खाद्यको काम अनलाइन बनाइने

काठमाडौं– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई अनलाइन प्रणालीमा रुपान्तरण गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट कम्पनीको महाप्रबन्धक नियुक्त भएका रमेश आचार्यले कम्पनीलाई अब पूर्ण रुमा अनलाइन प्रणालीमा लगिने बताएका हुन् ।
कम्पनीमा कार्यभार सम्हालेको पहिलो दिन बुधबार प्रादेशिक कार्यालय थापाथलीको खाद्य गोदाम अवलोकन गर्ने क्रममा कारोबारसँग कुरा गर्दै उनले कम्पनीको व्यवस्थापन सुधार गर्न कम्पनीलाई पूर्णरुमा अनलाइन प्राणालीमा रुपान्तरण गरिने बताए । हाल बागमती प्रदेशको कार्यालय थापाथली अनलाइन प्राणालीमा कारोबार भइरहेको भए पनि अन्य कुनै प्रदेशमा अनलाइन प्रणाली छैन ।
कम्पनीका अन्य सबै प्रादेशिक कार्यालयबाट पुरानै ढर्राबाट काम भइरहेको छ । हाल कम्पनीमा भइरहेको व्यवस्थालाई सुधार गरी सबै प्रदेशका कामकारबाही र गतिविधिहरु आफ्नो कार्यकक्षबाट हेर्न मिल्ने गरी अनलाइन प्रविधिको जडान गरी काम अघि बढाउने योजना रहेको उनले जानकारी दिए ।
आचार्यले भने, ‘केही दिन कम्पनीमा भइरहेको कार्य व्यवस्थापलाई अध्ययन गरी राम्रा भइरहेका कामहरुलाई निरन्तरता दिने र नयाँ काम अघि बढाउने छु । हाल कम्पनीले गर्दै आएको आर्थिक कारोबारलाई सुधार गरी इन्टरप्राइजेज रिसोर्स प्लानिङमा लिन्छु । ताकी मैले हरेक प्रदेशको आर्थिक कारोबार आफ्नै टेबुलमा हेर्न सकुँ । हालको अवस्थामा मैले सातै प्रदेशको आर्थिक कारोबारको अवस्था हेर्नु पर्दा मैले पाउँदिन । त्यसका लागि सबै प्रदेशलाई माग्नुपर्छ,’ उनले भने, ‘अब त्यसरी होइन प्रणाली परिवर्तन गर्नुपर्छ । कुन प्रदेशमा कुन समयमा कति बेला कस्तो काम भइरहेको छ । सबै दैनिक कारोबारको अवस्था के छ । यस्ता कुनै पनि कुरा अहिले हेर्न चाहे भने सकिँदैन ।’
यस्ता कुरालाई अब आफ्नै कार्यकक्षबाट जानकारी मिल्न सक्ने प्रविधि जडान गरिने उनले जानकारी दिए । यसैगरी उनले खाद्य कम्पनीसँग भएको सम्पत्तिलाई कहाँ कसरी प्रयोग गर्न सकिन्छ भनेर एउटा अध्ययन टोली बनाई उनीहरुको सुझाव अनुसार प्रयोगमा ल्याउने बताए । कम्पनीसँग भएको सम्पत्तिलाई सहि प्रयोग गरी कम्पनीलाई नाफामा ल्याउने आफ्नो योजना रहेको उनले जानकारी दिए ।
विगतमा खाद्य कम्पनीले प्रतिकूल अवस्थामा निजी क्षेत्रले बजारमा कृत्रिम मूल्य सृजना गरी कालोबजारी गर्दा नियन्त्रण गर्ने उद्देश्यले काम गरिरहेको थियो । अब त्यसलाई पनि सुधार गरी निजी क्षेत्रले उपभोक्तालाई दिने वस्तुको मूल्य भन्दा कम मूल्य र गुणस्तरीय वस्तु कम्पनीबाट आम उपभोक्तालाई उपलब्ध गर्न सक्ने गरी काम गर्ने आफ्नो मुख्य योजना र उद्देश्य रहेको आचार्यले कारोबारलाई जानकारी दिए ।
कम्पनीका सात प्रादेशिक कार्यालय, पाँच मुख्य कार्यालय रहेका छन् भने २६ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै देशभरी २५ वटा डिपो कार्यालय रहेका छन् । देशभरी वितरण केन्द्रहरु ७५ वटा रहेका छन् । कोशी प्रदेशको प्रादेशिक कार्यालय विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौंको थापाथली, गण्डकी प्रदेशको कास्कीको पोखरा, लुम्बिनी प्रदेशको भैरहवा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको छ ।
यस्तै मुख्य शाखा कार्यालय विर्तामोड, लहान, नेपालजगञ्ज , लुलसीपुर र राजापुरमा रहेका छन् । कम्पनीले देशभरका विक्री केन्द्रबाट खाद्य वस्तु दाल, चामल, नुन तेल लगातका बिक्री गर्दै आएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयको खाद्य गोदामबाट २३ वटा प्रकारका खाद्य वस्तु बिक्री गर्दै आएको छ ।
कम्पनीका अनुसार थापाथलीबाट मात्र वार्षिक करिब ३१ करोडको आर्थिक कारोबार गर्ने गरेको छ । कम्पनीले हरेक वर्ष चाडपर्वमा बजार मूल्य नियन्त्रण गर्न खाद्य वस्तुमा ५ देखि १० रुपैयाँ प्रतिकिलो छुटमा दिने गरेको छ । यस्तै खासी बोका र च्यांग्रा समेत बजारमा मूल्य भन्दा सस्तोमा बिक्री गर्ने गरेको छ ।