Logo

पर्वतमा सडक पूर्वाधारका १२२ योजना सम्पन्न

पर्वत– गत आर्थिक वर्ष २०८०/८१ म बजेट विनियोजन भएका १२२ वटा सडक आयोजनाको काम सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतमार्फत् योजना सम्झौता भई असार मसान्तसम्ममा १२२ वटा योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकार र संघीय सरकारवाट गरी १५२ वटा योजना रहेकोमा १२२ वटा योजना सम्पन्न भएको र बाँकी प्रकृयामा अगाडि बढेको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । १५२ वटा योजनामध्ये २० वटा योजना वहुवर्षे ठेक्कामा गएका छन् । १० वटा योजनामा विवाद भएका कारण यस वर्ष काम हुन नसकेको र उक्त योजनाको रकम फ्रिज भएको कार्यालय प्रमुख अधिकारीले बताए ।

विवाद भएका योजना वनजंगल भएका कारण रोकिएको उनको भनाइ छ । गण्डकी प्रदेश मातहत रहेको यस कार्यालयमा गत आर्थिक वर्ष २०८०/०८१ म गण्डकी प्रदेश मातहतका १३३ योजना र संघीय सरकार अन्तर्गतका १९ वटा योजना गरी कुल १५२ वटा योजना रहेका थिए । गत आर्थिक वर्षमा कार्यालयको चालुतर्फ ६८ दशमलव ८४ प्रतिशत र पुँजीगततर्फ ६५ दशमलव ६५ प्रतिशत खर्च भएको छ ।

कार्यालयको कुल बजेट एक अर्ब दुई करोड ४५ लाख रहेकोमा ६७ करोड २६ लाख खर्च भएको कार्यालयले जनाएको छ । सो मध्य प्रदेश तर्फको ९३ करोड ३५ लाखमध्ये ६० करोड एक लाख खर्च भएको र संघीय सरकारतर्फका योजनामा सात करोड पाँच लाख बजेटमध्ये ६ करोड ३ लाख खर्च भएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । असार मसान्तसम्म मुख्यगरी ग्रामिण सडक कालोपत्रे, सडक पुल निर्माण, सडकनाली र मर्मतका योजना सम्पन भएका छन् ।

मुख्यगरी गत आर्थिक वर्षमा सडक निर्माणतर्फ ६ वटा ठूला योजना सम्पन्न गरेको र सातवटा मर्मतका योजना सम्पन्न भएको कार्यालयको भनाइ छ । कार्यालयको भौतिक प्रगतिमा गत आर्थिक वर्षको असार मसान्तसम्म २३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । जसअन्तर्गत डिमुवा–राम्जा–चित्रे साढे पाँच किलोमिटर सडक कालोपत्रे गरिएको छ भने चिसापानी–हातेमालो चोक–त्रिवेणी–वाकीभञ्याङ–पोखराचौर सडक आठ किलोमिटर कालोपत्रे गरिएको छ ।

यसैगरी सेरावेसी–मोहरिया–भुकताङ्ले सडक दुई किलोमिटर, फलेवास नगरपालिका–३ मा रहेको नुवार–शहिदचोक–चुुचुनदेउराली सडक ५६० मिटर र बाँझाबारी–राम्चे–चौतारा–शंकरपोखरी सडक ५६० मिटर, मख–ठूलीपोखरी–देउपुर–देउराली–जोगीथुम दुई किलोमिटर, मिलनचोक–धाईरिङ–घाखेत चार किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको कार्यालयले जनाएको छ ।

पक्की पुलतर्फ लिदीखोला सडक पुल निर्माण अन्तिम चरणमा पुगेको र छत्तिसेघाट सडक पुलको एक साइट क्याप लेभलसम्मको काम भएको छ । केही पुल र सडकको गत आवमा टेण्डरमात्र गर्न सकिएको चालु आर्थिक वर्षदेखि निरन्तर निर्माण कार्य अघि बढ्ने कार्यालय प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्