Logo

साढे ६ दर्जन सरकारी निकाय कागजरहित

काठमाडौं– मुलुकका साढे ६ दर्जन सरकारी निकायको कामकाज ‘कागजरहित’ रुपमा हुन थालेको छ । ‘सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका’ लागु भएसँगै गत आर्थिक वर्षसम्ममा ७७ वटा सरकारी निकायले कागजरहित प्रणालीमार्फत काम प्रारम्भ गरेका हुन् ।

सूचना प्रविधि विभागका अनुसार आर्थिक वर्ष २०८०–८१ सम्ममा ११६ वटा निकाय यस प्रणालीमा आबद्ध भइसकेका छन्, जसमध्ये ७७ वटाले प्रणालीमार्फत काम प्रारम्भ गरिसकेका छन् । विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठका अनुसार कागजरहित सरकारको प्रवद्र्धन गर्न ‘सरकारी निकाय सञ्चालन सम्बन्धी एकीकृत विद्युतीय प्रणाली निर्देशिका, २०७८’ स्वीकृत भई लागु भइसकेको छ । २०७९ वैशाख ५ गतेको राजपत्रमा निर्देशिका प्रकाशित भएसँगै लागु भएको यो प्रणालीअन्तर्गत सरकारी कार्यालयमा कागजको प्रयोग घटाउँदै लैजानेदेखि सबै सरकारी निकायको वेबसाइटमा एकरुपता लगायतका कार्यक्रम समेटिएका छन् ।

‘एकीकृत विद्युतीय प्रणाली निर्देशिका लागू भएको हो,’ महानिर्देशक श्रेष्ठले भने, ‘हाल सञ्चार तथा सूचना मन्त्रालय र अन्तर्गतका सबै विभागहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा रहेको छ भने मन्त्रालय सम्बद्ध अन्य सबै निकाय र सिंहदरबारभित्रका सबै मन्त्रालयहरुमा प्रणाली व्यवस्थापकलाई र ५५ वटा निकायहरुलाई सो प्रणाली सञ्चालन सम्बन्धी तालिम प्रदान गरिसकिएको अवस्था छ ।’

एउटै विद्युतीय प्रणालीमार्फत सरल, सहज, छिटोछरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा काम गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त निर्देशिका जारी गरेको हो । सरकारी कामलाई कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्नका लागि सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिका अनुसार सूचना प्रविधि विभागले प्रणालीको स्थापना गरेर सञ्चालन तथा व्यवस्थापन गर्नेछ । कुनै पनि सरकारी निकायले आफूले गर्ने कामलाई एकीकृत रुपमा सम्पन्न गर्न उक्त प्रणालीमा आवद्ध हुनका लागि विभागमा अनुरोध गर्न सक्नेछ । यसरी अनुरोध भई आएमा अनुरोध प्राप्त भएको एक साताभित्र विभागले त्यस्तो सरकारी निकायलाई प्रणालीमा आवद्ध गर्ने जनाइएको छ ।

विभागका अनुसार सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिकामा उल्लेख भएअनुसार सबै सरकारी कार्यालयहरुको वेबसाइटमा एकरुपता कायम गर्न ती निकायले प्रयोग गर्नुपर्ने वेबसाइटको साझा टेम्पलेट निर्माणको कार्य पनि सम्पन्न भएको छ । हालसम्म यस प्रणालीमा ३०९ वटा निकाय आवद्ध रहेकामा गत आवसम्ममा ८२ वटा निकायका वेबसाइट लाइभ भइसकेको छ । यस्तै, साझा पूर्वाधार मार्फत सरकारी निकायहरुलाई कम लागतमा तुरुन्त सर्भर, स्टोरेज र नेटवर्क उपलब्ध गराउँदै आएको सरकारी क्लाउडमा हालसम्म ३४५ सरकारी निकायहरुका लागि उक्त निकायका सूचना प्रविधि प्रणाली सञ्चालन गर्न स्रोत उपलब्ध गराइएको छ । जसमा ८६९ भर्चुअल मेसिनहरु सञ्चालनमा रहेको जनाइएको छ ।

सूचना प्रविधि विभागले विद्युतीय हाजिरीको केन्द्रीकृत प्रणालीको पनि विकास गरेको छ । जसअन्तर्गत ३ हजार ५ सय ४९ सरकारी निकायमा ४ हजार ५०४ उपकरणहरु जडान गरिएको छ भने कुल ६३ हजार ७ कर्मचारीको बायोमेट्रिक यसमा दर्ता गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्