । एउटा कम्पनीले दिने लाभांश हो । आफूले सेयर होल्ड गरेको कम्पनीले वार्षिक मुनाफाबाट नगद वा बोनस सेयर दिन्छ । यो किनेको मूल्यमा पाइने होइन । होल्ड गरेको कित्ताको आधारमा प्राप्त हुन्छ ।

मानौं, तपाईंसँग कुनै कम्पनीको १ सय कित्ता सेयर छ । त्यस कम्पनीले ५० प्रतिशत नगद लाभांश दिने भन्यो । अब तपार्इंले प्रतिकित्ता ५० रुपैयाँका दरले ५ हजार रुपैयाँ लाभांश पाउनुहुन्छ । त्यस्तै ५० प्रतिशत बोनस सेयर दिने भन्यो भने तपार्इंको ५० कित्ता थपिएर १ सय ५० कित्ता हुन्छ । त्यो सेयर तपाईंले १० हजार रुपैयाँमा किने पनि १ लाख रुपैयाँमा किने पनि पाउने लाभांश वा कित्ता त्यति नै हो ।

दोस्रो आम्दानी पुँजीगत लाभ हो । यो स्क्रिप्ट किनेको भन्दा बढी मूल्यमा बेचेर गरिने नाफा हो । उदाहरणका लागि ५ सय रुपैयाँमा किनेको स्क्रिप्ट ८ सय रुपैयाँमा बिक्री भयो भने ६० प्रतिशत मुनाफा हुन्छ । उक्त स्क्रिप्टवाला कम्पनीले लाभांश नदिएको पनि हुन सक्छ ।

सेयर बजारमा मूल्यमा छिटो उतारचढाव आउने स्क्रिप्ट हुन्छन् । सेयर बजार सूचकभन्दा बढी मूल्य उतारचढाव हुने स्क्रिप्टलाई हाई बिटा भनिन्छ । त्यस्तै सेयर बजार सूचकभन्दा कम उतार चढाव हुने स्क्रिप्टलाई लो बिटा भनिन्छ । समग्र सेयर बजार १ प्रतिशतले बढ्दा त्योभन्दा बढी प्रतिशतले बढ्ने स्क्रिप्टलाई १ भन्दा बढी बिटा भएको भनिन्छ । त्यस्तै, बजार १ प्रतिशतले बढ्दा त्योभन्दा कम प्रतिशतले बढ्ने स्क्रिप्टलाई १ भन्दा कम बिटा भएको भनिन्छ ।

सेयर बजारमा बढी मुनाफा कमाउन बिटा हाई भएको स्क्रिप्ट किन्नुपर्छ । बजार बढ्दा यसले धेरै पुँजीगत लाभ दिन्छ । तर, बजार घट्दा पनि बढी नोक्सानी दिन्छ । यसमा लगानी गर्नु हाई रिस्क हाई गेन हो ।

प्रायः चुक्ता पुँजी थोरै भएका अर्थात् सेयर कित्ता थोरै भएका कम्पनी हाई बिटा हुन्छन् । यसलाई लो क्याप भनिन्छ । कुनै व्यक्ति वा समूहले यस्ता कम्पनीको धेरै सेयर किनेर मूल्यलाई नियन्त्रण गर्न सक्छन् । नेपालको बजारमा केही स्क्रिप्टमा २ सय रुपैयाँबाट २ हजार रुपैयाँ मूल्य पुगेको देखिन्छ ।

हाई बिटा स्क्रिप्ट किनौं, १० प्रतिशत घट्यो भने बेचेर उम्किउँला, मुनाफा भए १० गुणा पनि हुन सक्छ भन्ने सोच्नुभएको होला । त्यस्तो सजिलो नहुन सक्छ । मूल्य घट्न थालेपछि कोही पनि किन्ने व्यक्ति नपाइन सक्छ ।

सेयर बजारमा कैयौं स्क्रिप्टमा एकै दिनमा उच्च कमाइ वा उच्च गुमाइ हुने गर्छ । मूल्य बढाएर बेचौंला वा घटाएर किनौंला भन्ने उद्देश्यले सेयर कारोबार गरिन्छ । यसलाई स्पेकुलेसन अर्थात् सट्टेबाज भनिन्छ । कम्पनीको मुनाफा बढ्छ भन्ने अनुमान गरेर अहिले बढ्दो मूल्यमा किन्ने वा नाफा घट्छ भन्ने अनुमान गरेर अहिले सर्ट सेल गर्नु नैतिक स्पेकुलेसन हो । तर, कर्नरिङ वा सर्कुलर ट्रेडिङ गरेर मूल्य घटबढ गराइन्छ । नेपालको कानुनले त्यसलाई अपराध माने पनि व्यवहारमा रोक्न सकिँदैन ।

ठूला खेलाडी भनिने व्यक्तिले स्क्रिप्टहरू खेलाउँछन् । अरू रिटेलर अर्थात् साना लगानीकर्ता त्यसकै पछि लागेर हिंड्न खोज्छन् । उदाहरणका लागि फलानोले फलानो स्क्रिप्ट उठाउँदै छ भन्ने थाहा पाएर इन्ट्री हुन्छन् । यतिसम्म पुर्‍याउँछ रे भन्ने थाहा पाएर होल्ड गर्छन् । खेलाडीले भन्दा पहिले वा सँगसँगै बेचेर उम्किने रणनीति बनाउँछन् ।

ठूला खेलाडी पनि सबै खेलमा सफल हुँदैनन् । उनीहरू सफल हुँदा पनि फलो गर्ने रिटेलर सधैं सफल हुन्छन् भन्ने हुँदैन । खेलाडीको इन्ट्री र एक्जिटको सही समयमा सही सूचना नपाइन सक्छ । खेलाडीले रिटेलरलाई फसाएर कमाउने उद्देश्य राखेका हुन्छन् । कहिलेकाहीं खेलाडी नै फसेर रिटेलरले कमाउने अवस्था पनि आउँछ ।

नेपालको इतिहास हेर्दा सेयर मूल्य तीन–चार वर्ष बढ्ने र तीन–चार वर्ष घट्ने गरेको देखिन्छ । सामान्यतया मूल्य घटेको मौकामा किनेर बस्नेले बढेको बेला बेचेर कमाउन सक्छन् । तर, यो पनि निश्चित हुँदैन । इतिहास उसैगरी दोहोरिन्छ भन्ने हुँदैन । किनेको सेयर अझै तल जान सक्छ । लामो समयपश्चात् अलिअलि माथि गएपछि फेरि घट्न थाल्छ । आफूले किनेको बढ्दै नबढ्ने वा उल्टो घट्ने तर अरू स्क्रिप्ट बढेको देखिन्छ । अनि सस्तोमा पुरानो स्क्रिप्ट बेचेर महँगोमा नयाँ स्क्रिप्ट किनिन्छ ।

नेपालमा अहिले बुल मार्केट चलेको भनिन्छ । बजार सूचकको वृद्धि २० प्रतिशत कट्यो भने बुल निश्चित भएको मान्ने चलन छ । नेप्से परिसूचक १९०० बिन्दुबाट २३०० बिन्दुमा पुगेपछि बुल मार्केट सुरु भएको मानियो । नेप्से परिसूचक लगातार बढेर २८०० बिन्दु पुग्दा कैयौं स्क्रिप्टमा कति दिन नेगेटिभ सर्किट लागेको देखियो ।

बढ्दो बजारमा सबै स्क्रिप्ट उही रफ्तारमा बढ्दैनन् । आफ्नो स्क्रिप्ट बढ्दै बढ्दैन कि क्या हो । अरू स्क्रिप्टमा जाँदा छिटो पैसा कमाइन्छ कि भनेर सर्दा बुलमा समेत पैसा गुम्न सक्छ । बुल बजारमा पनि बीच बीचमा स्वीङ आउँछ । माथिल्लो बिन्दुमा बेचेर तल्लोमा किनेर बढी नाफा गर्छु भन्दा रेल छुट्न सक्छ । अनि बुलमा समेत नाफा गर्ने अवसर छुट्छ । यस्ता चुनौतीहरूको सामना गरेर मात्र सेयर बजारमा पैसा कमाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्