Logo

पर्वतको कृषि र पशुपालनमा १७ करोड बढी बजेट

पर्वत– चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा १७ करोडभन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् चालु आर्थिक वर्ष विसं २०८१/०८२ मा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा १७ करोड १९ लाख रुपैयाँ बजेट खर्च हुन लागेको हो ।

खाद्यान्न, फलफुल, तरकारी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि चालु आर्थिक वर्षका कार्यक्रमलाई केन्द्रित गरिएको छ । त्यस्तै पशुपालनतर्फ पनि दुध, घ्यू, माछा मासु, अण्डामा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात बढाउनका लागि बजेटलाई केन्द्रित गरिएको सो कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत रहेका कृषि ज्ञान केन्द्रमार्फत् पाँच करोड ८२ लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् चार करोड १५ लाख र संघीय सरकार अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईमार्फत् सात करोड २२ लाख ८५ हजार रुपैयाँ बजेट प्राप्त भएको छ । परियोजनाका केही कार्यक्रम छिमेकी जिल्ला बागलुङ र गुल्मीमा समेत सञ्चालन हुने भएका छन् ।

ज्ञान केन्द्रले गत वर्षदेखि सञ्चालन भएको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । आलु खेती प्रवर्द्धनका लागि एक करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लाग १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि १० लाख, बीउ उत्पादन प्रवर्द्धनक लागि १२ लाख ५० हजार विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन कार्यक्रमका लागि १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि नौ लाख ५० हजार विनियोजन गरिएको छ । त्यस्तै खाद्यान्न वाली प्रवर्द्धन आयोजनाका लागि २६ लाख ६० हजार, सुन्तला जात फलफूल विकास आयोजनाका लागि एक करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकोले यसको खेती विस्तारलाई जोड दिइएको हो । यस्तै, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसालाई लक्षित गरेर चालु आर्थिक वर्षका कार्यक्रम निर्धारण गरिएको कार्यालय प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिए । उनका अनुसार पर्वत दूध र माछा मासुमा आत्मनिर्भर बनिसकेको छ भने अण्डा थोरै मात्रामा आयात हुने गरेको छ । चालु आर्थिक वर्षमा पशुमा पूर्ण खोप कार्यक्रमका लागि ९८ लाख रुपैयाँ छुट्याइएको छ ।

उनका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि २० लाख, पशु विकास प्रवर्द्धन सहयोग कार्यक्रमका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । पशु तथा मत्स्य ब्यवसाय प्रवर्द्धन कार्यक्रमका लागि एक करोड १३ लाख, पशु स्वास्थ्य कार्यक्रमका लागि ३५ लाख ३० हजार, कृषकको क्षमता अभिवृद्धिका लागि सात लाख, पशु आहारा प्रवर्द्धनका लागि ६ लाख र स्थानीय पशुपंक्षी संरक्षण कार्यक्रका लागि १० लाख रुपैया विनियोजन गरिएको कार्यालय प्रमुख बास्तोलाले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीककरण परियोजना कार्यान्वयन इकाईमार्फत् पर्वतमा मकै, धान, तरकारी र सुन्तलाखेतीको प्रवर्द्धनका निम्ति विभिन्न योजनमा बजेट खर्च गरिने भएको छ । विगत आठ वर्षदेखि जिल्लामा सञ्चालित योजना परियोजनाले सुरुमा मकैबालीको प्रवर्द्धनमा लगानी गरेको थियो । जसबाट अहिले मकैको बीउको स्रोत केन्द्र नै पर्वत बनेको छ । जिल्लाको फलेवास, महाशिला र विहादी गाउँपालिकामा मकैको मूल बीउ उत्पादन गरी निर्यात हुन थालेको छ । त्यसैगरी पोखरेली जेठोबुढो धान उत्पादन र यसको स्रोत बीउ उत्पादनमा अहिले सक्रिय बनेको छ ।

गत आर्थिक वर्षमा पर्वतवाट पोखरेली जेठोबुढो धानको १२ मेट्रिक टन बीउ निर्यात भएको थियो भने पोखरेली जेठोबुढो धान ३० मेट्रिकटन निर्यात भएको थियो । त्यस्तै बनाइएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेट वितरणमुखीभन्दा पनि दीर्घकालीन योजनालाई जोड दिइएको छ । यस वर्ष दुईवटा कोल्ड रुम स्थापनाका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ भने सिञ्चाइ पूर्वाधार निर्माण तथा मर्मतका लागि ३० लाख रुपैया विनियोजना गरिएको छ ।

त्यसैगरी चक्लाबन्दीमा आधारित फलफूल बगैचा व्यवस्थापन, बीउ उत्पादन कार्यक्रम मसिना धान प्रवर्द्धन कार्यक्रम, प्याकेजिङ लेभलिङ तथा क्षति न्यूनीकरण कार्यक्रमका लागि बजेटलाई प्राथमिकता दिइएको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए । सिँंचाइ पूर्वाधार निर्माणका लागि यस वर्ष ७५ लाख, प्लास्टिक घर निर्माणका लागि ३५ लाख, तरकारी जोनका लागि १० लाख ३० हजार, उद्यमशील कार्यक्रका लागि अनुदान ४० लाख, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रमका लागि आठ लाख ५० हजार विनियोजन भएको पौडेलले बताए ।

तीनवटै कार्यालयले वाार्षिक बजेट तथा कार्यक्रम एक समारोहका बीच सार्वजनिक गरेका थिए । पर्वतमा गत आर्थिक वर्ष विसं २०८०/०८१ मा स्थानीय तहसमेत गरी २० करोड ८१ लख ५५ हजार खर्चिएको थियो । जसमध्ये नगरपालिका र स्थानीय तहबाट नौ करोड ४६ लाख ६४ हजार बजेट विनियोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्