नेप्से परिरिसूचक ४३.०५ अंकले वृद्धि
शेयर बजारमा २९ अर्ब बढीको कारोबारसँगै नयाँ कीर्तिमान

काठमाडौं- साउन महिना र साताको अन्तिम कारोबारका दिन बिहीबार शेयर बजार कारोबार रकम नयाँ कीर्तिमान कायम भएको छ । नयाँ सरकार बनेसँगै पछिल्लो एक महिनादेखि नेपाली पुँजीबजारमा नयाँ नयाँ रकर्ड बन्दै गएको छ । सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेर नयाँ रेकर्ड नेप्सेले बिहीबार तोडेको छ ।
गत सोमबारको शेयर बजार कारोबारमा २७ अर्ब २४ करोड रुपैयाँ कारोबार भएकोमा बिहीबार उक्त कारोबार रकमलाई तोड्दै उच्च रेकर्ड कायम भएको हो । कारोबार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से परिसूचक ४३.०५ अंकले बढेर तीन हजार दशमलव आठ एक विन्दुमा पुगेको छ । साताको अन्तिम कारोबार दिन नेप्से भने साढे १ प्रतिशत बढेर तीन हजार विन्दुभन्दा माथि पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.४४ अंकले बढेको छ । बिहीबार कारोबारमा आएका ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार कित्ता शेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत सोमबार उक्त कारोबार रकम २७ अर्ब २४ करोड रुपैयाँ बराबरको रहेको थियो । १३ उपसमूहमध्ये बैंकिङ उपसमूहको परिसूचक ५.६५ प्रतिशत बढेको छ ।
त्यस्तै, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर कारोबारमा आएको वित्त उपसमूहको परिसूचक ३.०५ प्रतिशत घटेको छ । बिहीबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बिहीबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।