Logo

फौजी कीराको निदान खोज

समग्र अर्थतन्त्र नै कृषिमा आश्रित रहेको नेपालजस्तो देशका लागि यस्तो ठूलो समस्या आउँदासमेत सरकारले आवश्यक न्यूनतम सक्रियतासमेत नदेखाउनु लाजमर्दो विषय हो ।

छोटो अवधिमै नेपालमा फैलिएको फौजी कीराको प्रकोपका कारण देशभरिकै मकै र धानबालीमा व्यापक क्षति पुगेको छ । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणअनुसार फौजी कीराको प्रकोपले देशभरिका कम्तीमा २० हजार हेक्टरमा लगाइएको धानबाली नष्ट पारेको छ । यो अनुपात अझ बढी हुनसक्छ, किनकि वास्तविक सूचना अझै संकलनकै क्रममा छ । फौजी कीराले बाली नष्ट गर्न थालेपछि कतै किसानहरूले धानबालीमै आगो लगाउन थालेका छन्
। फौजी कीराले जुन ढंगले धानबाली नष्ट पारेको छ, त्यसले मुलुकमा खाद्यान्न संकट निम्त्याउने खतरा बढाएको छ । यो कीरा अचानक धानबालीमा मात्र देखा परेको भने होइन । झन्डै एक वर्षअगाडि नै यो मकै बालीमा देखा परेको थियो भने थुप्रै जिल्लाको मकै बालीसमेत नष्ट पारेको थियो । सन् २०१८ को जुलाईमा भारतको कर्नाटक राज्यमा एसियामै पहिलो पटक अमेरिकी फौजी कीरा (अमेरिकन फल आर्मीवर्म) देखा परेको अवस्थामा नेपालमा यो कीराको पहिचानमै निकै ढिलाइ गरियो ।
लामो समयसम्म सरकारी निकायहरू प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, राष्ट्रिय बिरुवा संरक्षण संगठन र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीचमा फौजी कीरा नेपालमा प्रवेश गरेको, फैलिएको हो कि होइन भन्ने बहस जारी हुँदा र यसको पहिचान गरेर प्रवेश गरेकै ठहर गरिसक्दा यसले देशका धेरै भूभागमा मकै बाली नष्ट पारिसकेको थियो । यो ढिलाइका परिणाम अहिले किसानहरूले भोगिरहेका छन् ।
कृषिविज्ञहरूका अनुसार अहिले दुई प्रजातिका फौजी कीराको प्रकोप देखिएको छ । फरक–फरक वैज्ञानिक नामहरू जेजे भए पनि फौजी कीराको प्रकोपले धान, मकैबाहेक जौ, गहुँ, कोदो, जुनेलो, उखुदेखि भटमास, बन्दा, चुकन्दर, गोलभेंडा, आलुसहितका तरकारी बाली र अन्य घाँसेवालीहरूमा समेत क्षति पु¥याउने कृषि विज्ञहरूले बताएका छन् । यस्ता बाली नभएका स्थानमा घाँसमात्र खाएर आफ्नो जीवनचक्र पूरा गर्ने भएकाले कृषिबालीमात्र नभएर देशको वन क्षेत्रमा समेत यो कीराको प्रकोप नबढ्ला भन्न सकिँदैन । फौजी कीराको प्रकोप कुन–कुन जिल्लामा फैलिएको छ भन्दा कुन जिल्लामा फैलिएको छैन भनेर सोध्नुपर्ने अवस्था उत्पन्न भइसकेको अवस्थामा देशका कृषिसम्बद्ध निकायहरूले पर्याप्त पहल नगर्नु विडम्बनाको विषय भएको छ । खाना र वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली सय किलो मिटर टाढासम्म उडेर जानसक्ने भएकाले यसको प्रकोप देशभरि नै फैलिएको हो ।
किसानहरूलाई छिटो धान काट्न, उचाइमा बाली सुकाउन भनेर निर्देशन दिएर मात्र यो कीराको प्रकोप समाधान हुँदैन । पूर्ण रूपमा नियन्त्रण गर्न सकिएन भने फौजी कीराकै कारणले देशमा कृषि संकटकालको घोषणा गर्नुपर्ने अवस्था आउन सक्छ । समग्र अर्थतन्त्र नै कृषिमा आश्रित रहेको नेपालजस्तो देशका लागि यस्तो ठूलो समस्या आउँदासमेत सरकारले आवश्यक न्यूनतम सक्रियतासमेत नदेखाउनु लाजमर्दो विषय हो । कृषिमा बालीको मात्र होइन, कृषिसम्बन्धी हरेक विषय वस्तुमा अध्ययनका लागि नार्कजस्ता संस्था सिर्जना गरिएको छ । बालीमा प्रयोग हुने विषादीहरू सिफारिस गर्ने, आयात इजाजत दिने र नियमनका लागि प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रजस्ता निकाय छन् । यदि राष्ट्रिय निकायहरूको अनुसन्धान र प्रयासले मात्र फौजी कीराको नियन्त्रण गर्न सकिँदैन भने अन्तर्राष्ट्रिय साझेदारी गरेर पनि कृषिक्षेत्रमाथि उत्पन्न यो संकटको निवारण गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्