Logo

स्याउ बजारीकरण गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्ने

फाइल तस्बिर ।

बाजुरा– बाजुरामा उत्पादन भएका स्याउ बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको छ । बाजुराका विभिन्न ठाउँमा उत्पादन भएको स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने भएको हो । जिल्लाका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिकालगायत विभिन्न स्थानमा पर्याप्त मात्रामा स्याउ उत्पादन हुने भए पनि बजारीकरणका लागि समस्या हुने भएकाले यस वर्ष स्याउको बजारीकरणका लागि कृषि ज्ञान केन्द्र बाजुराले सहयोग गर्ने जनाएको छ ।

बाजुरामा कृषि उपज पर्याप्त मात्रामा उत्पादनको सम्भावनाको जिल्ला भए पनि विभिन्न समस्याका कारण कृषकले चाहेजस्तो बजार पाउन सकेका छैनन् । बजारीकरण तथा व्यवस्थापनमा समस्या भएको गुनासोपछि स्वयम् कृषि ज्ञान केन्द्र बाजुरा कृषि प्राविधिकको टोलीसहित कृषकका बारीमा पुगेर अध्ययन गरिएको कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख उपाध्यायले भने, ‘हामीले बाजुराको स्याउ बजारीकरणका लागि नीति तथा कार्यक्रममा समावेश गरेर प्रदेशमा पठाएका थियौँ, सोका लागि कार्यक्रमम समावेश पनि भएको छ, अहिले सरकार गठनको प्रकृया रहेकाले प्रदेशको बजेट नै अलमलमा छ, सरकार गठनको भई कार्यक्रम कार्यान्वयन गर्न सुचारु भएमा बाजुराको स्याउ बजारीकणको कार्यक्रमलाई प्राथमिकतामा राख्नेछौँ ।’

कृषकको बारीमा पुगेर स्याउ बजारीकरणका लागि स्याउ प्याकिङ गर्न कार्टुन, ढुवानी, बजार खोज्ने काम कृषि ज्ञान केन्द्रले गर्ने र यसमा सहयोग गर्न बाजुरा जिल्लाका सम्बन्धित सबै पालिकाका कृषि विकास शाखा, सहकारी र स्थानीय व्यापारीलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् । बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगापानीको साहारा स्याउ फारमका संचालक उज्वल रावतले व्यावसायिक स्याउ खेतीबाट एक सिजनमा ६ सय क्विन्टल स्याउ उत्पादन गर्ने गरेको बताएका छन् ।

स्याउ व्यवसायबाटै वार्षिक १२ देखि १५ लाख नगद कमाउँदै आएका उनले आफूले विभिन्न सिजनमा विभिन्न किसिमका स्याउ फलाए पनि सोचेजस्तो बजार नभएकाले उत्पादन भएको आधाजति स्याउबाट उपलब्धि लिन नसकिएको बताए । उत्पादन व्यवस्थापनका लागि (कोल्ड स्टोर) नभएको र कुनै स्थानमा भए पनि नियमित विद्युत नहुँदा सञ्चालनमा आउन नसकेको र असोजमा बाटो खुल्दासम्म स्याउ बारीमै कुहिएर खेर जाने व्यवसायीको दु:खेसो छ ।

स्याउ बजार पुग्नुभन्दा अगाडि नै प्रयोगमा ल्याउनका लागि चिप्सलगायत अन्य कुनै परिकार बनाउनका लागि आवश्यक स्रोतसाधन नभएको र स्याउ नै बजार पुर्‍याउँदासम्म ५० प्रतिशत उत्पादन खेर जाने गरेको उनको भनाइ छ । बाजुरामा सबैभन्दा बढी स्याउ उत्पादन उत्तरपूर्वी क्षेत्र बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा हुने र मार्तडी–कोल्टी सडकले यो क्षेत्रलाई जोड्ने गर्दछ ।

वर्षायाममा ४२ किलोमिटर रहेको मार्तडी–कोल्टी सडकखण्डमा तीनवटा गाडी चढेर केही बाटो पैदल यात्रा गर्नुपर्ने हुन्छ । सो सडकमा पर्ने अनाई, बाउली र बड्डीगाड खोलामा पक्की पुल बनेका छैनन् भने कुनै ठाँउ पहिरोले अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्