मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा «

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

 महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार महिला प्रतिनिधित्व गराउनुपर्ने बताएकी हुन् । “संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,” उनले भनिन् ।
मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरिन् । नेकपा (एमाले)का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताए । “नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ,” उनले भने । नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताए ।
नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । “राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं,” उनले भने । नेपाली कांग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उनको भनाइ थियो ।
माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताए । उनले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्