Logo

पुल निर्माणले जोडिँदै राप्तीपारिका क्षेत्र

भुक्तानी नपाउँदा निर्माण व्यवसायी समस्यामा

नेपालगन्ज– बाँकेको राप्तीपारिका क्षेत्रलाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटमा पुल निर्माण कार्य धमाधम भइरहेको छ । हाल प्रयोगमा रहेको स्टिल ब्रिज निकै साँघुरो र सानो भएका कारण एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने हुँदा सात सय मिटर लामो र दुईतर्फी सवारी आवागमन गर्न मिल्ने नयाँ पुल निर्माण भइरहेको हो ।

हुलाकी राजमार्ग आयोजना नेपालगन्ज अन्तर्गत २०७९ माघ ४ गते ठेक्का सम्झौता भएको उक्त पुल निर्माण कम्पनी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले २०८० फागुनदेखि निर्माण सुरु गरेको थियो । डिजाइन एण्ड बिल्ड प्रकृयाबाट निर्माण थालिएको पुल सात सय मिटर लामो हुनुका साथै ११ मिटर चौडा रहने छ भने दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ निर्माण गरिने छ । करिब एब अर्ब २० करोड लागतको उक्त पुल करिब चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको हुलाकी राजमार्ग आयोजना नेपालगन्जले जनाएको छ ।

पुल निर्माण कार्य धमाधम भइरहेको जनाउँदै हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर जनकबहादुर धामीले बताए । ‘निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको छ,’ उनले भने, ‘हालसम्म ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।’ निर्माण कार्य धमाधम भइरहे पनि सरकारले निर्माण कम्पनीलाई भुक्तानी नदिँदा समस्या भएको निर्माण कम्पनी लुम्बिनी–रौताहा बन्दना भगवती जेभीले जनाएको छ ।

हुलाकी राजमार्गका इन्जिनियर धामीले केन्द्रबाट बजेट नआएका कारण भुक्तानी हुन नसकेको बताए । निर्माण कम्पनीले ठेक्का सम्झौता भएयता निर्माणको काम धमाधम गरिरहे पनि हालसम्म २४ करोड भुक्तानी पाउनुपर्नेमा दुई करोड ९६ लाखमात्रै पाएको उनको भनाइ छ । ‘पाउनुपर्ने बजेट भुक्तानी नपाए पनि निर्माण कम्पनीले काम गरिरहेको छ, केन्द्रबाट बजेट निकासा हुँदा बित्तिकै उपलब्ध गराउछौं,’ उनले भने ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर राज पटेलले निर्माण कम्पनीले सरकारबाट भुक्तानी नपाउँदा निर्माण कार्यमा समस्या भएको बताए । काम गरेको रकम भुक्तानी नपाउँदा निर्माण सामग्री खरिद, कर्मचारी, कामदारको पारिश्रमिक लगायत दैनिक कार्य सञ्चालनमा समस्या भएको उनी बताउँछन् । पाउनुपर्ने बजेट नपाए पनि निर्माण कार्यमा भने कुनै रोकावट नभएको उनको भनाइ छ । ‘हालसम्म जेनतेन सञ्चालन गरिरहेकै छौं,’ उनले भने, ‘लामो समयसम्म ठूलो रकम रोकिँदा काम गर्न निकै गाह्रो भएको छ ।’

राप्ती नदीमा रहेको पुल साँघुरो हुनुका साथै सानो हुँदा दुईतर्फी सवारी आवागमनमा समस्या भएको बताउँदै नयाँ पुल निर्माण हुन लागेकोमा स्थानीय बासिन्दा खुसी छन् । उनीहरूले समयमै गुणस्तरीय ढंगले पुल निर्माण गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज–५ का स्थानीय रहेमत अली शेखले चौडा र लामो पुल नभएका कारण खासगरेर बर्खायाममा राप्तीपारिका विभिन्न क्षेत्रमा आउजाउ गर्न निकै समस्या हुने गरेको बताए ।

राप्तीपारिका क्षेत्रलाई सदरमुकाम नेपालगन्जसँंग जोड्ने लाइफलाइन पूर्वाधार भएकाले पुल निर्माण कार्य समयमै गुणस्तरीय ढंगले हुनुपर्ने उनको भनाइ छ । राप्ती नदीमा बर्खायाममा आउने बाढीले यहाँको सडक बगाउँदा नदीमा हाल सञ्चालनमा रहेको स्टिल ब्रिज साँघुरो र जीर्ण हुँदा आउजाउ गर्न समस्या हुने गरेको छ । पुल निर्माण कार्य तीव्र गतिमा भइरहे पनि निर्माण कम्पनीले भुक्तानी नपाउँदा निर्माण कार्यमा ढिलाइ हुने आसंका बढेको छ ।

प्रतिक्रिया दिनुहोस्