Logo

कृषि ज्ञान केन्द्र पर्वतको बजेट झण्डै ६ करोड

पर्वत– पर्वतमा कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि कृषि ज्ञान केन्द्र पर्वतमा चालु आर्थिक वर्षमा झण्डै ६ करोड रकम विनियोजन भएको छ । जिल्लाका सातवटै पालिकामा कृषिजन्य गतिविधिका लागि गण्डकी प्रदेश सरकारबाट पाँच करोड ८२ लाख रुपैयाँ विनियोजन भएको हो ।

कृषि ज्ञान केन्द्र पर्वतले सोमबार एक कार्यक्रम गरी स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । उक्त बजेटमध्ये पुँजीगततर्फ १२ लाख र चालुतर्फ पाँच करोड ७० लाख रुपैयाँ रहेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा आठ करोड २९ लाख बजेट प्राप्त भएकोमा यस वर्ष ह्वात्तै घटेको उनले बताए ।

ज्ञान केन्द्रका प्रमुख अधिकारीका अनुसार विनियोजित बजेटबाट कृषि प्रसार तथा तालिम, सुन्तला जात फलफूल विकास आयोजना, समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन कार्यक्रम, खाद्यान्न बाली प्रवर्द्धन आयोजना, रैथानेवाली प्रवर्द्धन आयोजना, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन आयोजना सञ्चालन गरिने भएको छ ।

यसैगरी बीउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रम, तरकारी बालि प्रवर्द्धन कार्यक्रम, पोषण सुरक्षाजस्ता मुख्य कार्यक्रमलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । छुट्टाछुट्टै कार्यक्रमका लागि मापदण्ड र बजेटसमेत विनियोजन गरिसकिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लागि १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि १० लाख, बीउ उत्पादन प्रवर्द्धनक लागि १२ लाख ५० हजार विनियोजन गरिएको छ । मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धन कार्यक्रमका लागि १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि नौ लाख ५० हजार विनियोजन गरिएको छ । जुन रकमबाट थप सात हेक्टर जमिनमा रैथानेवाली विस्तार गरिने भएको छ । त्यस्तै खाद्यान्न बाली प्रवर्द्धन आयोजनाका लागि २६ लाख, ६० हजार छुट्याइएको छ ।

खायन आलु प्रवर्द्धन कार्यक्रमका लागि एक करोड ४७ लाख विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा यो कार्यक्रमका लागि तीन करोड बजेट रहेको थियो । अहिले झण्डै आधाभन्दा बढिले घटेर आएको छ । सुन्तला जात फलफूल विकास आयोजनाका लागि एक करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकाले यसको खेती विस्तारलाई जोड दिइएको हो । अन्य फलफूल बाली विकास आयोजनाका लागि २६ लाख २० हजार विनियोजन गरिएको छ ।

वार्षिक कार्यक्रम सार्वजनिक समारोहमा सहभागीले संघ र प्रदेशबाट आएका कार्यक्रम वाास्तविक कृषकसम्म पुर्‍याउन सुझाव दिएका छन् । कतिपय योजना पुहँचवाला र आफन्तलाई मात्र केन्द्रित गरेर सञ्चालन गरिएको पाइएको भन्दै कार्यक्रमको पारदर्शितामा जोड दिन कृषकले आग्रह गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले वास्तविक कृषक राज्यका सेवा सुविधाबाट वञ्चित हुन नहुने बताए । अझै पनि पहुँचवाला र दबाब र प्रभावको भरमा योजना कार्यान्वयन हुने गरेको भन्दै निष्पक्ष र पारदर्शी रूपमा वास्तविक कृषकको पहुँच पुग्नेगरी सञ्चालन गर्न आग्रह गरे ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष सोम जिसी, फलेवास नगरपालिकाका उपप्रमुख शोभा क्षेत्री, विहादी गाउँपालिकाका उपाध्यक्ष मिना तिवारी, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालगायतले विभिन्न सुझाव तथा प्रतिकृया दिएका थिए । सो अवसरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका चालु आर्थिक वर्षको बजेट र कार्यक्रम पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्