गत वर्षभन्दा साउनमा २० प्रतिशतले बढ्यो राजस्व असुली

काठमाडौं– गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व संकलन २० प्रतिशतले बढेको छ । गत वर्ष (२०८०–८१ ) को साउन ३० सम्ममा ७३ अर्ब ६९ करोड रुपैयाँ राजस्व असुली भएकामा यो वर्ष साउन ३० सम्म ८८ अर्ब ८६ करोड उठेको छ । यो गत वर्षको तुलनामा २०.५८ प्रतिशतको सुधार हो । सरकारले राखेको वार्षिक लक्ष्य पनि गत वर्षभन्दा झण्डै एक प्रतिशतले अहिले बढेको छ ।
गत वर्षभरमा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व असुली गरेको सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब रुपैयाँ लक्ष्य राखेको छ । यो गत वर्ष असुली भएको राजस्वको तुलनामा ३४ प्रतिशत बढी हो । सरकारले चालु आवमा राजस्व संकलनमा राखेको लक्ष्यअनुसार साउनमा असुली भएको छैन । तर, गत आवको तुलनामा २० प्रतिशतको सुधार भएकाले धेरै नराम्रो मान्न सकिँदैन । गत आवमा भन्दा राजस्व संकलन सुधारोन्मुख देखिएको छ ।
सरकारले पछिल्ला तीन वर्षमा राजस्व संकलनको लक्ष्य झण्डै उस्तै राखेको छ । गत आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट ल्याउँदा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । यस्तै, चालु आवमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गर्दा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । आव २०७९–८० मा पनि राजस्व असुलीको लक्ष्य १४ खर्ब ३ अर्ब राखिएको थियो । तर, राजस्व असुली भने आव २०७९–८० मा ९ खर्ब ५७ अर्ब र गत आवमा १० खर्ब ५८ अर्ब रुपैयाँ भएको छ । चालु आवमा राजस्व असुलीको अवस्था कस्तो हुन्छ अहिले नै भन्न सक्ने स्थिति छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन ३० सम्ममा ८८ अर्ब ८६ करोड रुपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ६.२६ प्रतिशत हो भने गत वर्ष साउनको भन्दा १५ अर्ब १७ करोड बढी हो ।
पछिल्लो समय आन्तरिक उत्पादन वृद्धि भएकाले अर्थतन्त्रमा सुधार आउँदा राजस्व संकलन पनि बढेको अर्थ मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी युवराज बस्नेतले जानकारी दिए । उनका अनुसार यो वर्षको वार्षिक लक्ष्यलाई हेर्दा धेरै राजस्व असुली भएको छैन । गत वर्षको भन्दा पनि धेरै अन्तर छैन, तर पनि राजस्व संकलन सकारात्मक भएको उनले बताए । राजस्व संकलनको पहिलो महिना साउनको अवस्थालाई हेर्दा वार्षिक लक्ष्यको नजिक पुग्ने संकेत देखिएको उनको भनाइ छ । बस्नेतका अनुसार संसद्का दुई ठूला दल मिलेर सरकार बनाएपछि स्थिरताको सन्देश गएको र यसले आन्तरिक लगानी बढ्ने आशा जागेको छ । लगानीमा वृद्धि भएपछि राजस्व पनि बढ्ने उनले बताए ।
गत वर्ष सरकारले वार्षिक राजस्व संकलनको लक्ष्य १४ खर्ब २२ अर्ब लिएकामा १० खर्ब ५८ अर्ब रुपैयाँ असुली गरेको थियो । यो वार्षिक लक्ष्यको ७४.४४ प्रतिशतमात्र हो । साउन महिनाको राजस्व असुली २० प्रतिशतले बढेकाले चालु आवमा ८० देखि ८५ प्रतिशतसम्म राजस्व उठ्ने अनुमान गर्न सकिन्छ । सरकारले यो वर्ष ५२ अर्ब रुपैयाँ वैदेशिक अनुदान ल्याएको भने पनि साउनमा एक पैसा आएको छैन ।
सरकारले चालु आवमा राजस्व असुलीमा मात्र सुधार ल्याएको होइन । पुँजीगत खर्च पनि बढाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन ३० सम्ममा पुँजीगत बजेट खर्च ५ अर्ब रुपैयाँ माथि पुगेको छ । गत वर्ष साउन ३० सम्ममा पुँजीगत खर्च वार्षिक लक्ष्यको जम्मा ०.२१ प्रतिशतमात्र भएको थियो । चालु आवको सोही अवधिमा वार्षिक लक्ष्यको २.१३ प्रतिशत खर्च भइसकेको छ । गत वर्ष सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये साउन ३० सम्म ६२ करोड ३६ लाख रुपैयाँमात्र खर्च भएको थियो ।
चालु आवमा सरकारले पुँजीगत बजेटमा ३ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये साउन ३० सम्ममा ७ अर्ब ५१ करोड १० लाख रुपैयाँ खर्च भएको छ । गत वर्षको तुलनामा यो ६ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ बढी हो ।
यस्तै, सरकारले साउनमा वित्तीय व्यवस्थापनमा १९ अर्ब २७ करोड खर्च गरेको छ । यसको बजेट भने ३ खर्ब ६७ अर्ब रुपैयाँ हो । चालु आवमा ११ खर्ब ४० अर्ब रुपैयाँ चालु खर्चमा विनियोजन गरेको सरकारले साउन ३० सम्ममा ९ अर्ब १५ करोडमात्र खर्च गरेको छ । यो लक्ष्यको एक प्रतिशतभन्दा पनि तल हो ।