Logo

एक वर्षमा करिब १३ सयले गराए गर्भपतन

पर्वत– गर्भपतनले महिलाको स्वास्थ्य अवस्थामा जटिल अवस्था सिर्जना गर्ने भएपनि पर्वतमा गर्भपतन गराउनेको संख्या विकराल अवस्थामा पुगेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा भएका सुत्केरीको संख्या भन्दा गर्भपतन गराएकाको संख्या दोब्बर भन्दा बढि रहेको छ । जिल्लामा गर्भपतन सुविधा भएका सरकारी स्वास्थ्य संस्था र मेरी स्वास्थ्य सेवा क्लिनिकमा गरी झण्डै एक हजार तीन सय जनाले गर्भपतन गराएका हुन् ।

स्वास्थ्य कार्यालय पर्वतकी जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार एक वर्षको अवधिमा सरकारी स्वास्थ्य संस्थाबाट ६२२ सुत्केरी हुँदा ९०७ जनाले गर्भपतन गराएका छन् । त्यसैगरी सदरमुकाम कुश्मामा रहेको मेरी स्वास्थ्य सेवा क्लिनिका प्रमुख फुलमाया सापकोटाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३९० जनाले गर्भपतन गराएका हुन् । यसरी हेर्दा दुवैतर्फ गरी एक हजार तीन सय ९७ जनाले गर्भपतन गराएका छन् ।

जुन संख्या सुत्केरी भएकाहरूको तुलनामा १०८ प्रतिशतले बढी हो । एक वर्षको अवधिमा दक्ष प्रसुतिकर्मीबाट ३९१ जना, दक्ष स्वास्थ्यकर्मीबाट १३२ जना, अन्य स्वास्थ्यकर्मीबाट ९१ जना र घर तथा स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा ८ जना सुत्केरी हुँदा ६२२ जनाले बच्चा जन्माएका छन् । सोही अवधिमा औषधि सेवन गरेर ७०६ जनाले र सामान्य शल्यक्रियामार्फत २०१ गरी ९०७ जनाले सरकारी स्वास्थ्य संस्था र दुवै विधिबाट गरी मेरी स्वास्थ्य सेवा क्लिनिकबाट ३९० जनाले गर्भपतन गराएका छन् ।

यी मध्येका पाँच जनाले १२ हप्ता माथिको गर्भपतन गराएका थिए भने एक जनामा गर्भपतनपछिको जटिलता देखिएको थियो । यो तथ्यांक राज्यबाट अनुमति पाएका संस्थाहरुको मात्र हो । यसबाहेक निजी क्लिनिकबाट गर्भपतन गराउनेको संख्या समावेश गरिएको छैन । पर्वत अस्पतालको तथ्यांक अनुसार गर्भवती भएपछि पहिलो पटक परीक्षण गर्न स्वास्थ्य संस्थामा पुगेका महिलाको संख्या गत आर्थिक वर्षमा एक हजार ११८ रहेको छ ।

यी सबै महिला गर्भवती हुँदा ६२२ जनाले मात्रै बच्चा जन्माएको देखिन्छ । यो हेर्दा सुत्केरी भएकाको संख्याको तुलनामा पहिलो पटक गर्भवती परीक्षणका लागि गएकाको संख्या ९१ प्रतिशतले बढी छ । जसमध्ये केही पोखरा वा छिमेकी जिल्ला म्याग्दी र बागलुङ क्षेत्रमा पुगेर सुत्केरी हुन सक्ने भए पनि यति ठूलो संख्या बिचैमा हराउनुले गर्भपतनको दर अझै बढि रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

यस्तै १२ हप्तासम्मको गर्भ परीक्षण ९७१ जनाले गराएका छन् । एक वर्षको अवधिमा नेपाल सरकारले तोकेको ४ पटक गर्भ परीक्षण गरेको हुनुपर्ने नियममा आधारित रहेर एक हजार ३२७ जनाले गर्भ परीक्षण गराएका छन् । जुन संख्या पहिलो पटक र १२ हप्तासम्म गर्भ परीक्षण गरेकाको भन्दा धेरै रहेको कार्यालयले जनाएको छ ।

विभिन्न कारणले गर्भपतनको संख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माले बताए । गर्भमा आफूले चाहेको लिङ्ग अनुसारको भ्रुण नहुनु, असुरक्षित यौन सम्पर्कबाट गर्भ रहनु जस्ता मुख्य कारण गर्भपतन गराउनेको संख्या उच्च देखिएको उनको भनाइ छ । कतिपय वैदेशिक रोजगारमा गएका युवाहरुका श्रीमतीले परपुरुषसँग राखेको अवैध यौन सम्बन्धका कारण बच्चा रहन गई गर्भपतन गराउन आउने महिलाको संख्या पनि उल्लेख्य रहेको छ ।

कानुन अनुसार भ्रुण पहिचान गर्न नपाउने भएपनि अवैधानिक रूपमा पहिचान गर्ने र पहिचान नगरीकनै शर्माले अनिच्छित गर्भ नष्ट गर्न पनि गर्भपतन हुने गरेको बताए । कम उमेरमा हुने विवाह, दुई/तीन वटा बच्चा भइसक्दा पनि अस्थायी साधनको प्रयोग नगदर्म अनिच्छित गर्भ बस्नु, स्वास्थ्य सेवामा मानिसको पहुँच सहज र नजिक हुनु पनि गर्भपतन बढ्नुका कारण हुन् ।

औषधि पसलमा गएर आफ्नै तरिकाले औषधि सेवन गर्ने, आफ्नै तरिकाले गोप्य रूपमा ‘सर्जिकल एबोर्सन’ गराउने, पहिचान लुकाउन जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गर्भपतन गराउनेलगायतका कारण नदेखिएको ठूलो संख्याले लुकीछिपी गराइरहेको गर्भपतनको विवरण भने आफूहरुसँग नभएको कार्यालय प्रमुख शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्