सुध्रियो लघुवित्तको वित्तीय अवस्था

काठमाडौं– लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्थामा सुधार आएको छ । लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले उनीहरूको अवस्था सुध्रिने क्रममा रहेको देखाएको हो ।
विगतमा निष्क्रिय कर्जाले थला परेका लघुवित्तहरूले गत वर्ष नाफामा सुधार गरेका छन् । साथै निष्क्रिय कर्जाको वृद्धि पनि केही हदसम्म रोकिएको छ । पछिल्लो समय ऋण तिर्ने क्रममा पनि केही हदसम्म सुधार भएकाले वित्तीय अवस्था सुध्रिन सहज हुन लागेको लघुवित्तकर्मीहरूको बुझाइ छ । साथै नियामक निकाय राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सुविधाका कारण पनि निष्क्रिय कर्जा केही घटेको बताइएको छ ।
लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा आएको सुधारले लघुवित्तकर्मीलाई उत्साहित बनाएको लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेल बताउँछन् । ऋण तिर्नैपर्छ भन्ने कुरा ऋणीहरूले बुझ्दै गएको उनले बताए, जसको प्रभाव गत आवको वित्तीय विवरणमा देखिएको उनको भनाइ छ । ‘राष्ट्र बैंकले विभिन्न नीतिगत सहजीकरण गरेकाले पनि अहिले वित्तीय अवस्थामा सुधार आएको हो,’ अध्यक्ष पोखरेलले भने ।
लघुवित्तका लागि सरकारले पनि सुधारको नीति लिन थालेकाले सहज भएको उनी बताउँछन् । उनले अहिले अर्थतन्त्र विस्तारै सुधार हुँदै जाँदा लघुवित्तमा पनि सुधार आएको बताए ।
लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था सुध्रिएको एनआइसी एसिया लघुवित्तका अध्यक्ष प्रकाशराज शर्मा बताउँछन् । लघुवित्त विरुद्ध भएका आन्दोलनपछि बढेको बुझाइ र राष्ट्र बैंकसँग सहमति भएपछि यसतर्फ सुधार भएको उनले बताए । साथै पुनर्संरचना जस्ता विषयमा राष्ट्र बैंकले सुविधा दिएकाले वित्तीय विवरण सुधार भएको उनले बताए । ‘तरलता बढ्दै जाँदा आधारदर कम भएका कारण ब्याजदर घटेको र कर्जा तिर्नलाई सहज भएको हुँदा कर्जा असुलीमा सुधार भएको देखिन्छ,’ उनले भने ।
लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले ऋण जसरी पनि तिर्नैपर्ने भन्ने बुझेपछि अहिले ऋण तिर्नेहरू क्रमशः बढ्न लागेको बताए । साथै लघुवित्तकर्मीहरूको मनोबल पनि विस्तारै बढ्दै गइरहेको उनले बताए ।
नेरुडे मिर्मिरे लघुवित्तका डेपुटी सीईओ मिन बोहराले लघुवित्तहरूको वित्तीय विवरण केही हदसम्म सुध्रिएको बताए । अहिले लघुवित्तहरू सुधारको अभियानमा लागेकाले वित्तीय स्वास्थ्यमा केही सुधार आएको उनको भनाइ छ । अर्थतन्त्रको अवस्थाका कारण निष्क्रिय कर्जामा ठूलो सुधार भने नआएको बोहरा बताउँछन् । नकारात्मकतर्फ गइरहेको लघुवित्तको बाटो सकारात्मक मोडमा फर्किन थालेको उनको भनाइ छ । सरकारले लघुवित्तको स्थलगत अध्ययन नै एक समितिबाट गराएपछि लघुवित्तप्रतिको शंका, आशंका मेटिएको उनी बताउँछन् । अहिले लघुवित्तप्रति विश्वास झनै बढ्दै गएकाले अबका दिनमा झनै सुधार हुने उनले बताए ।
लघुवित्त कम्पनीहरूको निष्क्रिय कर्जामा सुधार भने त्यस्तो आएको तथ्यांकमा देखिँदैन । नेसनल लघुवित्तको गत आवमा निष्क्रिय कर्जा केही नियन्त्रणमा आएको छ । यस लघुवित्तको अघिल्लो आवमा ३.५३ प्रतिशत निष्क्रिय कर्जा रहेकोमा गत आवमा ३.२५ प्रतिशतमा झरेको छ ।
यस्तै निर्धन उत्थान लघुवित्तको अघिल्लो आवमा १२.०९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा १०.७७ प्रतिशत रहेको छ । छिमेक लघुवित्तको भने निष्क्रिय कर्जा बढेको छ । यो लघुवित्तको निष्क्रिय कर्जा अघिल्लो आवमा १.७२ प्रतिशत रहेकोमा गत आवमा बढेर ३ प्रतिशतमा पुगेको छ ।
यस्तै जीवन विकास लघुवित्तको पनि निष्क्रिय कर्जा बढेको छ । यस लघुवित्तको अघिल्लो आवमा ४.०७ प्रतिशत मात्रै रहेको निष्क्रिय कर्जा गत आवमा ७.७४ प्रतिशत पुगेको छ । यस्तै विजय, सूर्योदय वोमी, इन्फिनिटी र कालिका लघुवित्तले निष्क्रिय कर्जा घटाएका छन् ।
विजय लघुवित्तको निष्क्रिय कर्जा गत आवमा ७.७४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा यस लघुवित्तको निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको थियो । यस्तै सुर्योदय वोमी लघुवित्तको निष्क्रिय कर्जा अघिल्लो आवमा ७.६६ प्रतिशत पुगेकोमा गत आवमा ६.२ प्रतिशतमा झरेको छ । इन्फिनिटी लघुवित्तको अघिल्लो आवमा ८.१५ प्रतिशतमा पुगेको निष्क्रिय कर्जा गतआवमा ५.२९ प्रतिशतमा झरेको छ । कालिका लघुवित्तको ४.८५ प्रतिशतबाट घटेर गत आवमा ३.७९ प्रतिशत मात्रै निष्क्रिय कर्जा रहेको छ । यी बाहेक अन्य लघुवित्तहरूको पनि निष्क्रिय कर्जामा सुधार धेरै देखिएको छैन ।